default_image

9 years ago

April 27, 2017

राष्ट्रिय टोली मेरो लक्ष्य – डिपिएलका उत्कृष्ट खेलाडी सुशिल

169 views

0 Bookmark

सुबास हुमागाई

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गरेको बर्ष दिन पुरा भएको छ । यसै पनि घरेलु प्रतियोगिता शून्य प्राय भइरहेको अवस्थामा क्यानमाथिको निलम्बनले काम नगर्ने र विवादमा रमाउनेहरुका लागि अर्को वहाना बनेको थियो ।

निलम्बन फुकुवा भएर क्यानले नियमित काम सञ्चालन गर्ने अझै अनिश्चित प्राय छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाइरहेकोले क्यान निलम्बनमा परेर पनि त्यसले नेपाली क्रिकेटमा असर नपरेको तर्क गर्नेहरु पनि होलान् । तर, क्यान निलम्बनले घरेलु क्रिकेटमा भने ठूलो असर परेकै छ । स्थानिय क्रिकेट विकासको जिम्मेवारी पाएको क्यानले काम गर्न नपाउँदा त्यसले नेपाली क्रिकेटको घरेलु संरचनामा दीर्घकालिन असर पर्ने पक्का छ । तर, पछिल्ला छ महिनामा दुईवटा यस्ता प्रतियोगिता भए जसले नेपालको घरेलु क्रिकेटलाई पनि चलाएमान बनायो । भर्खर धनगढीमा सम्पन्न सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) र असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) घरेलु क्रिकेटको इज्जत साख जोगाउने काम गरेको छ । यद्दपी क्रिकेटको दीर्घकालिन विकासका लागि भन्दा पनि नेपाली क्रिकेटलाई व्यवसायिक रुपमा अघि बढाउन यी दुई प्रतियोगिता महत्वपूर्ण हुनसक्ने सम्भावना देखिएको छ । क्रिकेट विकासका कार्यक्रम शून्यमा रहँदा पनि टि ट्वान्टी फरम्याटका यी दुई प्रतियोगिता नेपाली क्रिकेट खेलाडी र क्रिकेट समर्थकलाई उत्साहित बनाउनमा सफल रहे ।

डिपिएल र इपिएल आयोजनाले नेपाली क्रिकेटलाई फाइदा त पुर्यायो नै । व्यक्तिगत रुपमा सबैभन्दा बढी फाइदा भने लेफ्ट आर्म बलर सुशिल कँडेललाई पुग्यो । इपिएल र डिपिएलले उनलाई एउटा नयाँ प्रतिभाका रुपमा स्थापित गरेको छ । डिपिएलमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुले पनि उनको क्षमतालाई उजागर गरेको छ । यी दुई प्रतियोगिताको प्रदर्शनले उनलाई राष्ट्रिय टोलीको ढोका ढकढकाउन पनि पक्कै मद्दत गर्नेछ ।

बलिङ गर्ने क्रममा सुशिल

विराटनगर किङ्सबाट डिपिएल खेल्दै उनले १७ विकेट लिएका थिए । विराटनगरलाई डिपिएलको फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनी प्रतियोगिता सकिदा मोटरसाइकल जित्न सफल भए । त्यसअघि इपिएलमा पनि सर्वाधिक विकेट लिनेको सुचिमा उनी शीर्षस्थानमा थिए । भर्खर २० औं बर्ष लागेका सुशिलका लागि संयोग पनि मिल्यो । डिपिएलमा शरद भेषावकरले कप्तानी गरेको विराटनगरबाट खेलेका सुशिलले त्यसअघि इपिएलमा पन्चकन्या तेजबाट प्रतिनिधित्व गरे । ईपिएलको च्याम्पियन समेत रहेको पन्चकन्याको नेतृत्व पनि शरदले नै गरेका थिए । दुवै प्रतियोगितामा शरदको नेतृत्वमा खेल्न पाएकै कारण पनि उनले उच्च प्रदर्शनका लागि एउटा अवसर जुटेको हुन सक्छ ।

डिपिएलको उपाधि जित्न नसकेपनि प्रतियोगितामा व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्नु सक्नुको श्रेय सुशिल टोलीलाई दिन्छन् । ‘टोलीमा मैले इकोनोमिक बलरको भूमिका निर्वाह गरे । हामीले प्रत्यक खेल अगाडी कसले के भूमिका निर्वाह गर्ने छलफल हुन्थ्यो । टोलीको आवश्यकता अनुसार प्रदर्शन गर्न सकेकोमा खुसी लागेको छ, ’ युवा बलरले भने,‘ यहाँको कन्डिसन हामी जस्तो बलरलाई मद्दत पुग्ने खालको थियो । त्यसकारण पनि चाहे अनुरुपको प्रदर्शन गर्न सफल भए जस्तो अनुभव हुन्छ ।’

उनी शरदलाई विशेष खाले कप्तानका रुपमा हेर्छन् । सुशिलले अनुभव सुनाए ‘शरद दाईको कप्तानीमा खेल्दा फरक अनुभव हुन्छ । उहाँले टोलीमा छुट्टै किसिमको वातावरण सिर्जना गरिदिनुहुन्छ । मुख्यतः युवा खेलाडीहरुलाई उहाँले हौसला दिनुहुन्छ र टोलीलाई सधै एकताबद्ध बनाउनहुन्छ । ’

उनको अनुभवमा शरद खेलाडी अनुसारको रणनीति बनाउँछन् । उनले थपे,‘शरद दाईले हरेक खेलमा खेलाडीको क्षमता अनुसार चाल बनाउनुहुन्छ । उहाँको कप्तानीमा खेल्दा अलग अलग परिस्थितिमा आफ्नो क्षमता देखाउने अवसर मिल्छ । उहाँको नेतृत्वमा धेरै कुरा सिक्ने मौका पनि मिल्छ ।’

डिपिएलमा राष्ट्रिय टोलीका युवा स्टार सन्दीप लामिछाने एउटै टोलीबाट खेल्दा त्यसको पनि फाइदा पुगेको सुशिलको ठम्याई छ । सन्दीपले पनि डिपिएलमा १२ विकेट लिएका थिए ।

सुशिलले सन्दीपसँग खेल्दा सहज हुने बताए । ‘सन्दिप र म एकैपटक बलिङ गर्दा विपक्षी खेलाडीलाई गाह्रो हुने शरद दाईलाई थाहा थियो । अर्कोतिर सन्दीप र मैले त्यसै अनुरुप प्रदर्शन पनि गर्न सक्यौं । सकेसम्म धेरै डट बल फाल्ने हाम्रो योजना सफल भयो, जसका कारण विपक्षी खेलाडीमाथि दबाब परिरह्यो । अनुशासित रुपमा बलिङ गरेकाले विकेट लिइरहन सफल भयौं ।’

डिपिएलको फाइनल खेलमा चौराहा विरुद्ध बलिङ गर्दै

सामान्यतया पेस बलरबाट इनिङ्सको सुरुवातमा गराइन्छ । शरदले अधिकांश खेलमा सुशिलबाट इनिङसको सुरुआत गराए । ‘मेरो बलिङ स्किड वा ड्रिफ्ट हुने भएकाले मलाई नयाँ बलले बलिङ गर्न खासै गाह्रो हुदैन । प्रशिक्षणमा पनि नयाँ बलले नै तयारी गर्थे, त्यसले थप सजिलो भयो । सुरुवाती ओभर बलिङ गर्न सक्नेमा म विश्वस्त थिए । कप्तानले पनि त्यसै अनुरुप योजना बनाउँदा खुलेर खेल्न सके ।’
नेपाली यू १९ टोलीबाट खेलिसकेका सुशिल भविष्यमा राष्ट्रिय टोलीमा पर्नेमा आशावादी छन् । ‘सक्दो मिहेनत गरिरहेको छु । राष्ट्रिय टोली अहिले पुग्ने नहुन सक्छ, तर म अवसर आएको बेलामा आफुलाई प्रमाणित गर्न तयार छु । मेहेनत र अहिलेको प्रदर्शनलाई निरन्तरता दिन सके राष्ट्रिय टोली सम्म डोर्याउन सक्छ भन्नेमा विश्वस्त छु । ’

एउटा प्रतियोगिता सकिनेपछि अब के भन्ने हरेक क्रिकेट खेलाडीको मनमा पर्ने गरेको छ , स्वभाविक रुपमा सुशिलको मनमा पनि त्यस्तो प्रश्न छ नै । तर, गृह जिल्ला चितवनमा रहँदा पनि उनी प्रशिक्षणलाई भने निरन्तरता दिने योजनामा छन् ।

‘यो उमेरमा प्रशिक्षणका साथै म्याच एक्सपोजर पाउँदा अर्को खुड्किलो पार गर्न सजिलो हुन्छ । तर, अहिले हामीका त्यो वातावरण छैन,’ उनले भने,‘ तर, अब यसमा हामीले गर्न सक्ने पनि केही छैन । आफ्नै हिसाबले प्रशिक्षण गर्न सकिन्छ, म त्यहि गर्छु ।’

सुशिल खेलाडीको स्किलसँगै फिटनेसका विषयमा पनि चनाखो छन् । भन्छन् ‘क्रिकेट समयसँगै परिवर्तन भइरहेको छ । पहिला फिटनेसमा खासै ध्यान नदिँदा पनि हुन्थ्यो । मोर्डन क्रिकेटमा फिटनेसमा ध्यान दिनैपर्दछ । प्रतिस्पर्धा त्यत्तिकै कडा छ । खेलाडीले करियर लम्ब्याउनु छ भने फिटनेसमा एकदम ध्यान दिनै पर्दछ । युवा खेलाडीले अझै बढी फिट रहनुपर्दछ ।’

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.