default_image

1 month ago

June 11, 2025

राष्ट्रपति रनिङ सिल्ड – राष्ट्रपति पौडेलद्वारा उद्घाटन

489 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।
त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारी, ओलम्पियन एथलेटिक्सकी सरस्वती चौधरी र ओलम्पियन पारा तेक्वान्दोका भरतसिंह महताले ओलम्पिक टर्च पालैपालो ट्रयाकमा परिक्रमा गराएका थिए ।

उद्घाटनका अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताउदै खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले प्रतियोगिता धेरै महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनु पर्नेमा जोड दिए ।

उद्घाटनमा सातै प्रदेशका टिम, निर्णायक, विभिन्न भेषभुषा, कला र संस्कृति झल्कने किसिमका पहिरनसंगै मार्च मास्ट गरिएको थियो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी श्रृष्टि केसीले खेलाडीको तर्फबाट र कराते प्रकाशमोहन धौबडेलले निर्णायकको तर्फबाट सपथ ग्रहण गरेका थिए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रपति खेलकुद विद्यालय तहबाट नै खेलाडीलाई प्रोत्साहित गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत रूपमा विकास गरेर आयोजना गरिने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले गणतन्त्र नेपालको स्थापनापछि ७ सय ५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर प्रतिभावान खेलाडी उत्पादनको माध्यमका रुपमा राष्ट्रपति रनिङ शिल्डको सुरूआत भएको बताए । उनले विभिन्न चुनौतीकाबीच प्रदेश टिम सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबैलाई धन्यवाद दिए ।

सदस्य–सचिव घिसिङको कार्यकालमा यो चौथो राष्ट्रपति रनिङ सिल्ड हो । उनको कार्यकालमा १२ औं संस्करणदेखि नियमित रुपमा राष्ट्रपति रनिङ सिल्ड हुँदै आएको छ ।

सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । प्रतियोगिता शुक्रवारसम्म जारी रहने छ ।

Success

Thank you for your time.