default_image

5 years ago

August 8, 2019

ओलम्पिकको अध्यक्षमा फेरि जीवनराम र उमेशलाल लड्ने !

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अर्को महिना हुने नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनको घोषणासँग अध्यक्षमा फेरि उनी र वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । संघिय सांसद रहेका श्रेष्ठले पुनः अध्यक्षमा उम्मेदावरी दिने घोषणा गरिसकेका छन् । […]

30 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अर्को महिना हुने नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनको घोषणासँग अध्यक्षमा फेरि उनी र वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।

संघिय सांसद रहेका श्रेष्ठले पुनः अध्यक्षमा उम्मेदावरी दिने घोषणा गरिसकेका छन् । चार वर्षअघि पनि तत्कालिन उपाध्यक्ष उमेशलाल र महासचिव जीवनरामबीच प्रतिस्पर्धा भएको थियो । जसमा जीवनरामको समूह विजयी भएको थियो । यसटक भदौ २० गतेका लागि एनओसीको निर्वाचन मिति तय भएको छ । एनओसीका पूर्व उपाध्यक्ष उमेशलालले प्रष्ट एजेन्डासहित टिम बनाएर निर्वाचनमा जाने हाम्रो खेलकुदलाई बताए ।

‘हिजोको दिनमा एनओसी झोलामा थियो । आज अवस्था फरक भएको छ । अहिले सबैले देखिने भएको छ’, श्रेष्ठले भने, ‘तर पनि एनओसीको नेतृत्वमा पुगेपछि एउटा दम्भ देखिने रहेछ । मै ठूलो भन्ने भावना देखिने रहेछ । त्यसको विरुद्धमा मेरो उम्मेदवारी हुनेछ । ‘

उमेशलाल श्रेष्ठ

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अप्ठेरो परिस्थितिमा पनि आफुले नेतृत्व दिँदै र ओलम्पिक अभियानलाई अघि बढाएकोले अझै त्यसलाई उचाईमा लानका लागि पुनः अध्यक्षमा उम्मेदवारी दिने बताए ।

‘ओलम्पिक अभियानलाई स्थापित गर्न, राष्ट्रको गौरव बढाउन, खेलाडी उत्कृष्ट बनाउने सवालमा हामीले सधै सकारात्मक भूमिका खेल्यौं,’ नेपाल स्की संघका अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘यो बीचमा हामीले लामो समयदेखि एनओसीमा रहेको विवाद समाधानका लागि प्रयास गर्यौं । अब त्यो टुंगोमा पुग्ने क्रममा रहेको छ । खेलकुदको नयाँ ऐन बन्दै छ त्यसमा पनि हाम्रो भूमिका रहँदै आएको छ ।’

काठमाडौंका नेकपा इन्चार्ज समेत रहेका श्रेष्ठले विधानत अझै एक पटक अध्यक्ष बन्न पाउने व्यवस्था र अहिले पनि आफ्नो आवश्यकता रहेकाले उम्मेदवारी दिने तयारी रहेको प्रष्ट पारे । उमेशलाल श्रेष्ठले एनओसीले सरकारसँग सहकार्य गर्दै अघि जानुपर्ने तर्क गरे । ‘म निर्वाचित भएर आएपछि सरकारसँगको सम्बन्ध सहयोगीको हुनेछ,’ उनले थपे,’सरकारसँग झगडा गरेर होइन मिलेर जादा मात्र देशको खेलकुदको विकास गर्न सकिन्छ । ‘

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ।

झन्डै ३ दशक देखि आफु एनओसीमा कुनै न कुनै रुपमा आबद्ध रहेको उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘एनओसीलाई पारदर्शी बनाउने जरुरी छ । त्यस्तै त्यहाँ व्यापक लोकतन्त्रको अभ्यास हुन पर्दछ । अहिले त्यस्तो छैन ।’

श्रेष्ठले आफु नेतृत्वमा आएपछि सबै पदाधिकारी र सदस्यलाई भूमिका दिइने पनि प्रष्ट पारेका छन् । ‘कुनै पनि संस्था एक जनाले चलाउने होइन, यो त सामूहिक नेतृत्वका आधारमा चलाउने हो,’ उनले थपे, ‘अहिले सम्म एनओसीमा अध्यक्ष र महासचिव बोल्ने बैठक सक्ने परम्परा छ । हामी त्यसको अन्त्य गर्नेछौं । कुनै पनि विषयमा व्यापक छलफल पछि मात्र निर्णय लिइनेछ ।’

तपाईंले खेलकुदलाई समय दिन सक्नु हुन्न भन्ने आरोप छ नि भन्ने प्रश्नमा जीवनराम श्रेष्ठ प्रति संकेत गर्दै उनको जवाफ थियो, ‘कोहिले सांसद भएर, पार्टीमा काठमाडौं इन्चार्ज भएर समय दिन सक्ने मैले नसक्ने ? यो तर्कसँग म सहमत छैन । म अहिले पनि उद्योग बाणिज्य महासंघमा उपाध्यक्ष छु । समय त व्यवस्थापन गर्ने हो । सबैका लागि २४ घन्टा हुन्छ । त्यहि अनुसार मिलाउने हो ।’

उनले फेरि पनि जीवनराम श्रेष्ठसँग प्रतिस्पर्धा हुने सम्भावना रहेको बताए । ‘अरु को होला र, उहाँसँगै प्रतिस्पर्धा होला,’ उनले भने, ‘मलाई जो भएपनि फरक पर्दैन । म आफ्नो तयारीका साथ लड्ने हो ।’

उमेशलाल श्रेष्ठले यसपटक बलियो समूह बनाएर लड्ने पनि बताए ।’ हामीले तयारी गरेका छौं । यसपटक बलियो समूह हुनेछ । केहि दिनमा त्यो सबैलाई सबैलाई थाहा हुनेछ,’ उनले थपे,’ यसअघि हामी ९ जनाको प्यानल बनाएर लडेका थियौं । सबै हार्यौं । ‘ श्रेष्ठले यसपटक आफ्नो टोली जित्नेमा विश्वस्त रहेको बताए । ‘हामी आशावादी भएर तयारी गरिरहेका छौं । पुरै प्यानल बनाएर लड्नेछौं । हाम्रो टिम लगभग बनिसकेको छ । ‘

यसअघि एनओसीमा दुई पटक महासचिव समेत रहि सकेका जीवनराम श्रेष्ठले भने उमेशलाल श्रेष्ठ उठ्ने विषयमा आफुलाई जानकारी नभएको बताए । उनले प्यानल बनाएर चुनावमा जाने विषयलाई पनि प्रष्ट पार्न चाहेनन् । ‘एनओसीमा जो जति छौं । त्यो सबै एउटा समूह हो,’ उनले भने, ‘सबैले सम्बिन्धित खेलको प्रतिनिधित्व गरेर एनओसीमा आउने भएकाले त्यो त्यसै पनि टिम हो । हामी सबै एउटै टिम हौं ।’

हालै मात्र एनओसीले १९ सदस्यीय कार्यसमिति हुने गरि विधान संसोधन गरेको छ । २७ एसोसिएट सदस्यका प्रतिनिधिले एनओसीको निर्वाचनमा मतदान गर्नेछन् । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र ७ सदस्य निर्वाचित हुनेछन् ।

एनओसीमा मताधिकार भएका २७ संघ :
फुटबल, कबड्डी, लन टेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्याष्टिक, ह्यान्डबल, हक्की, जुडो, र्याफटिङ एन्ड केनोइङ, शुटिङ, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, गल्फ र कराते महासंघ

Success

Thank you for your time.