default_image

6 years ago

November 30, 2017

एसियन गेम्समा ४० खेल समावेश, सम्भावना बोकेका खेल प्राथमिकतामा

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१८ को अगष्टमा इन्डोनेसियामा आयोजना हुने १८ औं एसियन गेम्समा विभिन्न ४० खेल समावेश गरिएको छ । इन्डोनेसियाको दुई शहर जाकार्ता र पालेमबाङमा अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म एसियन गेम्स हुनेछ जसमा यसपटक ४० खेलको ४६२ इभेन्ट्स समावेश गरिएको छ । नेपालबाट भने सहभागिता जनाउने खेलको तय भइसकेको छैन […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१८ को अगष्टमा इन्डोनेसियामा आयोजना हुने १८ औं एसियन गेम्समा विभिन्न ४० खेल समावेश गरिएको छ । इन्डोनेसियाको दुई शहर जाकार्ता र पालेमबाङमा अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म एसियन गेम्स हुनेछ जसमा यसपटक ४० खेलको ४६२ इभेन्ट्स समावेश गरिएको छ ।

नेपालबाट भने सहभागिता जनाउने खेलको तय भइसकेको छैन । नेपालले गोन्वाओ एसियाडमा २० खेलमा सहभागिता जनाएको थियो भने इन्चोन एसियाडमा २३ खेलमा सहभागिता जनाएको थियो । यसपटक पनि नेपालले २० देखि २५ खेलको हाराहारीमै सहभागिता जनाउने पक्का छ ।

सहभागिता जनाउने खेलहरु तय भइ नसकेपनि पदक जित्ने सम्भावना बोकेका खेलहरु यसपटकको एसियन गेम्समा बढी प्राथमिकतामा पर्ने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी गराए । नेपालले एसियन गेम्समा लामो समयदेखि सहभागिता जनाउँदै आए पनि राम्रो नतिजा ल्याउन सकेको छैन ।

नेपालले सन् २००६ मा कतारको दोहामा भएको एसियन गेम्समा तीन पदक जित्दा सन् २०१० मा चीनमा भएको गोन्जाओ एसियाड र सन् २०१४ मा दक्षिण कोरियामा भएको इन्चोन एसियन गेम्समा समान एक–एक कास्य पदक जितेको थियो । सन् २०१० मा बक्सिङमा दीपक महर्जनले र  सन् २०१४ मा करातेकी बिमला तामाङले कास्य जित्न सफल भएका थिए ।

यसपटकको एसियाडलाई बढी परिणाम मुखी बनाउन अर्काे महिनाबाट खेल निर्धारण गरी चाडै प्रशिक्षण थाल्ने ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

‘अहिले देश प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा होमिएको छ । निर्वाचन सकिएलगत्तै हामी एसियन गेम्सका लागि नेपालले पदक जित्न सक्ने खेललाई छनोट गरी तयारी थाल्नेछौं ।’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले इन्डोनेसियाको १८ औं एसियन गेम्स उत्साहपुर्वक र परिणाममुखी बनाउनु पर्छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालयसँग समन्यव गर्दै टिमको विशेष तयारी गरेर सहभागिता जनाउने छौं । यसपटक हामी विगतको रेकर्ड तोड्न चाहन्छौं ।’

यस्तै अध्यक्ष श्रेष्ठले एसियन गेम्सको लागि राखेप र मन्त्रालयसँग सहकार्य गर्दै अघिल्ला संस्करणको प्रदर्शन, संघको प्रदर्शन र पदक आउन सक्ने खेललाई बढी प्राथमिकता दिने बताए । उनले संघहरुलाई मन्त्रालय र राखेपको पावरबाट आफ्नो खेल समावेश गराउनेतर्फ पहल नगर्न अनुरोध गर्दै छनोट पारदर्शी तरिकाले गर्ने समेत बताए ।

एसियन गेम्समा राम्रो नतिजाको लागि ओलम्पिक कमिटिले वैदेशिक प्रशिक्षणको लागि रुस, कतार, थाइल्याण्ड, जापान र दक्षिणजस्ता देशमा लैजान र नेपालमा उच्चस्तरीय विदेशी प्रशिक्षक ल्याउनमा पनि पहल गरिने जानकारी गराए । यस्तै अध्यक्ष श्रेष्ठले अप्रिल १० मा फण्ड रन आयोजना गरिने जानकारी गराए ।

यस्तै ओलम्पिक कमिटिले यही डिसेम्बर १२ देखि १४ सम्म इन्डोनेसियामा हुने ‘सेभ द मिसन’को बैठकका लागि कमिटिका उपाध्यक्ष ज्योति राणा र कार्यकारी सचिव सुजन श्रेष्ठ त्यसतर्फ जाने जानकारी गराए ।

Success

Thank you for your time.