default_image

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ खेलकुद ऐन अनुसार नयाँ सदस्य सचिव नियुक्तिका लागि खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलीयाको संयोजकत्वमा रहेको तीन सदस्यीय सिफारिस समितिले पूर्णता पाएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शुक्रबार रिम रानाभाट र इन्दिरा निरौलाको नाम समेट्दै सचिव थपलियाको संयोजकत्व रहने सिफारिस समितिलाई पूर्णता दिएका हुन् । अब समितिले नै सदस्य सचिवको नाम सिफारिस गर्नेछ । सिफारिस समितिको कार्यविधि समिति आफैले निर्माण गर्नेछ ।

सिफारिस समितिका सदस्यका रुपमा मनोनित रानाभाट यसैवर्ष राखेपबाट सेवा निवृत्त भएका हुन् । राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक रहिसकेका रानाभाट १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको सहायक सेभ द मिसन समेत रहेका थिए । अर्की सदस्य निरौला भने यसअघि राष्ट्रिय खेलकुद परिषदकै बोर्ड सदस्य रहेकी थिइन् ।

सिफारिस समितिले अब मापदण्ड पूरा भएका एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ । मन्त्रालयले त्यसमध्येबाट सदस्य सचिवको नियुक्त गर्न मन्त्री परिषद् बैठकमा पेश गर्नेछन् । त्यसबाट एक जनालाई मन्त्री परिषद्ले सदस्य सचिवको पद ४ वर्षका लागि नियुक्त गर्नेछ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले केहि दिन अघि सदस्य सचिवका लागि खुला आव्हान वा मापदण्ड पुरा भएका व्यक्तिमध्येबाट तीन जनाको सिफारिस हुन सक्ने बताएका थिए । ऐनमा व्यवस्था भएबमोजित सदस्य सचिव हुनका लागि नेपाली नागरिक, सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उतीर्ण, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले आयोग्य नभएको र ३० वर्ष उमेर पुरा भएको गरि ५ वटा योग्यता तोकेको छ ।

नयाँ ऐनमा राखेप सदस्य सचिवले यसअघि प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य भएको छ । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ ।

सदस्य सचिव कार्यसमितिको संयोजक हुनेछन् । खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेलकुद परिषदका सदस्यहरु मध्येबाट परिषद अध्यक्ष रहेका मन्त्रीले मनोनित गरेका २ जना, परिषदले मनोनित गरेका २ जना सदस्य राखेप कार्यकारी समितिमा रहनेछन् । राखेपको प्रशासन महाशाखा प्रमुखले कार्यकारी समितिको सचिवको भूमिका निर्वाह गर्नेछन् ।

परिषद् गठन पनि अघि बढाइने

खेलकुद विकास ऐनले ३१ सदस्यीय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्थापना हुनेछ । सरकारको युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री अध्यक्ष रहने राखेप ३१ सदस्यीय हुनेछ । परिषद्मा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र २८ सदस्य रहनेछन् । खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरु मध्येबाट एक जनालाई सरकारले राखेपको उपाध्यक्षमा मनोनय गर्नेछ ।

विश्वविद्यालयहरुको खेलकुद विभागका प्रमुख, खेलकुद मन्त्रालयको महाशाखा प्रमुख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, ओलम्पिक कमिटीलगायतको प्रतिनिधित्वलाई पनि राखेपमा निश्चित गरिएको छ । खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तीन विभाग (सेना, प्रहरी र शसस्त्र) का खेलकुद क्षेत्रका प्रमुख पनि राखेपको सदस्य हुनेछन् ।

त्यस्तै खेलकुद विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडीहरुमध्ये सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनताजि, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरि सरकारले मनोनयन गर्नेको कम्तीमा ३ महिलासहित ९ जना पनि राखेपको सदस्य हुनेछन् । त्यसमा मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडीहरुमध्येबाट गर्नुपर्ने ऐनमा व्यवस्था छ ।

परिषद् गठनको प्रक्रिया पनि छिट्टै सुरु हुने खेलकुद मन्त्री विश्वकर्माले बताए । ‘कार्यकारी भएका नाताले सदस्य सचिवको नियुक्त बढी जरुरी हुन आउँछ । त्यसबाहेक परिषद् गठन पनि सँगै सँगै अघि बढ्नेछ’, उनले भने, ‘परिषदमा कतिपय सदस्य पदेन छन् । त्यसबाहेक नियुक्तीको प्रक्रिया अघि बढाइनेछ ।’

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ डाउनलोड गर्न यहाँ थिच्नुहोस्

Success

Thank you for your time.