default_image

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टसले मंगलबारको खेलमा लज्जास्पद हार बेहोरेको छ । एसी मिलानको घरेलु मैदान सान सिरोमा युभेन्टस ४-२ ले पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भने ६ गोल सम्भव भएको थियो । युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २-० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खाएपछि हार बेहोरेको हो । मंगलबारकै अघिल्लो खेलमा लाजियो लेच्चेसँग पराजित भएकाले अंक तालिकामा युभेन्टसको अग्रता भने कम भएन ।

दोस्रो हाफको ४७ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रीएन राबीओटले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले मिडफिल्डको आफ्नो क्षेत्रबाट बल अगाडी बढाउँदै एकल प्रयासमा केहि डिफेन्डरलाई छक्याएका थिए । पेनाल्टी क्षेत्रको बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

अग्रता लिएको ५ मिनेटमा नै युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा २-० ले अगाडी बढ्यो । जुआन् क्वाडराडोको लामो पासलाई एसी मिलानका डिफेन्डरले क्लियर गर्ने क्रममा एक अर्कासँग जुध्दा रोनाल्डोले गोल गर्ने सुवर्ण अवसर पाएका थिए । दुवै डिफेन्डर लडेको अवस्थामा रोनाल्डोले वन भर्सेस वनको अवस्थामा गोल गरेका थिए ।

खेलको ६२ औं मिनेटमा घरेलु टोली मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पायो । लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए । फरवार्ड ज्लाटन इब्राहिमोभिचले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिए ।

६६ औं मिनेटमा इब्राहिमोभिचको पासमा फ्रान्क केस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र ज्लाटनसँग वन टु पास खेलेका केस्सीले सहजै गोल गरेका थिए ।

६७ औं मिनेटमा मिलानले अग्रता लियो । एन्टे रेबिचको पासलाई पोर्चुगिज फरवार्ड राफाएल लिआओले गोलमा परिणत गर्दै पुनरागमन जितको आधार बनाए ।

८० औं मिनेटमा युभेन्टसको कमजोर डिफेन्सको फाइदा उठाउँदै रेबिचले गोल गरे । गिआकोमो बोनाभेन्चुराले डिफेन्डरले दिएको पास आफ्नो नियन्त्रणमा लिँदै दिएको पासमा रेबिचले गोल गरेका थिए ।

यस हारका बाबजुद युभेन्टस अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ । युभेन्टसको ३१ खेलमा ७५ अंक छ भने लाजियो ३१ खेलमा ६८ अंकसहित दोस्रो स्थानमा छ । मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

लाजियोले मंगलबार नै भएको खेलमा लेच्चेसँग २-१ को हार बेहोर्यो । पाँचौ मिनेटमा फिलिपे काइसेडोको गोलमा लाजियोले अग्रता लिएको थियो । खौमा बबकारले ३० औं मिनेटमा बराबरी गोल फर्काएपछि दोस्रो हाफको दोस्रो मिनेटमा फाबिओ लुचिओनिले लेच्चेका लागि विजयी गोल गरे ।

Success

Thank you for your time.