default_image

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत बिहीबार अन्तिम लिग खेलमा नेपालले भुटानको सामना गर्दैछ । भारतको कोलकातामा जारी प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्ध जित आवश्यक छ ।

मंगलबार भएको खेलमा बंगलादेशविरुद्ध जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । साविक विजेता समेत रहेको बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेश र‌ नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ ।

मंगलबार नै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्षस्थानमा छ । भारतले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २-० को जित दर्ता गरेको थियो । भारतले भुटानमाथि ७-० को फराकिलो जित दर्ता गरेको थियो । लिग चरणमा नै भारतले बिहीबार बंगलादेशको सामना गर्नेछ ।

नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ । यद्यपि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा भने गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । त्यसको सम्भावना भने निकै न्यून छ । त्यसका लागि बंगलादेशले कम्तिमा ४ गोलको अन्तरले जित दर्ता गर्नुपर्ने हुन्छ । यता भुटानविरुद्ध नेपालले अप्रत्याशित नतिजा निकाल्दै बराबरी वा हार बेहोरेको खण्डमा पनि फाइनल पुग्ने सम्भावना जिवितै रहनेछ । त्यसका लागि भने भारतले बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमको वेबसाइटमा हुनेछ ।

Success

Thank you for your time.