default_image

2 years ago

February 24, 2023

मोन्टीको आगमनसँगै जागेको आशा

235 views

0 Bookmark

भुपेन्द्र जि.सी.,काठमाडौं

चार खेल चार जित, सबै खेलमा फरक प्लेयर अफ द म्याच । एक शतक र ७ अर्धशतक । ब्याटिङमा लगातार तीन पटक २ सय ७० माथिको योगफल सफल रुपमा पूरा । यो किसिमको प्रदर्शन नेपाली ब्याटरबाट कमै देख्न पाइन्छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा यस साता नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबिया र स्कटल्यान्डविरुद्ध ऐतिहासिक प्रदर्शन गर्यो ।

पछिल्लो समयमा आलोचना र खराब प्रदर्शनले निराशामा फसेको नेपाली क्रिकेटले एकै सातामा समर्थक र शुभचिन्तकमा नयाँ आशा र खुशी फर्काएको छ । पहिलो पटक लिग–२ मा नेपालले सबै चारै खेल जित्दै ओडिआई मान्यता निरन्तरता मात्रै होईन शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेपालले सानदार प्रदर्शन गर्नुमा धेरै कारण र आधारहरु छन् । एउटा मुख्य आधार मुख्य प्रशिक्षक मोन्टी देशाई हुन् ।

माघ १४ मा नेपाल आइपुगेका मोन्टीले अर्को दिनबाट काम सुरु गरेका थिए । झण्डै तीन साता नेपाली क्रिकेट टोलीसँग काम गरेका मोन्टीले सुरुवातमै नेपाली क्रिकेटमा ठूलो आशा र खुशीयाली जगाएका छन् । उनको आफ्नो प्रभाव सुरुवातमै देखाएका छन् ।

भनिन्छ एक असल प्रशिक्षकले खेलाडीको क्षमता एउटा बल वा शटबाट अनुमान लगाउन सक्छन् । मोन्टीसँग नेपाली क्रिकेटमा काम गर्ने धेरै समय थिएन । तर जति समय थियो त्यति पर्याप्त बनाए ।

मोन्टीले पहिलो दिन नै टियुमा राम्रो छनक देखाएका थिए । माघ १५ मा टियुमा पहिलो दिन उनले खेलाडीसँग निकै छोटो कुराकानीपछि आफ्नो काम थालेका थिए । केहि खेलाडीलाई फिटनेश टेस्ट गराउँदा, प्रमुख बलर र ब्याटरलाई नेटमा प्रदर्शन गर्न लगाएर हेरेका थिए । उनी कुरा होईन काममा केन्द्रित देखिएका थिए ।

तीन सातापछि नतिजामा आमुल परिवर्तन देखिएको छ । गतवर्ष टि२० विश्वकप खेल्ने अवसर गुमाउनु र एकपछि अर्को हारले समर्थकनै वाक्कदिक्क भएका थिए । तर त्यो सबै निराशामा तत्कालको लागि पूर्णविराम लागेको छ ।

यस सिरिज अघि नेपालले लिग–२ मा कुल २४ खेल खेल्दा मात्रै ८ मा जित र १४ मा हार थियो । जसक्रममा चार प्रशिक्षक ( उमेश पटवाल, डेभ ह्वाटमोर, पुबुदु दासानायिके र मनोज प्रभाकर) परिवर्तन भएका थिए । नेपालको ओडिआई मान्यता संकटमै पुगेको थियो । तर मोन्टीको आगमनले ओडिआई निरन्तरता बलियो आशा देखाएका छन् । अब बाँकी ८ मध्य पाँच खेल जिते ओडिआई मान्यता पक्का हुनेछ ।

नेपालले घरेलु मैदानमा एसोसियटको सर्वाधिक बलियो मानिने स्कटल्यान्डलाई दुवै खेलमा पराजित गर्यो । अन्तिम खेलमा नेपालसँग हारको साथ स्कटल्यान्ड च्याम्पियन बन्दै फर्कियो । नामिबियालाई पनि नेपालले दुवै खेलमा पराजित गर्यो । नेपालको सुरुवात नै निकै दमदार रह्यो ।

पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ८६ रनको विशाल विजयी लक्ष्य दिएको थियो । यसअघि २ सय रन बनाउन कठिन हुने नेपाललाई उक्त लक्ष्य भारी पर्नसक्ने अनुमान गरिएको थियो । जित्ने आशा कमैले गरेका थिए । तर नेपालले उक्त लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्दै सनसनी मच्चाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेले । जुन ओडिईमा उनको पहिलो शतक थियो । कप्तान रोहित पौडेलले ७२ रनको महत्वपूर्ण इनिङ खेले । जुन नेपालले ओडिआईमा पूरा गरेको सर्वाधिक ठूलो समेत थियो ।

पहिलो जितपछि नेपाली टोलीको मनोबल निकै उच्च भयो । दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दियो । उक्त लक्ष्य पनि नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा कुशल मल्लले ८१ र दीपेन्द्रसिंह ऐरीले ८५ रनको योगदान दिए । पहिलो खेलमा कुशल भुर्तेल र दोस्रो खेलमा दीपेन्द्र प्लेयर अफ द म्याच चुनिए ।

तेस्रो खेलमा नेपाललाई नामिबियाले २ सय ७५ रनको लक्ष्य दियो । नेपालले ७४.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन जोडे । आसिफ खेलको प्लेयर अफ द म्याच चुनिए ।

अन्तिम खेलमा नेपालले २ सय १३ रनको विजयी लक्ष्य पाएको थियो । सुरुवाती तीन खेलको जितले धेरैको आशा नेपालले उक्त लक्ष्य सजिलै भेट्ने अनुमान गरेका थिए । तर पिच कन्डिसन फरक थियो । कप्तान रोहित पौडेल हिरो बन्दै ९५ रनको इनिङ खेलेपछि नेपाल दुई विकेटले विजयी भएको थियो ।

रोहितले ६१/५ को अवस्थाबाट उक्त खेल जिताएका थिए । यस सिरिजमा रोहितको प्रदर्शन नेपालको तर्फबाट सबैभन्दा उत्कृष्ट थियो । नवौं विकेटका लागि करण र रोहितले नटआउट ७५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए । नेपालले यस सिरिजमा ४ खेलमा १ सय ८६.२ ओभरमा कुल १ हजार ५३ रन बनायो । कुल ३० छक्का प्रहार गरेको थियो ।

मोन्टीको खेलाडीको मनोबल फेरेका छन् । सबै खेलाडीलाई सकारात्मक सोच्न र भरपूर आत्माविश्वास दिलाएका छन् । त्यसको प्रभाव मैदानमा खेलाडीको ब्याट र बलमा देखिएको छ । ब्याटिङक्रममा केहि सरप्राइज परिवर्तन गरेका छन् । कुशल मल्ललाई पाँचौं र दीपेन्द्रलाई सातौं नम्बरमा खेलाउने रणनीति लिए । जुन रणनीतिमा सफल पनि भए । मोन्टीले सुरुवात देखिनै ह्याप्पी ड्रेसिङ रुम अभियान चलाएका छन् । हरेक खेलाडी मोन्टीको आगमनपछि टोलीको वातावरण फेरिएको बताउँछन् ।

‘सबै खेलाडी सकरात्मक देखिन्छन् । टिममा सबै सकरात्मक छन् । एक अर्कालाई साथ दिएका छन् । सन्दीप पनि धेरै पछि आयो । उसलाई पनि साथ दिएको छ । प्रशिक्षकले नकरात्मक कुरा गर्दै गर्नुहुन्न । खेल जितेपनि हारेपनि सबैलाई साथ दिनुभएको छ, शतकपछि कुशलले भनेका थिए ।

‘वहाँ एकदमै सकरात्मक हुनुन्छ । हरेक कुरालाई सकरात्मक कुराले हेर्नुहुन्छ । टिममा नकरात्मक कोहि कुरा नगरोस भनेर भन्नुहुन्छ । हरेक जना सकरात्मक छन् र राम्रो पनि भएको छ’, दोस्रो जितपछि दीपेन्द्रले भनेका थिए ।

टियुको पिच पछिल्लो तीन वर्षमा निकै फेरिएको छ । ग्राउन्ड स्टाफको लगातार मिहिनेतले ब्याटिङ सहयोगी मानिन्छ । गत पुषमा प्रधानमन्त्री कपको दोस्रो सेमिफाइनल खेलमा पुलिसले प्रस्तुत गरेको ३ सय ५ रनको विजयी लक्ष्य आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहितले पहिलो खेलपछि उक्त जितको याद आएको बताएका थिए ।

‘ठ्याक्कै इनिङ सकिएपछि मैले के भनेको थिए भने आर्मी र पुलिसको खेलमा ३ सय ५ रन पूरा गरेका थियौं । हामीले त्यतिबेला पूरा गर्न सकेका थियौं भने आजपनि सक्छौं भनेको थिए । त्यहिँ अनुसार पुरा गछौं भनेर कुरा भएको थियो । सरले हामीलाई स्वतन्त्र भएर खेल्न भन्नुहुन्छ । पहिलो इनिङपछि वहाँले कोहिपनि चिन्तित नहुनु । हामीले यो लक्ष्य पूरा गछौं भन्नु भएको थियो । अभ्यासमा पनि स्वतन्त्र रुपमा खेल्न दिनु भएको थियो । त्यसको नतिजा हो’, रोहितले भने ।

तेस्रो खेलमा नेपालको जितपछि ज्ञानेन्द्र मल्लले पिचको कारण रन बनाउन सहज भएको बताएका थिए । ‘हामीले पहिला त विकेट (पिच) लाई मान्नुपर्छ । विकेट पहिला भन्दा धेरै राम्रो खेलेको छ । पहिला देखि सुरुवात गरि अहिलेसम्म आउँदा खेलाडीहरुमा जिम्मेवारी बढेको छ । फेरि नयाँ वातावरण बनेको छ । पहिलोमा राम्रो गर्दा दोस्रोमा गर्न सहज भयो । दोस्रोमा राम्रो गर्दा तेस्रो खेलमा राम्रो भयो । जो पनि जान सक्छ र खेल जिताउन सक्छ भन्ने आत्माविश्वासको विकास भएको छ’, जितपछि ज्ञानेन्द्रले भनेका थिए ।

मुख्य प्रशिक्षक मोन्टी देशाई र पिचमात्रै होईन टसले पनि नेपाललाई राम्रो साथ दियो । नेपालले चारै खेलमा टस जित्दै सबै खेलमा लक्ष्य पछ्यायो । टियुमा यस पटक भएका ६ मध्य पाँच खेल पहिला टस जित्दै फिलिडङ रोज्ने टोली नै विजयी भए । विहानको समयमा ब्याटिङ गर्न कठिन हुँदै आएको छ । कप्तान रोहित पनि त्यो स्वीकार गर्दछन् । ‘यहाँ (टियु) खेल्दा टस एकदमै महत्त्वपूर्ण हुने मलाई अनुभव हुन्छ । विहानको समयमा बलरलाई सहयोग मिल्छ । त्यसैले टसले प्रभाव पार्छ’, रोहितले भने ।

स्कटल्यान्डका प्रशिक्षक शेन बर्गर र पूर्व कप्तान काइल कोट्जरले पनि मोन्टीको प्रभाव परेको बताएका थिए । ‘स्कटल्यान्डविरुद्ध दुई खेलमा नेपाली ब्याटरले उत्कृष्ट साझेदारी गरे । फरक खेलाडीले प्रदर्शन गरे । मोन्टीले राम्रो भूमिका निर्वाह गरेका छन् । सम्पूर्ण टोलीलाई एउटा राम्रो शक्ति दिएका छन् । आशा गरौं यसलाई नेपाली क्रिकेटले निरन्तरता दिनेछ’, शेन बर्गरले अन्तिम खेलपछि भनेका थिए ।

नेपालको जितमा १२ औं खेलाडी समर्थकको पनि त्यति नै राम्रो साथ रह्यो । सबै खेलमा समर्थकलले यस पटक नेपाली खेलाडीलाई राम्रो साथ दिए । नामिबिया र स्कटल्यान्डका दुबै खेलाडीलाई नेपाली समर्थक सामु खेल्न थप कठिन भयो । नेपालले समर्थक र पिच कन्डिसनको भरपूर फाइदा उठायो ।

यता मुख्य प्रशिक्षक मोन्टी देशाई भने आफ्नो लक्ष्य नेपालमा दीर्घकालिन भएको बताउँछन् । ‘मेरो लामो योजना छ । म ओडिआई मान्यता बचाउनको लागि मात्र सोचेको छैन । व्यक्तिगत होस् वा टोलीको । हामीले प्रक्रियामा काम गरेका छौं । आगमी दिनमा खेलाडीको चरित्र पनि थाहा हुनेछ । हरेक खेल हाम्रो लागि फाइनल हुन् । तर लक्ष्य भने दीर्घकालिन छ’, मोन्टी देशाईले भने ।

यसअघि मनोज प्रभाकरले बनाएको भद्रगोल ब्याटिङक्रम, एकपछि अर्को खराब हारको निराशा र आक्रोश जस्ता समस्या समाधान गरेका छन् । टिममा एकता देखिएको छ । सबैभन्दा ठूलो कुरा आत्माविश्वास फर्किएको छ । क्रिकेट भनेको नै आत्माविश्वासको खेल हो । त्यसैले त फेरिएको टोली देखिएको छ ।

अहिलेको प्रदर्शनले नेपालको ब्याटिङमा सुधार भन्न धेरै हतार हुनसक्छ । नेपाली टोलीको परिक्षा टियु मैदान बाहिर हुनेछ । २०२१ मा देभ ह्वाटमोर मुख्य प्रशिक्षक बनेर आएपछि मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टि२० आई सिरिजमा सानदार प्रदर्शन गरेको थियो । फाइनलमा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

तर नेपालले केहि महिनापछि ओमान भ्रमणमा ब्याटिङमा पुन संघर्ष गरेको थियो । टि२० विश्वकप पुग्न नसकेपछि सुरु भएको निराश एक वर्षपछि तत्कालको लागि अन्त्य भएको छ । त्यो निराशामा मोन्टी र नेपाली टोली ठूलो आशा बनेर आएका छन् । नेपाली समर्थकले पुन ठूला सपना देख्न थालेका छन् ।

मोन्टीले भने जस्तो दीर्घकालिन रुपमा काम गर्न सफल भएमा धेरै परिवर्तन ल्याउनेछन् । यो सिरिज मोन्टीले आफ्नो खेलाडीको क्षमता र कमजोरीलाई राम्रोसँग बुझेका छन् । अव उनले आफ्नो योजना अनुसार टिम निर्माण गर्नसक्छन् । मोन्टीको असली परिक्षा युएईमा हुनेछ । घरेलु टोली युएईविरुद्ध नेपाली टोलीको नतिजा कस्तो हुन्छ त्यसले पनि धेरै निर्धारण गर्नेछ ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न नेपालले सबै ८ खेल जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन पाँच खेल जित्नुपर्ने हुन्छ । अहिलेको लय र प्रदर्शनले ओडिआई मान्यता जोगाउन भने कठिन देखिदैन । ओडिआई मान्यता निरन्तरता हुँदा खेलाडीसँगै मोन्टीले त्यसको श्रेय पाउनेछन् । यदि असफल भएमा मोन्टीलाई दोष लगाउने ठाउँ हुनेछैन । लगभग ओडिआई हातबाट निस्किसकेको अवस्थामा मोन्टीले उक्त जिम्मेवारी सम्हालेका थिए ।

एक दशक भन्दा बढी टेस्ट, आइपिएल र एसोसियट टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका मोन्टी पहिला नै नेपाली क्रिकेट सम्हाल्न चाहन्थे । तर विभिन्न कारणले त्यो सफल हुन सकेको थिएन । पछिल्लो तीन वर्ष वेस्टइन्डिजको ब्याटिङ सम्हालेका मोन्टीले पक्कै त्यसै नेपाल आउने निर्णय लिएका होइनन् । नेपाली खेलाडीको क्षमता, सम्भावना र समर्थकको मायालाई देखेर नै आएका हुन् ।

नेपाली क्रिकेटमा कतिसम्म सम्भावना छ मोन्टीलाई राम्रोसँग थाहा छ । उनी जुन शैलीमा प्रस्तुत हुँदै आएका छन् त्यसले नेपाली क्रिकेटमा ठूलै परिवर्तनको संकेत देखाउँछ । त्यसको लागि उनले आफ्नो योजना अनुसार काम गर्न र सबैबाट साथ पाउन आवश्यक पर्दछ । हाललाई लिग-२ मा स्थान जोगाएर विश्वकप छनोट खेल्ने नेपालको मुख्य लक्ष्य हो । त्यसपछि एसिया कप र विश्वकपमा नेपालको प्रतिनिधित्व नियमित हुनुपर्छ । मोन्टीबाट नेपाल पनि त्यहि चाहन्छ ।

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]

June 14, 2025

दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]

June 14, 2025

मधेशलाई टिबी शाह यु १६ क्रिकेट उपाधि

सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको‌ कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले‌ १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]

Success

Thank you for your time.