3 years ago
March 3, 2023
दुबई (हाम्रो खेलकुद) – विकेटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको सोझै ओडिआई मान्यता प्राप्त गर्ने सम्भावना बढेको छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेख १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ रनमा अविजित रहे । स्पिनर सन्दीप लामिछाने ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे ।
एक समय १०५-७ को अवस्थामा पुगेको नेपाललाई जिताउन आसिफ र सन्दीपले ७७ रनको अविजित साझेदारी गरेका थिए । ओडिआईमा यो नेपालबाट आठौं विकेटका लागि बनेको उच्च साझेदारी हो । यसअघि आठौं विकेटका लागि उच्च साझेदारी अघिल्लो साता सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध ५५ रनको गरेका थिए ।

पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमेआको बलमा ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए । कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । सेमोको बलमा ज्ञानेन्द्र मल्ल राइली ह्याकुरेबाट ६ रनमा क्याच आउट भए ।
युएई भ्रमणमा पहिलो पटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाउँदै कप्तान असाद भालाको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे । १८ औं ओभरको पहिलो बलमा असाद भालाले गरेको बलमा कप्तान रोहित कट बिहाइन्ड हुँदै १ रनमा पेभेलिएन फर्के ।

पाँचौं बलमा भालाले आरिफ शेखलाई एक रनमा बोल्ड गरेपछि नेपाल ५३–५ को दयनीय अवस्थामा पुगेको थियो । दीपेन्द्रसिंह ऐरी सेसे बाउको बलमा ८ रनमा एलबीडब्लू आउट भए । सातौं विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ३१ रनको साभेदारी गरेका थिए । कुशल मल्ल २६ बलमा २ चौकासहित २३ रनमा बाउको बलमा कट एण्ड बोल्ड आउट भए ।
पपुवा न्युगिनीका कप्तान असाद भालाले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए। सेमो कमियाले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर २ विकेट लिए । सेसे बाउको नाममा दुई विकेट रह्यो ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । पपुवा न्युगिनीले नेपालविरुद्ध राम्रो सुरुवात गरेको थियो । तर त्यो सुरुवातलाई सदुपयोग गर्न भने सकेन ।

ओपनर टोनी उरा र किप्लिङ डोरिगाले पहिलो विकेटका लागि १०.३ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सन्दीप लामिछानेले ओपनर किप्लिङ डोरिगालाई ४३ बलमा ३ चौकासहित २६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । पावर प्लेपछि आएका सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिएका थिए ।
बायाँ हाते स्पिनर कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा रन आउट हुन पुगेका थिए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा टोनी उरा कट एण्ड बोल्ड आउट हुन पुगेका थिए ।
उराले स्टेटतर्फ खेलेको सट सोमपालले उत्कृष्ट क्याच लिँदै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । उरा आउट हुँदा पिएनजी ८७-३ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउन पुग्यो । २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले भालालाई ११ रनमा एलीबडब्लू आउट गरे । भालाको विकेटपछि नेपाल खेलमा हाबी बन्यो ।

दीपेन्द्रले बायाँ हाते ब्याटर गौडी टोकालाई ३६ औं ओभरको अन्तिम बलमा १५ रनमा बोल्ड आउट गर्दै नेपाललाई पाँचौं सफलता दिलाएका थिए । त्यसअघि चाद सोफर ९ रनमा रन आउट भए । दीपेन्द्रको बलमा ठूलो सट खेलेका हिरि हिरि डिप मिडविकेटमा ज्ञानेन्द्र मल्लबाट ३१ रनमा क्याच आउट भए । हिरिले ६३ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले नर्मन भानुवालाई १५ रनमा बोल्ड गरेका थिए ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित १० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा एक एक विकेट रह्यो ।

योसँगै नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन अव ५ मध्य तीन खेल जित्नुपर्ने हुन्छ । सबै खेल जित्न सके नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । नेपालले अव सोमबार युएईसँग खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा अन्तिम चार खेल खेल्नेछ ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]