default_image

2 years ago

December 12, 2023

महिला क्रिकेटमार्फत बागमती प्रदेशको उदाहरणीय सुरुवात

981 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

कुनैपनि देशको क्रिकेट विकास गर्न ग्रासरुट क्रिकेट निकै महत्वपूर्ण हुन्छ । तर नेपाली क्रिकेटमा ग्रासरुट क्रिकेटको अवस्था निकै कमजोर छ । क्यानका सदस्य प्राप्त ४५ जिल्ला छन् । केहि जिल्ललाई छाड्ने हो अन्य सबै राष्ट्रिय प्रतियोगिताको समयमा मात्रै सक्रिय हुन्छन् । ग्रासरुट कमजोर हुनुको मुख्य कारण जिल्लाले आफ्नै बजेटमा प्रतियोगिता गर्न नसक्नु हो ।

सामान्यतया क्यानले आयोजना गर्ने प्रतियोगिताका लागि प्रदेश छनोट केहि दिनमा सम्पन्न हुन्छ । सदस्य जिल्लालाई समूह चरणमा विभाजन गर्दै २-३ खेलको प्रदर्शनका आधारमा प्रदेश टोली छनोट गरिन्छ । प्रदेश संघहरु क्यानले दिने अनुदानमा छनोट आयोजना गर्दै आएका छन् । क्यानको बजेटलाई छाडेर आफ्नै खर्चमा प्रतियोगिता गर्ने नेपालमा निकै कम जिल्ला छन् ।

प्रदेश भने सबै क्यानको प्रतियोगितामा मात्रै सक्रिय हुन्छन् । जसको कारण राष्ट्रिय प्रतियोगितामा प्रदेश टोलीको प्रदर्शन कमजोर हुने गर्दछ । जिल्ला र प्रदेशमा पर्याप्त खेल नहुँदा क्षमता भएका युवा खेलाडी त्यतिकै हराएर जाने गर्दछन् । एक वा दुई खेलमा राम्रो गर्न नसके एक वर्ष पुरै बाहिर हुनु पर्ने बाध्यता छ ।

तर नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएर आएसँगै उनको नेतृत्वमा रहेको समितिले छनोट पद्दतिमा उदाहरणीय प्रयोग अघि सारेका छन् । पराम्परागत छनोट पद्दतिलाई अन्त्य गर्दै बागमतीले घरेलु क्रिकेटमा नयाँ छनोट प्रक्रियाको सुरुवात गर्यो । विगतमा महिला क्रिकेटरले दुई वर्षमा खेल्न नपाउने प्रतिस्पर्धात्मक खेल संख्या, यसपटक बागमतीका खेलाडीले एकै महिनामा खेल्न पाउने भएका छन् । यसले खेलाडीमा यसअघि देखिने म्याच एक्सपोजर र आत्माविश्वासको कमी अन्त्य हुने देखिन्छ ।

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पुष १ देखि काठमाडौंमा सुरु हुँदैछ । बागमतीले घरेलु क्रिकेटको इतिहासमै फरक तरिकाले छनोट गर्ने प्रयास गरेको छ । सुरुमा बागमतीले प्रदेशमा सहभागी काठमाडौं, भक्तपुर, ललितपुर र चितवनबीच सिंगल राउन्ड रोविनको आधारमा चितवनस्थित निर्माणधिन गौतमबुद्ध रंगशालाको नमुना मैदानमा छनोट प्रतियोगिता गरेको थियो ।

प्रदेश छनोटमा सिंगल राउन्ड रोविनका शीर्ष दुई टोलीले फाइनल खेलेका थिए । काठमाडौंले ललितपुरलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो । बागमतीले प्रदेश छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट थप तीन टोली बागमती रेड, ब्ल्यू र ग्रीन गरी राउन्ड रोविनको आधारमा इलिट ट्रफी आयोजना गरेको थियो ।

उक्त प्रतियोगिताबाट शीर्ष खेलाडी छनोट गर्दै बागमती प्रदेशले अब नेपाल एपिएफसँग तीन टि२० खेलको सिरिज पनि खेल्नेछ । खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने र आत्माविश्वास बढाउन कुनै कसर बाँकी राखेको छैन ।

नेपाली क्रिकेट टोलीकी प्रमुख बलर तथा बागमतीकी कप्तान अश्मिना कर्माचार्य प्रदेशको योजना देखेपछि सुरुमा यति धेरै खेल खेल्न नसकिने हो कि भन्ने डर लागेको बताउँछिन् ।

‘एक महिनाको पूरा तालिका थियो । महिला क्रिकेटमा यो पहिलो पटक भएको हो । यो हुँदा सुरुमा खेल्न सकिन्छ कि सकिदैन भनेर आफूलाई नै शंका लागेको थियो । मानसिक रुपमा तयार गरे सकिने रहेछ । यस्तो प्रतियोगिता सबै प्रदेशले आ–आफ्नो ठाउँबाट गर्न सके नेपाललाई धेरै राम्रो हुन्छ । बागमती प्रदेश संघलाई धन्यावाद भन्न चाहन्छु’, अश्मिनाले हाम्रो खेलकुदसँग भनिन् ।

त्यसैमा उनले थपिन, ‘यस्ता प्रतियोगिता अझै धेरै हुनुपर्छ । पहिलो पटक यतिधेरै प्रतिभा देखिएको छ । विकास गर्दै लग्यो भने एक दुई वर्षमा धेरै राम्रो हुन्छ । यतिधेरै खेल नखेलेको भए हाम्रो क्षमता कहाँसम्म छ थाहा हुने थिएन । नयाँ खेलाडीहरुलाई जति धेरै खेल्यो उनीहरुको आत्माविश्वास पनि त्यतिनै बढ्दै जान्छ ।’

युवा विकेटकिपर कन्चन श्रेष्ठले अघिल्लो महिना नेपाली क्रिकेट टोलीमा डेब्यू गरेकी थिइन् । विकेटकिपरमा राम्रो सम्भावना बोकेकी उनी पर्याप्त खेल नहुँदा माथि उठ्न सकेकी छैनिन् । वर्षमा हुने एकमात्रै प्रधानमन्त्री कपमा पनि अपेक्षा अनुसार प्रदर्शन गर्न पाएकी थिइनन् । तर यस पटक पर्याप्त खेल पाउँदा उनको मनोबल फरक भएको बताउँछिन् ।

‘यस खेलबाट हामीले धेरै सिक्यौं । कमजोरीलाई सुधार गर्दै अघि बढ्ने मौका पाएका छौं । यस प्रतियोगितापछि पहिलाको भन्दा राम्रो गर्छु जस्तो लागेको छ । खेलको अवस्था अनुसार कसरी खेल्ने सिकेका छौं’, कन्चनले भनिन् ।

बाागमतीले प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गर्दै छनोट गरेको छ । बागमती प्रदेश खेलकुद परिषदले यस छनोटलाई २५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

‘हामीलाई बागमती खेलकुद परिषद्ले एउटा सिमित बजेट छ भन्नु भएको थियो । त्यसमा सदस्यसचिव सूर्यलाल भण्डारीले ल गरौं न भनेर बजेट राखेपछि विशेषगरि महिला क्रिकेट प्राथमिकतामा नपरेको हुँदा बागमतीबाट नै एउटा उदाहरणको रुपमा काम गरौं भनेर यो प्रतियोगिता आयोजना गरेका हौं’, पारसले भने ।

पारसले खेलाडीहरुले एक वर्षमा नपाएको खेल यस प्रतियोगितामा पाएको बताए । ‘प्रतियोगितामा बहिनीहरुले एक वर्षमा नपाएको खेलहरु यस प्रतियोगितामा खेल्ने मौका पाएका छन् । अनुभवको लागि यो राम्रो पनि हो । हामीलाई जसरी अन्य प्रदेशले पनि परिषदबाट साथ पाउने हो भने चाहे महिला होस् वा पुरुष क्रिकेटमा अलीकति प्राथमिकता राखेर एउटा वातावरण सिर्जन गनुपर्छ । हामीलाई सचिव भण्डारीले क्रिकेटलाई प्राथमिकता दिनु भएको छ । यो एउटा गौरवको कुरा हो’, पारसले भने ।

क्यानले यो पटक देखी महिला प्रधानमन्त्री कप काठमाडौंमा गर्दैछ । पहिलो पटक महिला टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रधानमन्त्री कप खेल्नेछन् ।

‘सर्वप्रथम महिला क्रिकेटमा खेलहरु बढाउनै पर्नेछ । प्रधानमन्त्री कप यस पटक देखी राउन्ड रोविन लिगको आधारमा गर्ने छौं । यस बारे हामी चाँडैनै आधिकारीक रुपमा घोषणा गर्ने छौं । जति धेरै म्याच, त्यति धेरै एक्स्पोजर पाउने हुन् । यहाँ हामीलाई एउटा सजिलो के छ भने तुलनात्मक रुपमा पुर्वाधारहरु पनि छन्’, उनले भने ।

पारस पुरुष क्रिकेटको तुलनामा महिला टोलीलाई ५/१० प्रतिशत पनि लगानी नभएको बताउँछन् । पारस महिला क्रिकेटलाई पनि लगानी गर्न प्रायोजकलाई आग्रह गर्दछन् ।

‘जति क्रिकेट पुरुषमा भएको छ । त्यसको ५-१० प्रतिशत पनि महिलामा लगानी भएको छैन । आशा गर्न छाड्नु हुँदैन भने जस्तै हाम्रा प्रायोजकहरुलाई मेरो व्यक्तिगत आग्रह पनि हो, महिला क्रिकेटलाई पनि साथ दिन जरुरी छ । यो क्षेत्रमा धेरै क्षमता र सम्भावना छ’, पारसले भने ।

‘महिला क्रिकेटलाई अहिले अपेक्षा भन्दा पनि रमाउने सोचेका छौं । किनभने १५ वर्षअघि मैले क्रिकेट सुरुवात गर्दा २००७, २००८ कुनै भविष्य थिएन । कसैले चिन्ने पनि खासै थिएन । आउँथ्यौ, खेल्थ्यौं र जान्थ्यौं । नेपाली क्रिकेटको खेलाडी भनेर कमैले चिन्थे । अहिले महिला क्रिकेटको अवस्था पनि त्यही छ । अव यसलाई कसरी निरन्तरता दिने भन्ने पनि छ । यसले आत्माविश्वास बढ्नेछ । जित्ने वा हार्ने सोच्ने छैनौं । अहिलेलाई हामीले दिनसक्ने सेवा सुविधा थपिन दिने छौं । आगामी दिनमा डेढ वर्षपछि विकास गर्दै पुरुषसँगै अघि बढ्ने छौं’, पारसले भने ।

बागमती प्रदेश खेलकुद विकास परिषदले साथ नदिएको भए यो गर्न सायद यो सम्भव थिएन । पछिल्लो समय बागमती प्रदेश खेलकुदका सदस्य सचिव सूर्यलाल भण्डारीले क्रिकेटमा राम्रो साथ दिएका छन् । गत वर्ष बागमतीले हङकङसँग सिरिज खेल्दा पनि खेलकुद प्रदेश परिषदले आर्थिक सहयोग गरेको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले महिला क्रिकेटमा ठूलो सम्भावना भएको बताउँछन् ।

‘सिनियर टोली विश्वकपमा पुगि सक्यो । मैले महिला क्रिकेटमा झनै बढी सम्भावना देखेको छु । बागमती प्रदेशको राम्रो टिम भयो भने आगमी दिनमा नेपाली महिला क्रिकेटलाई राम्रो सहयोग गर्न सक्छ । त्यही भएर महिला खेलाडीको लागि अली बढी ध्यान दिएका छौं’, भण्डारीले भने ।

July 15, 2025

एसपिएलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – सातौं मेयर कप सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल समीकरण पूरा भएको छ। सप्तरीको राजविराजमा जारी एसपिएलको मंगलवारको नतिजापछि सेमिफाइनल समीकरण पूरा भएको छ। आजको खेल जित्दै कन्चनरुप राइनोज समूह ‘ए’ को तथा खडक वारियर्स समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेका हुन्। पबी स्कुलमा भएको पहिलो खेलमा हनुमाननगर हिरोजलाई […]

July 15, 2025

दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई हरायो

एजेन्सी – दक्षिण अफ्रिकाले घरेलु टोली जिम्बाब्वेलाई त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा पराजित गरेको छ । जिम्बाब्वेको हारारे स्पोर्टस क्लबमा सोमवार भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भयो । सिरिजमा न्युजिल्याण्ड पनि सहभागी छ । १ सय ४२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको […]

July 15, 2025

टेस्ट सिरिजमा अस्ट्रेलियाको क्लिन स्विप

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप गरेको छ । तेस्रो टेस्ट मंगलवार सहजै जितेपछि अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मात्र २७ रनमा अल आउट भयो । जस्टिन ग्रेभ्स सर्वाधिक ११ रनमा आउट भए । ७ ब्याटर रनको खाता नखोल्दै […]

Success

Thank you for your time.