default_image

4 months ago

June 29, 2024

भारतलाई टि-ट्वान्टी विश्वकप उपाधि 

1776 views

0 Bookmark

एजेन्सी –  भारतले आइसीसी टि-ट्वान्टी विश्वकप २०२४को उपाधि जितेको छ ।

बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टि-ट्वान्टी विश्वकपको उपाधि जितेको हो ।  

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । 

भारतको यो दोस्रो टि-ट्वान्टी विश्वकप उपाधि हो । २००७को पहिलो संस्करण जितेयता भारतले उपाधि जित्न सकेको थिएन । यस्तै भारतले ११ वर्षको आइसीसी उपाधिको खडेरी समाप्त गरेको छ ।   

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । तर पहिलो बलमा नै डेविड मिलर आउट भए । लङ अफ बाउण्ड्रिमा सूर्यकुमार यादवले सानदार क्याच गर्दै उनलाई पेभेलियनको बाटो देखाएका थिए ।  

दोस्रो बलमा कागिसो रबाडाले चौका प्रहार गरे । तेस्रो बलमा १ बाइ रन आयो । चौथो बलमा केशव महाराजले १ रन लिए । त्यसपछि हार्दिक पान्ड्याले वाइड बल गरे । २ बलमा ९ रन चाहिएकोमा पाँचौं बलमा रबाडा आउट भए । सो विकेट पछि खेल दक्षिण अफ्रिकाको हातबाट टाढा गएको थियो ।  

दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन । जसप्रित बुम्राहको दोस्रो ओभरमा ओपनर रिजा हेण्ड्रिक्स ४ रन बनाएर बोल्ड भए । तेस्रो ओभरमा कप्तान एईडन मार्क्रम ४ रन बनाएर अर्शदीप सिंहको शिकार बने ।

५८ रनको साझेदारी पछि तेस्रो विकेट अक्षर पटेलले लिए । नवौ ओभरमा उनले ट्रिस्टन स्टब्सलाई बोल्ड गरेका थिए । स्टब्सले २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रन बनाए । 

चौथो विकेटका रुपमा क्विन्टन डि कक ३१ बलमा ३९ रन बनाएर १३औ ओभरमा आउट भए । उनलाई आर्शदीप सिंहले आउट गरेका थिए । क्लासेन २७ बलमा २ चौका र ५ छक्का सहित ५२ रन बनाएर १७औ ओभरको पहिलो बलमा पेभेलियनको बाटो लागे । १८औ ओभरमा बुम्राहले मारको यान्सनलाई २ रन बनाएको अवस्थामा बोल्ड गरे ।

भारतका लागि हार्दिक पान्ड्याले ३ विकेट लिए । बुम्राह र अर्शदिप सिंहले समान २ विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो ।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाए । सुरुवाती ३ विकेट सस्तैमा गएपछि उनले इनिङ सम्हाल्दै राम्रो इनिङ खेलेका थिए ।

इनिङको दोस्रो ओभरमा नै भारतले सुरुवाती दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमै बायाँ हाते स्पिनर केशव महाराजलाई दक्षिण अफ्रिकाले बलिङमा ल्याएको थियो । सो ओभरमा उनले भारतका उच्च लयमा रहेका कप्तान रोहित शर्मा र ऋषभ पन्तलाई पेभेलियन फर्काएका थिए । रोहितले ५ बलमा ९ रन बनाउँदा ऋषभ भने शून्यमा आउट भएका थिए ।

सुर्यकुमार पाँचौं ओभरमा रबाडाको शिकार बने । सर्ट बलमा उनी हेनरिक क्लासेनद्वारा ३ रन बनाएको अवस्थामा क्याच आउट भएका थिए । चौथो विकेटका लागि विराट र अक्षर पटेल मिलेर ७२ रनको साझेदारी गरे । सो साझेदारी अक्षर १४औं ओभरमा रनआउट हुँदा टुटेको थियो ।

अक्षर ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाएर क्विन्टन डीककद्वारा रनआउट भएका थिए । कोहली पाँचौं विकेटको रूपमा मार्को यानसनको शिकार बने ।

शिभम दुबे १६ बलमा २७ रन बनाएर अन्तिम ओभरको चौथो बलमा आउट भए । रवीन्द्र जडेजा पनि २ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । यस्तै एनरिक नोर्टजेले पनि ४ ओभरमा २६ रन दिएर २ विकेट नै लिए । १-१ विकेट मार्को यानसन र कागिसो रबाडाको नाममा रह्यो ।

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.