default_image

6 years ago

April 21, 2020

‘नेपाली क्रिकेटको पहिलो कप्तान बनें’ – उत्तम कर्माचार्य

422 views

0 Bookmark

कप्तान कथन

उत्तम कर्माचार्य (पूर्व कप्तान,नेपाली राष्ट्रिय क्रिकेट टोली)

मेरो जन्म २०१९ साल माघ ३ गते जनकपुरमा भएको हो । त्यति बेलाको बस्ती निकै पातलो थियो । मैले १३–१४ वर्षदेखि क्रिकेट खेल्न थालेको थिएँ । सिनियर दाइ कल्याण प्रसाद उपाध्याय, बञ्चु कोइराला भारतबाट पढेर आउँदा क्रिकेट पनि सिक्नु भएको थियो । उहाँहरु मेरो घरकै छेउमा रहेको बाह्रबिघा मैदान खेल्नुहुन्थ्यो । उहाँहरुको देखासिकी गरेरै खेल्न सुरु भयो ।

म क्रिकेट खेल्दा नेपालमा राष्ट्रिय स्तरका कुनै पनि प्रतियोगिता हुँदैन थिए । कुनै कुनै जिल्लाले क्लब स्तरीय प्रतियोगिता गर्थे । त्यतिबेला मैत्रीपूर्ण खेलको चलन थियो । राजविराज, विरगन्ज र भारतमा गएर खेल्थ्यौं र उनीहरुलाई यता बोलाउथ्यौं । उनीहरु आएर एकदिन खेलेपछि फर्किन्थे । हामी पनि खेल्न जान्थ्यौं र एकदिन खेलेर फर्कन्थ्यौं ।

त्यतिबेला ब्याट-बल पाउन निकै गाह्रो । सुरु सुरुमा कपडाको बल र काठको ब्याट बनाएर खेलियो । त्यसपछि कक बल खेल्यौं । कक आक्रामक सट हान्दा दुई टुक्रा पनि हुन्थ्यो । त्यति बेला त्यो बल बलियो खालको पाइन्थ्यो । मुसाले नकाटे भने टिक्थ्यो । ब्याट काठको बनाउँथ्यौं । कहिले काहिँ दाइहरुले ल केटाहरु खेल भनेर दिनुहुन्थ्यो । घरमा हामीलाई मुङ्ग्रो र लठ्ठी लिएर हिड्यो भन्थे । क्रिकेट त्यसरीनै खेल्यौं ।

विरगन्जतिर क्रिकेट प्रतियोगिता सुरु हुँदा २०३३–३४ साल तिर जस्तो लाग्छ । दाईहरुले भारतबाट पढेर आउँदा कहिले काहिँ खेल्न दिएको अवस्थामा ब्याट छुन पाइन्थ्यो । जनकपुरमा ब्रह्मपुरी भन्ने एउटा टोल छ । त्यहाँका सिनियर दाईहरु खेल्नुहुन्थ्यो । मेरो घरबाट नजिकै थियो । क्रिकेटका सबै खेल त्यहाँ हुन्थे ।

२०३७ साल देखि काठमाडौंमा जय ट्रफि सुरु भयो । राष्ट्रिय खेल हुँदा १०–११ जना त हामी एकै टोलका थियौं । बाहिरकाले खेल्दा पनि खेल्दैनथे । त्यो बेला जनकपुरमा पनि खासै क्रिकेट हुँदैन थियो । विस्तारै क्रिकेट हुन थालेपछि स्कोप बढेको थियो । दामोदर गौतम, दिपक कोइराला, नविन सिंह,सञ्जय ठाकुर लगायतका हामी सबै मिल्ने साथी थियौं । हामीले सँगै २०३७ देखी २०४४–४५ सम्म राष्ट्रिय प्रतियोगिता पनि खेल्यौं । उहाँहरुले विस्तारै छोड्दै जानुभयो ।

एक दुइ जना बजारका हुँदा अरु सबै एकै टोलका हुन्थ्यौं । मैले जय ट्रफी अन्तिमसम्म खेले । २०५८ सालमा जय ट्रफि अन्तिम पटक भएको थियो । पहिलो पटक राष्ट्रिय टोलीको छनोट बाह्रविघामा क्लबस्तरीय प्रतियोगिता गर्दै छनोट भएको थियो । पाँच छ वटा क्लब थिएँ । त्यसैको आधारमा खेलाडी छनोट भए । २०३७ सालमा दिपक दाईको कप्तानीमा खेले । २०३८ सालमा कल्याण प्रसाद शर्मा कप्तान हुनु भयो । २०३९ साल देखि मैले कप्तानी गरे । २०५३ सालमा नेपालको कप्तान भए । २०५५ मा कप्तानी छोडे । २०५८ सम्मै जय ट्रफी खेले ।

२०५३ मा वैशाखमा भएको जय ट्रफीको प्रर्दशनको आधारमा विरगन्जमै राष्ट्रिय क्याम्प लागेको थियो । त्यो पनि वर्षाको समय हुँदा राम्रो हुन पाएन । प्रशिक्षकमा नेपालबाट अरुण अर्याल र दिल्लीबाट विरेन्द्र भटनाघर थिए । म सँगै मनिषराज पाण्डे, पवन अग्रवाल, राजु खड्का, सञ्जय गुरुङ, जगत टमटा, लेख बहादुर (एलबी) क्षेत्री लगातका खेलाडी टोलीमा थियौं । मलेसियामा भएको प्रथम एसिसी ट्रफि इलेट कप नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलबाट औपचारिक सुरुवात गर्दा मैले कप्तानको जिम्मेवारी पाएँ ।

लिगमा हामीले बंगलादेश, फिजि, जापान, हङकङ, बुनाईसँग खेलेका थियौं । जापनलाई ८ हो की ९ विकेटले हरायौं । बुनाईलाई पनि हरायौं । अरुसँग भने हार्यौ । पहिलो पटक नयाँ ठाउँ भएकोले ध्यान त्यतै थियो । सबै उत्साहित र खुसी थिए । यो नेपालको औपचारिक अन्तर्राष्ट्रिय खेल थियो । त्यो भन्दा पहिलानै २०४५ सालमा काठमाडौं–११ बाट थाईल्यान्डको बैंकक गएको थिएँ । त्यहिबाट मैत्रीपुर्ण खेल खेल्न बंगलादेश पनि गयौं ।

२०४६ सालमा दिल्लीमा इन्डियन रेल्वे कन्ट्रसनले हामीलाई खेल्न बोलायो । त्यतिबेला श्रीनिवास राना कप्तान र म उप कप्तान थिएँ । टिम नेपाल भरबाट छनोट भएपनि नाम काठमाडौं–११ थियो । ८ जनाको छनोट भएको थियो । सिक्सर साइट प्रतियोगिता खेल्न गएका थियौं । सुरु सुरुमा टोलीमा परिदैन कि भन्ने डर लाग्थ्यो । नेपालमा त्यस्तो खेल कहिल्यै भएको थिएन । पछि त्यो यस्तो खेल रहेछ । पाँच छ जना फिल्डर कुदेको कुदै गर्नु पर्ने । पछि त प्लेइङ ११ मा नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । जुन खेल खेल्न भारतका सुनिल गवस्करसँगै पाकिस्तानका टेष्ट र एक दिवसिय खेलेका खेलाडी विभिन्न क्लबबाट खेलेका थिएँ । टोली र हामी सबैले साह्रै रमाइलो गर्यौं । नाम चलेका ठूला खेलाडी हुँदा अनुभव पनि राम्रो भयो ।

५३ सालमा नेपालको कप्तान भएको म २०५५ सालमा काठमाडौंमा भएको एसिसी ट्रफीमा थिइन । कर्मचारीको हिसाबले बाहिर गएको हुँदा छनोट भएन । २०५७ सालमा भने राम्रो खेल्दा खेल्दै पनि परिन । तीन चरणमा छनोट भएको थियो । राजविराजमा भएको पहिलो चरणमा तीनै खेलमा मैले अर्धशतक हानें । दोस्रो चरणमा भएको बन्द प्रशिक्षणमा पनि राम्रो खेले । १८,२० जनाबाट फेरि क्लोज क्याम्प भयो । त्यसमा पनि राम्रो गर्दा गर्दै टोलीमा नपर्नु मेरो क्रिकेट करिअरको अलि तितो नमिठो पल हो ।

पछि दीपेन्द्र चौधरी घाइते भएपछि म उसको स्थान लिएँ । तर म सुरुमै हुुनु पर्थ्यो । त्यतिबेला दुई –दुई वर्षमा हुने एसिसी ट्रफी मात्र अन्तर्राष्ट्रिय खेलका रुपमा खेल्थ्यौं । पछि आइसिसीको खेल खेल्न थालेपछि अलि व्यस्तता बढेको हो । पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैमा म ३४ बर्ष थिए । ३६ वर्षको हुँदा छनोट भइन । ३८ बर्षमा अन्तिम खेल खेले ।

त्यो बेला क्रिकेटबाट जीवन पालिने अवस्था थिएन । जति पनि क्रिकेट खेलियो सबै सोखले खेलियो । त्यति बेला हामी सबै खेल खेल्थ्यौं । क्रिकेट, फुटबल, एथ्लेटिक्स सबै । वर्षाको समयमा क्रिकेट हुँदैन थियो । त्यो समय अर्को खेल खेलिन्थ्यो । खेल्दै गर्दा क्रिकेटमा लत बस्यो । क्रिकेटबाट केहि हुने थिएन । मैले ३८ सालमा पढाईको आधारमा जनकपुर चुरोट कारखानामा जागिर खाएको थिएँ ।

कारखानाले पनि २०४० साल पछि क्रिकेट टिम राख्यो । देवेन्द्र बहादुर शाह अध्यक्ष हुँदा क्रिकेटको टिम बनाउनु भयो । उहाँले क्रिकेटमा धेरै रुचि राख्नुहुन्थ्यो । जसले त्यो समय जनकपुरमा क्रिकेट झनै फस्टाँयो । भन्सार भन्दा बलियो चुरोट कारखाना थियो । सामानको कुनै चिन्ता थिएन । काठमाडौं खेल मण्डलले गराउने प्रतियोगिता हामीले लगातार तीन पटक उपाधि जित्यौं । भारतमा गएर पनि जित्यौं । २०४६ सालमा बहुदल आएपछि जनकपुर क्रिकेट कारखानाको अवस्था राम्रो भएन । प्राय सबै घरेलु प्रतियोगिता जनकपुरबाटै खेले ।

म पहिलो पटक असिस्टेन म्यानेजर भएर जादा थाईल्यान्डमा पहिलो पटक भएको महिला यू१९ प्रतियोगितामा नेपालले जित्यो । सन् २०१२ मा यूएईमा भएको एसिसी कपमा नेपाल संयुक्त विजेता हुँदा टिम म्यानेजर थिएँ । नेपालले बंगलादेशमा ऐतिहासिक टि२० विश्वकप खेल्दा म टिम म्यानेजर थिएँ । ब्याडलक बंगलादेशसँग अलिकति रन रेट बढाउन नसक्दा दोस्रो चरणमा पुग्न सकेनौं । तर प्रर्दशन भने धेरै राम्रो भएको थियो । यीनै क्रिकेटबाट पाएका खुसीका पल हुन् ।

क्रिकेटबाट हाम्रो समयका कुनै पनि खेलाडीले नाम र इज्जत बाहेक अरु केहि पाएनन् । अहिले त धेरै फरक छ । नेपाल जस्तो देशमा अहिले सबै किसिमको सुविधा छ । त्यति बेला कार्पेटको जमना थियो । हुन त अहिले पनि धेरै ठाउँमा कार्पेटमै हुन्छ । पहिला कार्पेट बोकेर हिड्नु पर्थ्यो । खेल सुरु हुनुअघि आधा एक घण्टा अघि गएर खेलाडीले आफैं मैदान र पिच तयार पारेर खेल्थ्यौं । माटो र इट्टा चोरेर ल्याउनु पर्ने ।

आर्थिक अवस्था टिमको त राम्रो थिएन नै व्यक्तिगत उठाएर साध्य हुँदैन थियो । छेउछाउमा जसको घर बन्थ्यो उसैको इट्टा चोरिन्थ्यो । अहिले त पुरै तयार भएको मैदानमा खेलाडी खेल्छन् । राम्रो खेल्न सक्नेले प्रायोजन पाउँछन् । फ्रेन्चाइज लिगबाट धेरै खेलाडी धानिएका छन् । त्यसले आर्थिक पक्ष बलियो बनाउँदै लगेको छ ।

अझ ७० साल देखी संघले मासिक तलब दिदै आएको छ । एकेडेमी छन् । म सिक्न चाहन्छु भन्नेलाई प्रशस्त ठाउँ छ । हाम्रो पालामा कपडाको बल र बासको लठ्ठीको स्टम्प हुन्थे । त्यति बेला हामीलाई लुगा जुत्ता किन्न ६ सय रुपैयाँ दिन्थें । चाइनिज जुत्ता सोल नभएर लगाएर खेलियो । अहिले राम्रोे खेल्ने खेलाडीले सबै सेवा सुविधा पाउँछन् । कुनै चिन्ता लिनु पर्दैन । सन्दीप लामिछानेले विदेशी लिगमा पनि राम्रो गरेको छ ।

मेरो क्रिकेटप्रति कुनै गुनासो छैन । सबैले राम्रो खेलुन् । नेपाली क्रिकेटको राम्रो होस् । अझ माथि जाओस् । सबै अनुशासित भएर खेलुन् । हामी त्यतिबेला जस्तो अवस्था थियो त्यस्तै क्रिकेट खेल्यौं । मेरो पालमा ब्याट पाइँन, यस्तो पाएन उस्तो पाएन भन्नु बेक्कार हो । एउटा के भने नेपाल क्रिकेट संघले पूर्व कप्तानलाई पनि केहि आर्थिक सहयोग भने गर्नु पर्ने हो जस्तो लाग्छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि फुटबल टोलीका कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.