6 years ago
April 23, 2020
कप्तान कथन
पवन अग्रवाल (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व–कप्तान)
म सानै देखि क्रिकेट खेल्थें । ठ्याक्कै उमेर र साल याद भएन । कलैयाको राजदेवी टोल थियो, हामी त्यहाँ नै क्रिकेट खेलेर हुर्कियौं । मैले क्रिकेट खेल्दा कलैयाको अवस्था राम्रै थियो । कलैया क्रिकेट क्लब भएको हुँदा सहज थियो । क्लबमा सिनियर दाईहरु खेलिरहनु हुन्थ्यो । उहाँहरुले खेलेको देख्दा खेल्न मन लाग्थ्यो ।

(तस्बिर – पवन अग्रवाल र मनिषराज पाण्डे सन् १९९६ मा ओपनिङ गर्न जाने क्रममा। स्रोत: पवन अग्रवाल)
केटाकेटीमा घरमा खासै केहि भन्नु भएन । क्रिकेट बढी खेल्न थालेपछि केहि गाली गर्नुहुन्थ्यो । क्रिकेट मात्र होइन खेलकुद त्यो बेला प्राथमिकतामै थिएनन् । घरबाट गालि सुनिन्थ्यो अनि फेरि खेल्थ्यौं । यो क्रम चलिरहन्थ्यो । त्यो बेला क्रिकेट खेल्दा ब्याट बल ठिकठिकै स्तरका थिएँ । कक बलले खेल्थ्यौं । कलैया क्रिकेट क्लबमा कम स्तरका सामग्री हुन्थ्यो । स्कुलको मैदानमा खेल्थ्यौं ।
यसो विचार गर्ने हो भने पहिला कलैयामा पाउने र अहिले काठमाडौं बाहेक अन्य ठाउँमा पाउने स्ट्रक्चरमा खासै धेरै फरक छैन । पिच आफैं बनाउँथ्यौं । म्याटिङ विकेट हुन्थ्यो । क्रिकेटमा कसरी लागें भन्ने ठ्याक्कै मलाई थाहा छैन । खेल्न त अरु पनि नखेलेको होइन । तर क्रिकेट सबैभन्दा बढी खेलिन्थ्यो ।
मैले सुरुवात गर्दा घरेलु प्रतियोगिता थोरै हुन्थ्यो । त्यो बेला काठमाडौं खेल मण्डलले एउटा प्रतियोगिता गराउँथ्यो । त्यो खेल्ने बढी इच्छा हुन्थ्यो । राष्ट्रिय (नेशनल) प्रतियोगिता हरेक वर्ष हुन्थ्यो । पहिला ७ वटा अञ्चलको हुन्थ्यो । पछि जिल्ला स्तरमा हुन थाल्यो । तराई भागमा अलि बढी प्रतियोगिता हुन्थे । जनकपुरले गराउँथ्यो । हामी पनि गराउँथ्यौं । विराटनगर, भैरहवा लगातका ठाउँमा लगभग वर्षको एउटा प्रतियोगिता हुन्थ्योनै । त्यो बाहेक हामी भारतको बिहार नजिकै हुँदा बढी खेल्न जान्थ्यौ ।
जय ट्रफी मैले पहिलो पटक २०४६ सालमा खेलेको थिएँ । सन् १९९६ सायद नेपालीमा ५१-५२ साल होला । त्यो समय नेशनल खेल खेल्दा हामीलाई मलेसियामा नेपालले एउटा प्रतियोगिता खेल्न जाँदैछ भन्ने थाहा थियो । पहिला एउटा नेशनल प्रतियोगिताबाट खेलाडी छनोट हुन्थ्यो । जसले राम्रो खेल्यो त्यसैबाट टोली बनाउने चलन थियो । छनोट अहिले जस्तो होइन ।

अहिले राष्ट्रिय प्रतियोगिता खेलेपनि नखेलेपनि नेपालबाट खेल्न पाइन्छ । त्यो बेला नेशनल (राष्ट्रिय) प्रतियोगिता नखेलेको खेलाडी नेपालबाट खेल्न पाउँदैन थियो । नेशनल खेल्नै पर्थ्यो र प्रर्दशन अनिवार्य थियो । त्यसमा मेरो प्रर्दशन ठिकै थियो र क्याम्पमा परे । जसमा २४–२५ जनाको विरगन्जमै प्रशिक्षण भएको थियो । क्याम्पमा परेपछि टोलीमा पनि परे । मलेसियामा सन् १९९६ मा भएको पहिलो एसिसी ट्रफि नेपालको पहिलो औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
त्यो बेला हरेक दुई वर्षमा हामी एसिसी ट्रफी खेल्थ्यौं । अहिले जस्तो प्रतियोगिता हुँदैन थियो । सन् १९९८ मा काठमाडौंमा भएको एसिसी ट्रफिमा मैले उप कप्तानको जिम्मेवारी पाएँ । सन् २००० मा म नेपालको कप्तान बने । युएईमा भएको एसिसी ट्रफिमा मैले कप्तानी गरिरहँदा नेपाल पहिलो पटक सेमिफाइनलमा पुग्यो । तर हङकङसँग पराजित हुन पुग्यौं ।
त्यो बेला पहिलो पटक नेपालले खेलेको खेल प्रत्यक्ष्य प्रसारण इएसपिनबाट भएको थियो । पहिलो पटक हामीले खेलेको खेल प्रत्यक्ष प्रसारण होला भनेर कहिल्य सोचेका थिएनौं । हामी क्रिकेट खेल्दा केहि थिएन । नेपाल टोलीबाट पनि खेलिन्छ कि खेलिदैन भन्ने केहि थाहा थिएन । नेपालबाट खेलेर विदेश गइयो । त्यो नै ठुलो कुरा हो । हाम्रो खेल लाइभ (प्रत्यक्ष प्रसारण) होला भनेर कहिल्य सोचिएको थिएन ।
एसिसीले सुरुवात देखिनै सेमिफाइनल र फाइनलको प्रत्यक्ष प्रसारण गर्थ्यो । सेमिफाइनलमा पुगेपछि हामी एक्साइटेड थियौं । खेलको लाइभ हुँदा छुट्टै किसिमको अनुभव थियो । नर्भस पनि भयौं । प्रदर्शन गर्नुपर्ने अलि दबाब पनि बढ्यो । किनभने हामीले खेलेको प्रत्यक्ष प्रसारण हुँदा सबैले देख्थे, हेर्थे । त्यसलै पनि हामीले सोचे अनुसार खेलमा प्रर्दशन गर्न सकेनौं ।
मेरो करिअरको उत्कृष्ट प्रर्दशन सन् १९९६ मा ब्रुनेईसँग अन्तिम विकेटका रुपमा आउट हुनुअघि ८० रन बनाएको थिएँ । म ओपनरको रुपमा गएको थिएँ र एकतर्फबाट विकेट गएपनि मैले राम्रो रन बनाउन सफल भए । २००१ मा क्यानडामा आइसिसी ट्रफी खेल्दा जमर्नीलाई अन्तिम ओभरमा जितको लागि ३ रन चाहिँदा हामीलाई १ विकेटको आवश्यक थियो । मैले बलिङ गर्दै विकेट लिएर खेल जिताएँ । त्यो पनि एउटा अविस्मरणीय प्रर्दशन मान्छु ।

मैले सुरुवातमा क्लबमा ओपनिङ ब्याट्सम्यान भएर गरे । मिडिल अडर (मध्यक्रम) मा पनि खेले । १९९६ मा सुरुवाती दुई खेल ओपनिङ गरिन । अन्तिम तीनमा गरेको थिएँ । मेरो विचारमा एउटा राम्रो ब्याट्सम्यानलाई ओपनिङमा खेल्न जहिले पनि सहज हुन्छ । किनभने ओपनिङमा कुनै दबाब हुँदैन । ओपनरले आफ्नो खेल खेल्न पाउँछ ।
देशको कप्तानी गर्नु गर्वको कुरा हो । देशलाई नेतृत्व गर्न पाउनु निकै ठूलो कुरा हो । सबैले यो मौका पाउदैनन् । कप्तानी गर्ने धेरैले प्रयास गरेका हुन्छन् तर पाउने एउटाले हो । म भाग्यमानी थिएँ, नेपालको नेतृत्व गर्न पाएँ । त्यो सबैभन्दा ठुलो उपलब्धि र गर्वको कुरा हो । युएईमा मेरो कप्तानीमै खेल्दा १ सय ७५ जति रन बनाएका थियौं ।
युएईले लक्ष्य पछ्याउने क्रममा ४० ओभरमा १ सय ५० रन बनाउँदा ५ विकेट गुमाएको थियो । अन्तिम १० ओभरमा २५ रन चाहिने हुँदा सबै थकित थिए । सबै खेलाडीलाई बोलाएर भने अझै पनि समय छ । प्रतिस्पर्धा गर्दै अन्तिमसम्म खेललाई लैजान सक्छौं भनें । नभन्दै खेल अन्तिम ओभर सम्म पुग्यो । ४ विकेट लिन सफल भएपछि यूएईलाई धौधौ भयो । तर अन्तिममा उनीहरुले १ विकेटले जिते । हामीले नजिते पनि खेल रोमाञ्चक थियो । त्यो लाइफ (जीवन) को ठुलो पाठ हो । अन्तिम सम्म प्रतिस्पर्धा गर्न छाड्नु हुँदैन भन्ने पाठ सिकायो ।
घरेलु प्रतियोगिताको रुपमा भैरहवामा भएको जय ट्रफी सन् १९९८ मा बारा जिल्लाले जित्दा म कप्तान थिएँ । बारा जिल्लाले पहिलो पटक जितेको हुँदा कप्तानको रुपमा त्यो पनि ठूलो क्षण मान्नुपर्छ । बारा जिल्लाको कप्तानी थालेको ठ्याक्कै याद भएन । तर मैले ५–६ वर्ष मज्जाले कप्तानी गरे । क्रिकेट करिअरमा अलिकति चित्त नबुझेको कुरा म सन् २००० मा कप्तान थिएँ । तर २००१ मा क्यानडा आइसिसी ट्रफिको म टोलीमा परिन । पछि चार जनाले भिषा नपाएपछि म गएँ ।
त्यो बेला म टिममा नपर्नुको कारण भने देखेको थिएन । जस्ले गर्नुभयो, उहाँले देख्नु भयो होला । म ६ महिना अघि कप्तान थिएँ । ६ महिनामा त्यति प्रर्दशन पनि खस्केको थिएन । त्यो बेला अलि नराम्रो लागेको थियो । क्रिकेटले मलाई धेरै सिकायो । नेतृत्व गर्ने क्षमता सिकायो । क्रिकेटले मिहिनेत गरे नतिजा आउँछ भन्ने सिकायो । सबैभन्दा ठुलो कुरा त टिममा प्लेयर कसरी हुने भन्ने सिकायो ।

(तस्बिर : क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान त्रय एलबी क्षेत्री, उत्तम कर्माचार्य र पवन अग्रवाल (दायाँबाट) )
मलाई लाग्छ खेलकुदले मलाई मात्र होइन सबैलाई सिकाउँछ । कसैले सिक्छन् कसैले सिक्दैनन् । टिम खेलले धेरै कुरा सिकाउँछ । क्रिकेटको रहर पूरा भयो । क्रिकेट मैदानमा छिरेपछि छुट्टै आनन्द आउँथ्यो । त्यो भन्दा ठुलो कुरा अरु हुन सक्दैन । सबैभन्दा ठुलो कुरा मैले नेपालबाट खेल्न पाएँ । म भन्दा सिनियरले त त्यो पनि पाउनु भएन ।
नेपालको नेतृत्व गर्न पाएँ । क्रिकेट प्रति कुनै गुनासो छैन । बाँकी कुरा मान्छेलाई जति भएपनि पुग्दैन । मलाई खासै अन्य काम गर्नुपर्ने जरुरी थिएन । परिवार भगवानको कृपाले राम्रै थियो । कहिले काहिँ हाम्रो फ्याक्ट्रीमा जान्थें । फुलटाइम (पुरा समय) केहि गरिन । क्रिकेट छाडेपछि बैकिङ क्षेत्रको जागिरमा लागे ।
पहिलाको तुलनामा क्रिकेटमा अहिले धेरै स्कोप छ । पहिला हामी खेल्दा थिएन । हामी खेल्दा क्रिकेट त्यति बुझ्दैन थिए । फ्यान फलोइङ थिएन । राखेपमा नजर पर्ने कुरै भएन । क्रिकेटलाई सबैभन्दा तल राखिन्थ्यो । फुटबल, मार्सआर्ट्स, करांते माथि हुन्थे । अहिले क्रिकेट नम्बर वान बनेको छ । यो एउटा ठूलो फरक हो ।
पहिला भन्दा अहिले धेरै सुविधा छ । मैले त ४ वटा मात्र प्रतियोगिता खेलेको थिएँ । अहिले वर्षको ५-१० वटा खेल्छन् । एक्सपोजर छ । सबै कुरा फरक छ । आज राम्रो खेल खेल्यो भने खेलाडी स्टार हुन्छ । राम्रो खेल्न सके जीविका धान्न सकिन्छ । त्यो बेला पटक्कै थिएन । क्रिकेट खेल्नुस् । सिरियस (गम्भीर) रुपमा खेल्नुहोस् । के पाएँ भन्दा पनि आनन्द लिनुहोस्, रमाउनुहोस् अनि सबै पाउनुहुन्छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]