2 years ago
April 1, 2023
उत्सव शाक्य, काठमाडौं
शुक्रबार पार-६८ रोयल नेपाल गल्फ क्लबमा भएको सूर्य नेपाल च्यालेन्ज जितेर एमेच्योर गल्फर सद्भाव आचार्य प्रतिष्ठित सूर्य नेपाल गल्फ टुरको सबैभन्दा कान्छो च्याम्पियन बनेका छन् ।
१६ वर्ष १० महिनाको उमेरमा सद्भावले आफ्नो पहिलो ठूलो उपाधि जिते हालका शीर्ष एमेच्योर गल्फर सुभाष तामाङले राखेको अघिल्लो कीर्तिमान तोडे । सुभाषले यसअघि १६ वर्ष ११ महिनामा सूर्य नेपाल च्यालेन्ज जितेर सूर्य नेपाल गल्फ टुरको कान्छो च्याम्पियनको कीर्तिमान बनाएका थिए ।
सद्भावले सूर्य नेपाल गल्फ टुर २०२२-२३ को छैटौं इभेन्ट अन्तर्गत अन्तिम दिन चार अन्डर ६४ को प्रदर्शन गर्दै कुल तीन अन्डर २६९ को स्कोरसाथ उपाधि जिते । यो प्रदर्शन अघिल्लो दिन अग्रतामा रहेका तथा साविक विजेता भुवन नगरकोटीमाथि २ स्ट्रोकको जित हासिल गर्न पर्याप्त थियो ।
सद्भावले ६९, ६६, ७० र ६४ को प्रभावशाली प्रदर्शन गर्दै सबै व्यावसायिक गल्फरहरूलाई पछि पारे । अन्तिम दिन वर्षाले बाधा पुर्याएपनि सद्भाव १६ वर्षको उमेरमा व्यावसायिक गल्फ टुरको उपाधि जित्न सफल भए । “यस जितले मेरो मनोबल बढाएको छ, र म भविष्यमा हुने प्रतियोगिताहरु पनि जित्नेमा विश्वस्त छु,” उनले भने।
उनले थपे, “म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु । पहिलो पटक प्रो इभेन्टमा प्रो हरुलाई हराउनु र त्यो पनि अन्तिम दिनको अवस्थामा २ स्ट्रोकले जित्नु सहज थिएन ।”
सद्भावको गल्फप्रतिको प्रेम सानै उमेरमा सुरु भयो । बुबा दीपक आचार्य आफैं एक उत्कृष्ट व्यावसायिक गल्फर हुन् त् हजुरबुबाबाट पनि सद्भाव प्रेरित भए । “मैले गल्फ खेल्न सुरु गर्दा ४ वर्षको थिएँ,” उनले आफ्नो सुरुका दिनहरू सम्झी ।
सद्भावले ११ वर्षको उमेरदेखि व्यावसायिक गल्फर बन्ने चाहना राखेका थिए । “मेरो बुवाले मलाई ११ वर्षको हुँदा मास्टर्स प्रतियोगितामा टाइगर वुड्सले ग्रिन बाहिरबाट चिप गरेको भिडियो देखाउनुभयो र त्यसपछि मलाई व्यावसायिक गल्फर बन्न प्रेरित गर्यो । टाइगर वुड्सले मलाई प्रेरणा दिनुभयो, र म ठूलो भएपछि उनको स्तर पार गर्ने आशा गर्छु, ”सद्भावले आफ्नो भविष्यका योजनाहरूको बारेमा सोध्दा जवाफ दिए ।
बाल्यकालमा सद्बाव आफ्ना आमाबाबुसँग फुर्सदको लागि गल्फ कोर्स जान्थे। तर, बिस्तारै उनको खेलप्रति लगाव बढ्दै गयो । “मेरा आमाबाबुले मलाई गल्फ कोर्समा रमाइलोको लागि मात्र लैजानुहुन्थ्यो, तर मैले यसलाई गम्भीरतापूर्वक लिन थालेँ र खेललाई माया गर्न थालें । वहाँहरूले पनि मेरो निर्णयलाई समर्थन गर्नुभयो र मैले भविष्यमा यसलाई क्यारियरको रूपमा पछ्याउने निर्णय गरें, ”सद्भावले गल्फप्रति आफ्नो स्नेहबारे बताए ।
सद्भावले १४ वर्षको उमेरमा सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका थिए । मार्च २०२१ मा सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रतिस्पर्धा गरेका थिए । उनले अहिलेसम्म टुरको आठ इभेन्टमा भाग लिएका छन् । सद्भावलाई पहिलो क्यारियर उपाधि जित्न धेरै समय लागेन । उनले दुई साता अघि मात्र पहिलो एमेच्योर उपाधि जितेका थिए । सूर्य नेपाल गल्फ टुर २०२२-२३ को पाँचौं प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको एमेच्योर खण्डमा सद्भावले आफ्ना साथी गल्फ खेलाडी सुभाष तामाङलाई पछि पार्दै च्याम्पियन बनेका थिए ।
त्यसको लगत्तै अर्को कार्यक्रममा उनले सूर्य नेपाल गल्फ टुरको पहिलो उपाधि जिते। उनी टूरको उपाधिसँगै एमेच्योर खण्डमा पनि प्रथम भए । मार्चमै सद्भाव र सुभाषले बंगलादेशमा भएको ३६ औं ओरियन बंगलादेश एमेच्योर च्याम्पियनसिपमा पुरुष टिम इभेन्ट पनि जितेका थिए।
जुन २०२२ मा, सद्भाव र सुभाष भारतको पहिलो व्यावसायिक गल्फ, खेलकुद विज्ञान र शैक्षिक संस्था तरुण सरदेसाई गल्फ एकेडेमी (टिएसजी) मा भर्ना हुन बैंगलोर गएका थिए । टीएसजी एकेडेमीमा भर्ना भएदेखि आफुले धेरै प्रगति गरेको सद्बावको भनाइ छ ।
सद्भावले बैंगलोरको टिएसजी एकेडेमीमा सामेल हुने आफ्नो इच्छा पूरा गरेकोमा आफ्ना आमाबाबुप्रति कृतज्ञता व्यक्त गरे, “त्यहाँ सहभागी हुन ठूलो बजेट चाहिन्छ,”आफ्नो पहिलो गल्फ टुरको उपाधि जितेपछि उनले भने, “आज म मेरा आमाबुवाको त्यागका कारण यहाँ छु ।”
उनले आफ्नो सुधारको श्रेय एकेडेमी र मुख्य प्रशिक्षक तरुण सरदेसाईलाई पनि दिए । ‘एकेडेमी आएपछि धेरै सुधार भएको छ । वहाँ नभएको भए मेरो खेल यो स्तरमा पुग्ने थिएन,’ सद्भावले थपे ।
सद्भावका अनुसार टीएसजी एकेडेमीका मनोवैज्ञानिक परामर्शदाताले उनको खेलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । “मेरो मनोवैज्ञानिक परामर्शदाता प्रणव जोसको पनि मेरो खेललाई आकार दिन महत्वपूर्ण भूमिका छ । उनले मलाई खेलको दौरान दबाब कसरी व्यवस्थापन गर्ने र खेल्दा मलाई धेरै मद्दत गर्ने अन्य धेरै कुराहरू सिकाउनुभएको छ, “सद्भावले भने।
सद्भाव आफ्नो अर्को चुनौती, ७४ औं सिंगापुर जुनियर गल्फ च्याम्पियनसिप २०२३ को लागि पर्खिरहेका छन् । यो प्रतियोगिता जुन महिनामा सिंगापुरको सेलेटर कन्ट्री क्लबमा हुनेछ। “म सिंगापुर जुनियरको लागि साँच्चै कडा मेहनत गर्नेछु र मेरो परीक्षा पनि आउँदैछ, त्यसैले मैले मेरो अभ्यास र अध्ययनलाई सन्तुलनमा राख्नुपर्छ,” सद्भावले भने ।
आफ्नो लक्ष्य बारे सोध्दा सद्भावले आफ्नो प्रारम्भिक लक्ष्य एसियाली खेलकुद र ओलम्पिकमा स्वर्ण पदक जित्ने रहेको बताए । उनको अन्तिम लक्ष्य, आफ्नो आदर्श खेलाडी टाइगर वुड्स भन्दा धेरै उपाधि जित्दै उनको रेकर्ड तोड्नु हो ।
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको शल्यक्रिया सम्पन्न भएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर प्रकृतिको चोट बोकेका उनको आइतबार नै शल्यक्रिया गरिएको हो । ललितपुरको बि एण्ड बि अस्पतालमा वरिष्ठ अर्थोपेडिक […]
February 16, 2025
सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]