default_image

2 years ago

July 14, 2022

एन्फा अध्यक्ष नेम्बाङलाई चुनौतीसँगै अवसर पनि

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो ६ वर्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व तीन पटक परिवर्तन भइसकेको छ । यो नियमित परिवर्तनअघि भने गणेश थापाले दुई दशक भन्दा लामो समय एन्फाको नेतृत्व सम्हालेका थिए । थापा फिफाको १० वर्षे प्रतिबन्धमा परेपछि उनकै कार्यसमितिमा रहेर विभिन्न भूमिकामा काम गरेका मध्य तीन जना पालैपालो नेतृत्वमा […]

112 views

0 Bookmark

फेयर प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

पछिल्लो ६ वर्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व तीन पटक परिवर्तन भइसकेको छ । यो नियमित परिवर्तनअघि भने गणेश थापाले दुई दशक भन्दा लामो समय एन्फाको नेतृत्व सम्हालेका थिए ।

थापा फिफाको १० वर्षे प्रतिबन्धमा परेपछि उनकै कार्यसमितिमा रहेर विभिन्न भूमिकामा काम गरेका मध्य तीन जना पालैपालो नेतृत्वमा पुगेका छन् । थापाको प्रतिबन्ध लगत्तै बाँकी रहेको एक वर्ष अवधिका लागि भएको २०७३ कात्तिकमा भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठ अध्यक्ष र मणि कुँवर उपाध्यक्ष निर्वाचित भएका थिए । त्यसबेला कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै श्रेष्ठ पहिलो पटक अध्यक्ष बनेका थिए ।

तर २०७५ वैशाखमा ४ वर्षे पूर्ण कार्यकालका लागि भएको निर्वाचनमा भने मणि कुँवरलाई हराउँदै शेर्पासँगै उनको पूरै प्यानल विजयी भयो । यसपटक असार ६ गते भएको निर्वाचनमा उनै शेर्पाको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका पंकज विक्रम नेम्बाङले शेर्पालाई नै हराउँदै एन्फाको नयाँ अध्यक्ष बने ।

चलायमान संस्थामा नेतृत्व परिवर्तन स्वभाविक विधि हो । केहि वर्ष अघिसम्म एउटै व्यक्तिको वरिपरि घुम्ने एन्फा नेतृत्वमा अब निरन्तर परिवर्तन देखिनु संस्थाका लागि सुखद नै हो । तथापी जो कोहिलाई नेतृत्वमा पुग्न सहज भने छैन । एन्फा भित्रको चरम गुटबन्दीलाई व्यवस्थापन गर्न सकेमा वा तत्क्षणमा फाइदा देखाउन सक्नेले मात्र एन्फा नेतृत्वमा पुग्ने सक्छ भन्ने पछिल्ला निर्वाचनले देखाएको छ । पछिल्ला तीनै निर्वाचनमा अध्यक्षको प्रत्यासी बन्ने शेर्पा एक्ला हुन् । जसमा उनी एक पटक मात्र सफल भए ।

Karma Tshering

यसपटक लामो समय एन्फा परिवर्तन आन्दोलनमा सँगै रहेका आफ्नै कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नेम्बाङसँग शेर्पा पराजित भए । आन्तरिक विवादलाई व्यवस्थापन गर्न नसकेकै कारण उनले हार बेहोर्नु परेको चर्चा छ । शेर्पाको चार वर्षे कार्यकाललाई केलाउने हो भने केहि सुधारका काम भएका छन्, अन्तर्राष्ट्रिय स्तरमा केहि सफलता पनि मिलेका छन् । तर, सबैभन्दा मुख्य पक्ष उनले आफैंले परिवर्तन पक्षधर उपमा दिएर खडा गरेको प्यानललाई एक जुट राख्न सकेनन् । सुरुवातका केहि महिना बाहेक एन्फा कार्यसमिति आन्तरिक विवादबाट बाहिर निस्कनै सकेन । एउटै प्यानलबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्य अनेक गुटमा बाडिए ।

शत्रुको शत्रु मित्र भनेजस्तै एन्फा कार्यसमितिकै र त्यति बेला एन्फा बाहिर रहेको अन्य समूह शेर्पाविरुद्ध मोर्चाबन्दी गर्न सफल भए । शेर्पालाई निर्वाचनमा पराजित गर्न त्यो मोर्चाबन्दी बाहेकको विकल्प पनि नरहेको चुनावको झिनो अन्तरको मत परिणामले देखाउँछ । शेर्पालाई पराजित गर्न दुवै निर्वाचनमा पूर्व अध्यक्ष थापाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा छ । शेर्पा निर्वाचत हुँदाको समयमा भने थापाको जोड चलेन । त्यति बेला शेर्पालाई दुई तिहाई भन्दा बढीको समर्थन थियो ।

थापाको कार्यसमितिमा सदस्य हुँदै एन्फा प्रवेश गरेका नेम्बाङको कार्यक्षमताको परिक्षण अब आउने दिनमा हुनेछ । पहिलो बैठकबाटै गरेका निर्णय विवादरहित हुन नसकेपनि महिना दिन नपुग्दै नकारात्मक टिप्पणी गर्न उपयक्त हुन्न । नेतृत्वलाई पनि परिक्षणको मौका दिनै पर्छ । कम्तीमा एक सय दिनलाई ‘हनिमुन पिरियड’ मान्दा पनि अझै २ महिना आलोचना गर्नु जायज हुन्न । तर, नेम्बाङ निर्वाचित भएसँगै केहि प्रश्न र आशंका भने स्वत जोडिएर आएका छन् । जुन शेर्पाको समयमा थिएन ।

कारण शेर्पा पूरै प्यानलसहित जितेका थिए । यसपटक नेम्बाङ र शेर्पा अलग अलग समूह बनाएर लडे । जसमा मिश्रित नतिजा आएको छ । फरक समूहबाट जितेको धङधङ्गीलाई नेम्बाङले कसरी व्यवस्थापन गर्छन् त्यो पाटो महत्वपूर्ण हुनेछ । शेर्पा समूहबाट एक उपाध्यक्षसहित ६ सदस्य निर्वाचित भएका छन् ।

अर्को थापा समर्थककै रुपमा परिचित अनुहारहरुको पनि नेम्बाङ समूहबाट निर्वाचित भएका छन् । एन्फा कार्यसमितिको निर्णयमा उनीहरुको पनि त्यत्तिकै प्रभाव रहन्छ । उनीहरुको चुनौती पनि नेम्बाङका लागि कम नहुन सक्छ । थापाकै कतिपय एजेण्डाले एन्फा कार्यसमितिमा प्रवेश पाउने सम्भावना बलियो छ । फुटबलका सबै खाले गतिविधिबाट फिफाले प्रतिबन्ध लगाएपछि पनि फुटबलको घरेलु राजनीतिमा बोल्न थापालाई कसैले बन्देज लगाउनै सकेन ।

विश्व फुटबलको सर्वोच्च निकायले गरेको कारवाहीबाट सार्वजनिक रुपमा बदनाम हुँदै बाध्य भएर एन्फाबाट बाहिरिएको पीडा थापालाई नहुने कुरै भएन । सामाजिक सञ्जालमा चुनावको सेरोफेरोमा तत्कालिन अध्यक्ष शेर्पासँग व्यक्तिगत समस्या देखाउँदै उनले दिएको अभिव्यक्तिबाट पनि त्यो प्रष्ट हुन्छ ।

फिफाले लगाएको अभियोगमा जस्तो टिप्पणी पनि सुन्न तयार रहेको बताउने गरेका थापा दुई दशक भन्दा लामो आफ्नो कार्यकाल बेदाग रहेको दाबी पटक पटक गर्दै आएका छन् । स्वभावले नै थापा निष्क्रिय बस्न सक्दैनन् । हिजोको जस्तो सक्रिय भूमिका नभएपनि आफ्ना नजिककाहरुलाई उनले आफ्नो एजेण्डा भविष्यमा पनि पक्कै बोकाउन सक्छन् । आउने दिनमा एन्फा कार्यसमितिमा प्रवेश हुने एजेण्डाबाट पनि उनको चाहाना र सक्रियता अनुमान गर्न सकिन्छ नै ।

कुनै पनि मुल्यमा शेर्पालाई एन्फा नेतृत्वबाट हटाउनुपर्छ भन्ने मत मिल्नेहरु एक ठाँउमा उभिनुलाई अन्यथा मान्न सकिन्न । भनिन्छ नी प्रेम र युद्धमा सबै जायज हुन्छ । नेम्बाङ आफैले पनि साम, दाम, दण्ड र भेद सबै लगाएर निर्वाचन जित्ने बताउने गरेका थिए । त्यसमा उनी सफल भएका छन् ।

थापाको समयमा थापाकै खल्तीबाट पदाधिकारी र सदस्यहरुको नाम झिकिन्थ्यो । तीनै नामलाई साधारण सभाले अनुमोदान गर्थ्यो । तर, पछिल्लो तीन निर्वाचनमा मतदाता स्वतन्त्र रुपमा मतदान गर्न पाएका छन् । आन्तरिक प्रजातन्त्रको नमूनाका रुपमा त्यसलाई लिन सकिन्छ । यसो भन्दै गर्दा अर्को डरलाग्दो रोगले भने एन्फा निर्वाचनमा प्रवेश पाएको छ । त्यो भनेको आर्थिक चलखेल ।

पछिल्लो तीन चुनावमा मत किन बेच भएको व्यापक चर्चा छ । यद्दपी त्यसको पुष्टी भएको छैन वा भनौं त्यो विषयमा छानविन गर्ने कुनै संयन्त्र नै छैन । निर्वाचनमै सक्रिय हुनेहरुले पनि आर्थिक चलखेललाई अस्वीकार गर्न सक्दैनन् । यदि त्यस्तै हो भने कमजोर आर्थिक अवस्था भएकाले एन्फा नेतृत्वमा पुग्ने कल्पना नगर्दा पनि हुन्छ । त्यति मात्र होइन त्यसले विस्तारै संस्थालाई आर्थिक अनियमिततातर्फ धकल्दै जानेछ । निर्वाचनमा भएको खर्च एन्फाबाट उठाउने मनशाय मौलाउँदैन भन्न सकिने अवस्था छैन ।

खैर, प्रक्रियाबाट एन्फामा नयाँ नेतृत्व आइसकेको छ । साउन २ गते अर्को एन्फा कार्यसमितिको बैठक तय भएको छ । कोरोना महामारीका समयमा आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) को भविष्य त्यस बैठकले तय गर्ने अनुमान गरिएको छ । ए डिभिजन लिगका चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार, एनआरटी र संकटा क्लबले नै एनएसएलसँगको सम्झौता रद्द गर्नुपर्ने सिफारिस गर्दै नव निर्वाचित कार्यसमितिमाथि दबाब सिर्जना गरेको छ ।

एनएसएल आयोजना गर्न हुन्छ हुँदैन भन्ने विषयमा अलग बहस पनि आवश्यक हुन सक्छ । तर, हिजो पत्रकार सम्मेलनमार्फत एन्फालाई अनुरोध गर्ने क्लबहरु अहिले कुनै अमुक प्रतियोगिता रद्दका लागि सिफारिस गर्ने अवस्थामा पुग्नुलाई निर्वाचन अघिकै समिकरण कारक मान्न सकिन्छ । घरेलु फुटबलमा ४ क्लबको सिफारिस एउटा नजिरका रुपमा पक्कै रहनेछ । एन्फा कुनै संस्थासँग गरेको सम्झौतामा सुझाव दिनुसम्म स्वभाविक मान्नुपर्छ । तर सम्झौता नै रद्द गर्न सिफारिस गर्नुले भविष्यमा अन्य विषयमा पनि त्यसले निरन्तरता पाउने सम्भावना रहन्छ ।

आन्तरिक फुटबल सञ्चालन एन्फाले गर्ने हो । त्यसमा सरोकारवालाको सुझावलाई स्वभाविक रुपमा लिनुपर्दछ । तर, निर्देशनको शैलीमा कार्यसमिति माथि दबाब बढाउनुले भविष्यमा त्यो भन्दा जटिल विषय आउन सक्छन् भन्ने अनुमान गर्न सक्नुपर्दछ । एन्फाले कस्ता विषयलाई ग्रहण गर्ने भन्ने मापदण्ड हुनै पर्छ ।

निर्वतमान अध्यक्ष शेर्पाको कार्यशैलीको विरोधलाई नै आफ्नो जितको मुख्य आधार बनाएका नेम्बाङले आफूले उठाएका एजेण्डालाई अब कसरी कार्यान्वय गर्छन् । त्यो हेर्नुपर्ने हुन्छ । शेर्पालाई एक्लै हिड्ने गरेको आरोप उनले लगाएका थिए । आफू सामूहिक नेतृत्वको पक्षमा रहेको नेम्बाङले पटक पटक बताएका छन् । सामूहिक नेतृत्व, आर्थिक पारदर्शिता, फुटबल प्रतियोगिताको आन्तरिक व्यवस्थापनलगायत उनका मुख्य एजेण्डा हुन् ।

फुटबल विकासका लागि सबै एक ठाउँमा उभिउन् हाम्रो पनि कामना छ । तर, एन्फामा निर्वाचित हुने हरुका पनि आ आफ्नो स्वार्थ रहने गरेको इतिहास छ । ती स्वार्थलाई नेम्बाङले कसरी व्यवस्थापन गर्छन् । त्यो अर्को महत्वपूर्ण पाटो हुन्छ । ६ वर्षमा एन्फामा व्यक्तिकै व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको रुपमा रह्यो । फिफाले विभिन्न शीर्षकमा रहेको बजेटलाई रोक्का राखेको छ । त्यसलाई फुकाउन अहिलेको नेतृत्व सफल हुन्छ हुँदैन हेर्नुपर्ने हुन्छ ।

नेतृत्वको आलोचना गर्नु र आफै नेतृत्वमा पुग्नु दुई फरक विषय हुन् । आफूले विगतमा उठाएका विषयमा नेम्बाङको भूमिका कस्तो रहन्छ त्यो पनि फुटबलमा चासो राख्नेले मुल्यांकन गर्नेछन् । राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको बोली र व्यवहारका कारण शेर्पा पछिल्लो समय विवादमा परेका थिए । अलमुताइरीसँग नेम्बाङको आफनै छत्तिसको आँकडा छ । अब त्यसलाई उनले कसरी व्यवस्थापन गर्छ त्यो पनि चासोको विषय छ ।

प्रश्न गर्ने ठाँउबाट नेम्बाङ जवाफ दिने ठाँउमा आइपुगेका छन् । घरेलु फुटबललाई व्यावसायिक बनाउने, जिल्लादेखि केन्द्र सम्मको फुटबललाई व्यवस्थित बनाउने, प्राविधिक दक्ष जनशक्तिको उत्पादन, ग्रासरुट फुटबलको विकास, खेलाडी उत्पादन, भौतिक पूर्वाधार निर्माण, स्वार्थ समूहको व्यवस्थापन नेम्बाङका आउने दिनका मुख्य चुनौती हुनेछन् । उनको नेतृत्वको क्षमता मापनको यसैको वरिपरि हुनेछ ।

चुनौतीमा नै अवसर लुकेको हुन्छ । एन्फाको सफल नेतृत्वका रुपमा स्थापित हुने मौका नेम्बाङलाई छ । आफैले उठाएका मुद्दालाई सफल ढंगले कार्यान्वयन गर्ने हो भने नेम्बाङ नेतृत्वले त्यसको जस पाउनेछ । नेम्बाङसहित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ।

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.