म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । समग्रमा ३-० को जित हात पार्दै बार्सिलोना फाइनल पुगेको हो ।
भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोना २-० ले विजयी रह्यो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ४९ अौं मिनेटमा फिलिप कोउटिन्होले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको अन्त्यतिर इभान राकिटिचले गोल गर्दै जित पक्का गरे । दुवै गोलमा लुइस सुअारेजले असिस्टे दिएका हुन् ।
पहिलो लेग बार्सिलोनाले १-० ले जितेको थियो । बार्सिलोनाले उपाधि भिडन्तमा सेभिल्लाको सामना गर्नेछ । सेभिल्लाले लेगानेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको यो लगातार पाँचौं कोपा डेल रे फाइनल हो । पछिल्लो तीन सिजन उपाधि जितेको बार्सिलोना चौथो पटक उपाधि जित्ने दाउमा छ ।