लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस टोली बार्सिलोना र इंग्लिस च्याम्पियन चेल्सीले स्ट्यामफोर्ड ब्रिजमा १-१ को बराबरी खेलेका छन् ।
चेल्सीका विलियनको पहिलो हाफमा दुई प्रहार पोस्टमा लाग्दा घरेलु टोली अग्रता लिनबाट बञ्चित भएको थियो । तर खेलको ६३ औं मिनेटमा बक्सबाहिर पाएको अवसरलाई विलियनले गोलमा परिणत गर्न सफल भएका हुन् ।
चेल्सीको सो अग्रता १२ मिनेटको लागि मात्र टिक्यो । खेलको ७५ औं मिनेटमा आन्द्रेस इनिएस्टाले बक्सभित्र सिर्जना गरेको अवसरलाई लियोनल मेस्सीले सदुपयोग गर्दै खेल बराबर पारेका थिए ।
चेल्सी विरुद्धको ९ खेलमा यो मेस्सीको पहिलो गोल थियो । अब बार्सिलोनाले चेल्सीसँग दोस्रो लेगमा मार्च १५ मा आफ्नो घरेलु मैदान नु क्याम्पमा प्रतिस्पर्धा गर्ने छ ।