default_image

7 years ago

January 14, 2019

नेपाली फुटबलका विदेशी यात्री

128 views

0 Bookmark

सुबास हुमागाईं, धनगढी

भिक्टर अमोबी नेपाली फुटबलमा स्थापित विदेशी खेलाडी हुन् । सन् २०१२ मा रुस्लान थ्री स्टारबाट आफ्नो करिअर सुरु गरेका भिक्टरले थ्री स्टारसँगै दुई पटक लिग उपाधि पनि जितेका छन् । थ्री स्टारबाट सुरु भएको २८ वर्षीय भिक्टरको व्यवसायिक यात्रा अहिले मनाङ मर्स्याङदी क्लबमा आइपुगेको छ । त्यसो त उनले यसअघि पनि मनाङको जर्सी लगाईसकेका छन् ।

भिक्टर सन् २०१३ मा थ्री स्टारबाट खेल्दै (बायाँ) सन् २०१८ मा सरस्वतीबाट थ्री स्टारविरुद्ध (दायाँ)

भिक्टरले सन् २०१२ मा थ्री स्टार आएपछि क्लबसँग रहेर लिग उपाधि जिते । त्यसपछि उनले एक सिजन फ्रेन्ड्सको जर्सी पहिरिए । मोफसलका प्रतियोगितामा पनि भिक्टरले सहारा, धरान, लगायत अन्य थुप्रै टोलीबाट खेले । छोटो कद भएपनि छरितो भिक्टरले मोफसलका प्रतियोगितामा केहि टोलीको कप्तानी पनि गरेका छन् । उनकै कप्तानीमा अफ्रिकन युनाइटेडले सन् २०१४ को बुढासुब्बा गोल्डकप उपाधि पनि जितेको थियो ।

राष्ट्रिय लिगका लागि भने उनी थ्री स्टारमै फर्किए र लिग उपाधि जिते पनि । त्यसपछि भने उनको करिअरले अर्को उडान भर्यो । भारतको आईलिग क्लब मिनेर्भा पन्जाबले उनलाई एक सिजनका लागि अनुबन्धन गर्यो । लिगका १८ खेलेका भिक्टर अर्को सिजनका लागि भने नेपाल नै फर्किए । भारतबाट फर्केपछि उनी मनाङसँग जोडीए । मोफसलका प्रतियोगितामा मनाङबाट खेलेका उनले त्यसपछि लिगमा भने क्लबमा रहन सकेनन् ।

२०६९ सालको लिग उपाधि जितेपछि भिक्टर (तल)

गत साता राजधानीमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा पनि उनले मनाङसँग अनुबन्धन हुने प्रारम्भिक छलफल थालेका थिए । उनले प्रशिक्षणमा पनि सहभागिता जनाए । तर क्लबलाई सेन्टर डिफेन्डर खाँचो परेको अवस्थामा उनी क्लबको रोजाइमा परेनन् । मनाङले अर्का विदेशी भिक्टर कामुखालाई रोज्यो र भिक्टर अमोबीले सरस्वतीबाट लिग खेल्ने निर्णय गरे ।

सरस्वतीका लागि भिक्टरले मिडफिल्ड र फरवार्डको सम्भावित सबै पोजिसनबाट खेले । उनले लिगदौरान ४ गोल गर्दै क्लबका सर्वाधिक गोलकर्ता पनि बने । उनी सरस्वतीका लागि आफ्नो व्यक्तिगत प्रदर्शनलाई लिएर सन्तुष्ट छन् । ‘सरस्वतीको लक्ष्य मध्ये तालिकामा आउने थियो । नवौं स्थानमा आउनुभन्दा राम्रो नतिजा पनि आउँ सक्थ्यो । केहि खेलमा हाम्रो प्रदर्शन कमजोर रहयो,’ उनले भने,’ व्यक्तिगत रुपमा भने मेरो प्रदर्शन लिएर सन्तुष्ट छु । मिडफिल्ड र फरवार्डमा हरेक पोजिसनमा टोलीको आवश्यकताअनुसार खेलें ।’

मछिन्द्रविरुद्ध ए डिभिजन लिग २०७५ मा खेल्दै

भिक्टरले नेपाली लिग पछिल्लो समयभन्दा सुधारिएको ठानेका छन् । ‘विगतभन्दा नेपाली खेलाडीको स्तर निकै बढेको पाएको छु । विशेषगरि युवा खेलाडीहरुको स्तर निकै राम्रो रहेको छ । मैले ६ वर्षअघि लिग खेल्दा र अहिलेको तुलनामा लिग निकै प्रतिस्पर्धात्मक रहेको पाएँ,’ उनले भने । भिक्टरले विदेशी खेलाडीको संख्या बढाए खेलको स्तर अझै सुधार्न सक्ने बताए ।

‘विगतमा हरेक टोलीले ५ विदेशी खेलाडी अनुबन्ध गरेर ४ खेलाडी मैदानमा उतार्न पाउँथे । यसले गर्दा हरेक टोलीले वैकल्पिक खेलाडीको रुपमा पनि एक विदेशी राख्न सक्थे । खेलको अवस्थाअनुसार रणनिति बदल्न सक्थे,’ उनले थपे, ‘ यसले नेपाली खेलाडीलाई नै सहयोग पुग्ने हो । बलियो टोलीविरुद्ध र सँगै खेल्दा आफ्नो स्तर पनि बढ्छ । एन्फाले आउने दिनमा यसलाई सम्बोधन गर्ने आशा राखेको छु ।’

आइतबर धनगढीमा जारी खप्तड गोल्डकपमा मनाङ नेपाल पुलिस क्लबसँग १-० ले पराजित भयो । उक्त खेलमा भिक्टर मनाङको बेन्चमा थिए । फिदिममा भएको फाल्गुनन्द गोल्डकपमा सरस्वतीबाट सेमिफाइनल खेलेका उनी दोस्रो हाफमा मात्र धनगढी आइपुगेका थिए ।

ए डिभिजन लिग २०७५ मा थ्री स्टारविरुद्ध

काठमाडौंबाट आउने उडान ढिलो भएका कारण उनी सुरुवाती रोजाइमा खेल्न नपाएको मनाङका प्रशिक्षक तोपे फुजाले बताए ।फुजाले भिक्टरलाई विंगरको रुपमा प्रयोग गर्ने पनि जानकारी दिए । ‘हाम्रो टोलीमा विंगरको कमि भएको महसुस गरेको छु । त्यसैले उनलाई त्यस पोजिसनमा खेलाउने छु । पुलिसविरुद्ध पनि मैले उनलाई पहिलो रोजाइमा खेलाउने रणनीति बनाएको थिएँ तर ढिलो आएका कारण त्यो सम्भव भएन,’ फुजाले पुलिसविरुद्ध खेलपछि भने ।

भिक्टर अब मनाङसँग नयाँ अनुबन्धन गरेर केहि समय नेपालमा नै खेल्ने पक्षमा छन् । उनले यहाँ खेल्न आउनुको मुख्य लक्ष्य भनेको अन्य लिगमा अवसर खोज्नु रहेको पनि प्रष्ट पारे । ‘नेपाली फुटबलको स्तर राम्रो छ । यहाँ खेल्दा अन्य लिगमा खेल्न जान पनि हामीलाई सहज हुन्छ । यसअघि भारतको लिगमा पनि यहाँकै प्रदर्शनको आधारमा मैले अवसर पाएको थिएँ,’ उनले भने ।

नेपाली राष्ट्रिय फुटबल टोलीका अधिकांश सदस्यसँग उनले खेलेका छन् । नेपाली राष्ट्रिय टोलीको स्तर उकास्न एन्फाले मैत्रीपूर्ण खेल खेलाउनुपर्ने पनि उनले जोड दिए । ‘नेपालको फुटबल एकदम राम्रो छ । नियमित म्याच एक्सपोजर दिने हो भने दक्षिण एसियामा अब्बल हुन सक्छ । युवा खेलाडीहरुमा असिमित ट्यालेन्ट छ, त्यसलाई उचित स्थान दिनु जरुरि छ,’ भिक्टरले टुंग्याए ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.