7 years ago
January 15, 2019
सुबास हुमागाईं, धनगढी
नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ सोमबार धनगढीमा रुस्लान थ्री स्टार क्लबबाट खेल्दै घरेलु फुटबलमा लामो समयपछि मैदानमा देखिएका छन् । धनगढी रंगशालामा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा थ्री स्टारले छिमेकी क्लब च्यासल युवा क्लबलाई पराजित गर्दा अनन्तको प्रदर्शन उत्कृष्ट रहयो ।

खेलपछि हाम्रोखेलकुदसँग बोल्दै अनन्तले मैदान फर्कंदा फेरी सास फर्केजस्तो अनुभूति भएको बताए । ‘लामो समय मैदानबाहिर बस्दा निकै कठिन हुने रहेछ । आफू फिट भएर खेल्न सक्ने हुँदापनि कागजी प्रक्रियामा गल्ति गर्दा मैले लिग खेल्न पाइन । अहिले मैदान फर्कंदा एकदम खुसी लागेको छ । ज्यानमा सास फर्केजस्तो भएको छ,’ अनन्तले मुस्काउँदै भने ।
राष्ट्रिय टोलीबाट पछिल्लो तीन वर्षयता नियमित पहिलो रोजाइमा खेल्दै आइरहेका अनन्तले ए डिभिजन लिग भने खेलेनन, अथवा भनौं खेल्न पाएनन् । मनाङ र थ्री स्टार दुवै क्लबसँग उनको अनुबन्धन रहेपछि उनले राजधानीमा सम्पन्न ए डिभिजन लिगभर दुई क्लब धाउँदै बिताए । उनले सानो गल्ति गर्दा महँगो मूल्य चुकाउनु पर्यो ।
पछिल्लो वर्ष मोफसलका प्रतियोगिताहरुमा अनन्तले थ्री स्टारबाट खेलेका थिए । त्यसअघि मनाङमा आबद्ध रहेका उनलाई लिगका लागि भने मनाङले पुन: क्लबमा फर्काउने प्रस्ताव राख्यो । मनाङले गरेको प्रस्ताव आकर्षक रहेकाले त्यसलाई स्वीकार्ने निर्णय गरे । यता थ्री स्टारले पनि उनीसँग सम्झौता भएको भनेपछि उनले थ्री स्टार फर्कने निर्णय गरे तर मनाङले त्यसो हुन दिएन ।

थ्री स्टारले आफूले फुकुवा नगरेको खेलाडी अन्य क्लबले अनुबन्धन गर्न नमिल्ने बताएपनि अनन्तले मनाङको प्रस्ताव स्वीकारेका कारण दुवै क्लबले एक अर्काबाट खेल्न दिएनन् । अनन्तका अनुसार उनले जुनै क्लबबाट भएपनि लिग खेल्न दुवै पक्षलाई आग्रह गरेपनि मनाङले त्यसो हुन दिएन ।
‘ मैले दुवै तर्फ मेरो सम्झौता भएको थाहा भएपछि दुवै पक्षलाई फुकुवाको लागि आग्रह गरें । दुवै क्लबले एक अर्काबाट खेल्न नदिने प्रष्ट पारेपछि जसरी पनि लिग खेल्नुपर्छ भन्ने थियो । अन्य कुनै क्लबबाट खेल्न दिन आग्रह गरें,’ उनले भने, ‘थ्री स्टारले स्वीकृति दिएपनि मनाङले भने अन्य क्लबबाट कुनै हालतमा खेल्न नदिने बतायो । पटक पटक मलाई सकारात्मक छलफलको लागि बोलाएपनि मलाई झुलाउने कार्यमात्र गर्यो ।’
अनन्तले आफूले गल्ति गरेको स्वीकारेपनि लिग खेल्न बन्चित गरेकोमा मनाङको बदनियतप्रति दुखेसो पोखे । ‘मैले गल्ति गरेको स्वीकारें । मनाङ र थ्री स्टार दुवै उपाधि दावेदार रहेका कारण मैले अन्य कुनै क्लबबाट लिग खेल्न दिन आग्रह गरें । मलाई खेल्न नदिने नै मनाङको नियत थियो । मलाई क्लबमा पटक पटक बोलाएर फुकुवा गर्ने भनेपनि क्लबका केहि प्रतिनिधिले झुलाउने कार्यमात्र गरे,’ उनले भने ।

लिगको दुई खेल बाँकी हुँदा मनाङको उपाधि पक्का भएपछि भने मनाङले उनलाई फुकुवा गरेको पत्र दियो । अनन्तले बाँकी दुई खेल चाहेर पनि खेल्न सकेनन् । नियमित प्रशिक्षण नभएको र मानिसक रुपमा पनि तयार नरहेका कारण उनले लिग नखेलेको बताए । ‘लिगको सातौं चरणसम्म पनि मैले लिगको आधा भाग खेल्छु भन्ने लागेको थियो । हरेक दिन क्लबको पदाधिकारीहरु सँग छलफलको प्रयास गरें । कहिले हुन्छ भन्ने आशा देखाए त कहिले क्लबमा नै बोलाए, तर फुकुवा गर्न मानेनन् । अन्त्यमा लिग उपाधि पक्का भएपछि फुकुवा गरिदिए । त्यसबेला २ खेल बाँकी थियो र मैले प्रशिक्षण पनि गरेको थिइन । नखेल्नु नै उचित हुने ठाने,’ अनन्तले सुनाए ।
झन्डै ५ वर्षपछि फर्किएको ए डिभिजन लिगमा अनन्तभन्दा जुनियर धेरै खेलाडीले खेले । अनन्तका समकालीन खेलाडीहरु टोलीका मुख्य खेलाडीका रुपमा अगाडी रहे । लामो समयपछि लिग भएका कारण उनीभन्दा सिनियर खेलाडी कमै मैदानमा देखिए । उनलाई आफू खेल्न नपाउँदा जति दुख थियो, त्योभन्दा बढी अन्य खेलाडीले खेलेको हेर्दा झस्काउँथ्यो ।
‘ सुरुको केहि चरण थ्री स्टारसँग प्रशिक्षणमा सामेल भएको थिएँ । खेल्न पाउने आशामा आफूलाई फिट राख्न प्रशिक्षणमा गएँ । मनाङले त्यसमा पनि रोक लगायो । खेल हेर्न जान पनि छाडें । घरमा एक्लै बस्दा निकै कठिन हुन्थ्यो । मध्यरात कटेपछि कतिबेला सुत्थें थाहा हुँदैन थियो । मानसिक रुपमा निकै तनाव भोगें,’ उनले दुखेसो पोखे ।

सोमबार धनगढी रंगशालामा पहिलो हाफदौरान नै उनको तिघ्रामा केहि समस्या आयो । फिजियोले मध्यान्तरमा मसाज गरेपछि उनले खेलको पुरै समय खेले । अनन्तको उपस्थितिले थ्री स्टारको डिफेन्स पनि बलियो देखियो । लिगदौरान उनको स्थान कप्तान विक्रम लामाले लिएका थिए । विक्रमले सोमबारको खेल आफ्नो नियमित पोजिसन सेन्टर मिडफिल्डमा खेले ।
लिगमा अनन्तको अनुपस्थितिका कारण क्लबको नतिजा केहि खस्किएको प्रशिक्षक मेघराज केसीले बताएका थिए । च्यासलविरुद्धको जितपछि प्रशिक्षक उज्ज्वल मानन्धरले अनन्तको प्रदर्शनको खुलेर प्रशंसा गरे । ‘ अनन्तको स्तर नै फरक छ । हामीले उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरेका छौं । आज उनको उपस्थितिले हाम्रो डिफेन्स राम्रो देखियो । उनीसँगै दिनेश राजवंशीको आगमनले हाम्रो रक्षापंक्ति थप बलियो भएको छ,’ मानन्धरले भने । नियमित प्रशिक्षक मेघराज केसी व्यक्तिगत कारणले काठमाडौं रहेका कारण मानन्धरले टोलीको जिम्मेवारी सम्हालिरहेका छन् ।

अनन्तले अब मोफसलका प्रतियोगितामा ध्यान दिएर आफ्नो क्लब करिअरलाई अगाडी बढाउने लक्ष्य राखेका छन् । उनले थ्री स्टारको लिगको प्रदर्शनलाई मोफसलमा उपाधि जित्दै बिर्साउने प्रण गरेक छन् । ‘ लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेन । मोफसलमा धेरै प्रतियोगिता खेल्दैछौं । अब मोफसलको सफलताले लिगको नतिजा सुध्रन नसकेपनि समर्थक र क्लबलाई खुसी पार्न तत्पर छौं,’ उनले भने, ‘ सुदूरमा जारी मोफसलकै सर्वाधिक ठूलो प्रतियोगिताबाट जितको सिलसिला सुरु गर्ने लक्ष्य रहेको छ । टोलीमा केहि परिवर्तन भएको छ र थप बलियो भएको महसुस गरेको छु । मैदानमा फर्केको प्रतियोगितालाई सुखद अन्त्य गर्न आफ्नो सक्दो प्रयास गर्नेछु ।’
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]