एजेन्सी – एसियन पावर हाउस जापान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनलमा जापानले भियतनामलाई १–० ले पराजित गर्दै एसियन कपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

युनाइटेड अरब इमिरेट्सस्थित अल मक्टम स्टेडियममा भएको खेलमा जापानलाई जिताउन दोस्रो हाफमा रिट्सु डोएनले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

५२औं मिनेटमा भिएतनामका बुई टिन डङले जापानका रिट्सु डोएनलाई पेनाल्टी एरियाभित्र लडाएपछि जापानले पेनाल्टीको मौका पाएको थियो । भियतनामले पेनाल्टी नभएको भन्दै रेफ्रीसँग अपिल गरेपनि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा जापानलाई पेनाल्टी दिएको थिए ।

जसलाई रट्सु डोएनले ५७औं मिनेटमा सदुपयोग गरे । भिएआर एसियन कपमा पहिलोपटक प्रयोगमा आएको हो । त्यसपछि पनि जापानले भियतनामलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा रट्सु डोएनको पेनाल्टी गोल नै जापानको जितमा पर्याप्त बन्यो । अब जापानले सेमिफाइनलमा चीन र इरानबीचको विजेतासँग खेल्नेछ ।