एजेन्सी – युरोपको महारथी क्लब युभेन्ट्सले इटालियन सिरी ए मा अपराजित यात्रालाई कायम राख्दै आइतबार सासुओलोलाई ३-० ले पराजित गरेको छ । यस जितसँगै शीर्षस्थानमा युभे ११ अंकले अगाडी रहेको छ ।

युभेन्ट्सको जितमा सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो र एम्रे च्यानले १-१ गोल गरे । सासुओलोले खेलको सुरुवाती समयमा दबा कायम गरेपनि गोल गर्न सकेन । दबाबका बाबजुद युभेन्ट्सले अग्रता लिएपछि खेलमा पकड जमाएको थियो । २३ औं मिनेटमा रोनाल्डोले गरेको लामो प्रहारलाई गोलरक्षक कोन्सिग्लीले बचाउन नसक्दा रिबाउन्डमा खेडिराले गोल गरेक थिए ।
खेलको ७० औं मिनेटमा रोनाल्डोले युभेको अग्रता दोब्बर पारे । मिरालेम प्यानिचको कर्नरमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै जितनजिक पुर्याएका थिए । यो उनको जारी लिगको २० औं गोल पनि हो । खेलको ४ मिनेट समय बाँकी रहँदा एम्रे च्यानले गोल गर्दै युभेको जित सुनिश्चित गरे । निकै आकर्षक मुभमा रोनाल्डो र पाउलो डिबालाले आक्रमण बुन्दै च्यानले राम्रो फिनिस गरेका थिए ।
यस जितसँगै युभेन्ट्सको २३ खेलमा ६३ अंक भएको छ । दोस्रो स्थानको नेपोलीको २३ खेलमा ५२ तथा तेस्रो रहेको इन्टर मिलानको २३ खेलमा ४३ अंक रहेको छ । एसी मिलानले पनि आइतबर काग्लियारीलाई ३-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । मिलानको ३९ अंक छ ।