काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष टोलीको प्रशिक्षण जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको छ ।

साफ च्याम्पियनसिप र बंगबन्धु गोल्डकपमा राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा रहेका बालगोपाल पछिल्लो समय स्विडिस प्रशिक्षक योहान कालीनको आगमनसँगै जिम्मेवारी मुक्त रहेका थिए । एन्फाले उनलाई यू-२३ टोलीको जिम्मा दिएको छ । यसअघि उनले एएफसी यू-२३ च्याम्पियनसिपको छनोटमा पनि टोलीको प्रशिक्षण सम्हालेका थिए । उनीसँगै सहायक प्रशिक्षक राजेश मानन्धर र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् ।
महिलातर्फ राष्ट्रिय टोलीका प्रशिक्षक हरि खड्काले जिम्मेवारी निरन्तर पाएका छन् । उनलाई सहायक प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक अस्मिता खवासले साथ दिनेछन् ।

एन्फाले उमेर समूहको टोलीका लागि पनि प्रशिक्षक नियुक्त गरेको छ । पुरुष यू-१६ को मुख्य प्रशिक्षकमा सुनील श्रेष्ठ, सहायकमा राजकुमार केसी र गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल रहेका छन् । पुरुष यू-१८ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी रहनेछन् ।
यू-१५ महिला टोलीको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षक भगवती थापा र गोलरक्षक प्रशिक्षकमा मिन बस्नेत नियुक्त भएका छन् ।

एन्फाले बुटवल एकेडेमीको मुख्य प्रशिक्षकको जिम्मेवारी हरिअोम श्रेष्ठलाई सुम्पिएको छ । उनलाई सहायक प्रशिक्षक पुकार गहतराज र गोलरक्षक प्रशिक्षक दिलीप क्षेत्रीले साथ दिनेछन् । धरान एकेडेमीमा सुमन श्रेष्ठले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । उनी प्रदेश १ को पनि प्रशिक्षक रहनेछन् ।
प्रदेश २ मा प्रकाश अर्याल, प्रदेश ३ मा विनोद लामा, गण्डकी प्रदेशमा किरण श्रेष्ठ, प्रदेश ५ मा जनक केसी तथा प्रदेश ६ र सूदुरपश्चिमको प्रशिक्षकमा दीपेश योन्जनले प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।