काठमाडौं (हाम्रो खेलकुद)-वीरेन्द्रनगर नगरपालिका र चौदण्डीगढी नगरपालिकाले राजधानी जारी प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा बुधबार भएको खेलमा वीरेन्द्रनगरले हेटौडा उप–महानगरपालिकालाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा विजयी शुरुवात गरेको हो । वीरेन्द्रनगरको जितमा खेलको २७औं मिनेटमा केशरी पाख्रिनले गरेको गोल नै निर्णायक बन्यो ।
यही समूहको अर्काे खेलमा चौदण्डीगढी नगरपालिकाले पोखरा उप–महानगरपालिमाथि ७–० को फराकिलो जित निकाल्यो । चौदण्डीगढीको फराकिलो जितमा चन्द्रमाया राईले ह्याट्रिक पुरा गरिन् । अनुष्का शेर्पाले दुई तथा सरस्वती चौधरी र मनिका राईले समान १ गोल गरिन् ।
बुधबारै भएको तेस्रो खेलमा काठमाडौं महानगरपालिकाले गोदावारी नगरपालिकालाई ४–० ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘सी’ मा चन्द्रपुर, बाह्रबिसेको समान ९ अंक रहदा काठमाडौंको ६ अंक रहेको छ ।
चन्द्रपुरलाई सेमिफाइनल पुग्न काठमाडौंले अन्तिम खेलमा बाह्रविसेलाई कम मार्जिन पराजित गर्नुपर्ने हुन्छ । बराबरीले चन्द्रपुरको सेमिफाइनल यात्रा टुंगिने छ । यता, काठमाडौंलाई सेमिफाइनल पुग्न अन्तिम खेलमा बाह्रबिसेलाई फराकिलो अन्तरमा पराजित गर्नुपर्ने हुन्छ ।
बाह्रविसेलाई भने बराबरी नै पर्याप्त छ । प्रतियागितामा बिहीबार तीन खेल हुनेछ । पहिलो खेलमा वीरेन्द्रनगर र कावासोती, दोस्रो खेलमा विदुर नगरपालिका र पनौती नगरपालिका तथा अन्तिम खेलमा विराटनगर र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।