6 years ago
September 18, 2019
एजेन्सी – बोरुसिया डर्टमुन्डका कप्तान मार्को रिउसको दोस्रो हाफको पेनाल्टी प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपछि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ ।

खेलको अवधिभर डर्टमुन्डले निकै अवसर सिर्जना गरेपनि बार्सिलोनाका जर्मन गोलरक्षक स्टेगन बोरुसियाका लागि बाधक बनिरहे । पहिलो हाफमा थ्रोगन हाजार्डले उत्कृष्ट मुभ बनाउँदै रिउसलाई दिएको पासमा कप्तान रिउसको प्रहार स्टेगनले बचाएका थिए । पहिलो हाफमा दुवै टोलीले उल्लेख्य आक्रमण बुन्न सकेनन् ।
दोस्रो हाफको ५७ औं मिनेटमा बोरुसियाले पेनाल्टीको अवसर पायो । बार्सिलोनाका नेल्सन सेमेडोले इंग्लिस विंगर जेडन सान्चोलाई लडाएपछि रेफ्रीले पेनाल्टीको निर्णय दिए । तर रिउसले आफ्नो दायाँ तर्फ प्रहार गरेको पेनाल्टीलाई स्टेगनले पुरै पोस्टको दुरी डाइभ हान्दै विफल पारे । उनले रिबाउन्ड गोललाइन नजिक पुगेपनि दोस्रो प्रयासमा बचाए ।
घरेलु समर्थकमाझ निकै राम्रो प्रदर्शन गरेको बोरुसियाले थप अवसर सिर्जना गर्यो । कप्तान रिउस र पूर्व बार्सिलोना फरवार्ड पाको अल्कासेरको प्रयासमा स्टेगन पुन: बाधक बने । खेल सकिएपछि बोरुसियाका खेलाडीको हाउभाउले पनि बार्सिलोनाविरुद्ध बराबरी उचित नतिजा नरहेको संकेत गरेको थियो ।

खेलमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सु फातीले नयाँ कीर्तिमान कायम गरे । उनी १६ वर्ष ३ सय २१ दिनको उमेरमा मैदान उत्रँदै च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी बने । यसअघि बोजानले १७ वर्ष २२ दिनको उमेरमा खेलेका थिए । च्याम्पियन्स लिग इतिहासमै भने उनी तेस्रा कान्छा हुन् । उनले खेलको सुरुवाती समयमा राम्रो लय समातेका थिए । उनलाई सुरुवाती मिनेटमै डिफेन्डर म्याट्स हमल्सले डरलाग्दो ट्याकल गरेका थिए ।
फातीको स्थानमा दोस्रो हाफमा लिओनेल मेस्सी मैदान प्रवेश गरे । चोटका कारण विश्राममा रहेका मेस्सीले सिजनको पहिलो खेल खेल्ने क्रममा राम्रो छाप बसाउन सकेनन् । खेल अवधिभर बार्सिलोनाले पोस्टमा जम्मा एक पटक प्रहार गर्न सक्यो । बार्सिलोनाका लागि गोलरक्षक टेर स्टेगनले म्यान अफ द म्याच प्रदर्शन गर्दै अंकविहिन हुनबाट रोके ।
बार्सिलोनाले सन् २००९-१० पछि पहिलो पटक च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गर्न सकेन । बार्सिलोनाले त्यसबेला इन्टर मिलानविरुद्ध गोल गर्न सकेको थिएन । त्यस सिजन इन्टर नै उपाधि जित्न सफल रहेको थियो । यद्यपि यस नतिजासँगै समूह चरणमा बार्सिलोना पछिल्लो १४ खेलमा जर्मन टोलीविरुद्ध अपराजित नतिजा कायम गर्न सफल रहेको छ । यस क्रममा टोलीले ११ जित र ३ बराबरीको नतिजा दर्ता गरेको छ ।

समूहको अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्राह १-१ को बराबरीमा रोकिए । पाहुना टोली प्राहाले पिटर ओलायिन्काको ६३ औं मिनेटको गोलमा अग्रता लिएको थियो । इन्ज्युरी समयमा स्टेफानो सेन्सीको फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्केपछि निको बरेल्लाले रिबाउन्डमा गोल गर्दै हार टारेका थिए । यसै सिजन इन्टरमा आबद्ध भएका बरेल्लाले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका हुन् ।
समूहमा सबै टोलीको १-१ अंक छ र गोल गरेको आधारमा प्राहा र इन्टर शीर्ष २ स्थानमा रहेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]