6 years ago
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – खेलभन्दा खेलाडी ठूलो हुन सक्दैन । खेलाडीलाई बाँध्ने भनेको निश्चित अनुशासनले नै हो । खेलाडी जतिसुकै चर्चित हुन् वा सफल, सबैमा अनुशासन न्यूनतम शर्त हो । तर, यति बुझ्नलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वलाई झन्डै डेढ वर्ष लाग्यो ।

एन्फा नेतृत्व खेलाडीमाथि शनिबार कडा रुपमा प्रस्तुत भयो । जसका कारण भुटानका लागि उड्ने तयारीमा रहेका ४ खेलाडी घर फर्कन बाध्य भए । त्यसमा युवा पुस्ताका आशा लाग्दा विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी छन् । विश्वकप छनोट खेल्न भुटान प्रस्थान गर्ने विदाई कार्यक्रमका लागि एन्फा पुगेका खेलाडी कारवाहीमा परेको यो पहिलो घटना थियो । कारण थियो, अघिल्लो रात अबेर सम्म ठमेलका रेष्टुरेष्ट गरिएको मस्ती । एलओडीसहित तीन वटा रेष्टुरेष्ट चाहर्दै रेक्सी पिएको आरोप खेलाडीमाथि लागेको थियो ।
शनिबार बिहान ११ः०० बजेका एन्फाले भुटान जाने टोलीको विदाई राखेको थियो । तर विदाई तय समयमा हुन सकेन । त्यसको कारण थियो, खेलाडीको अघिल्लो रातको हर्कत । एन्फा पदाधिकारी यो घटनालाई फेरि गुपचुप बस्ने वा अनुशासनको कारवाही गर्ने दुविधामा थियो । श्रोतका अनुसार एन्फा कार्यवहाक अध्यक्ष पंकज नेम्बाङ, उपाध्यक्ष कृष्णा थापा, महासचिव इन्द्रमान तुलाधार, प्रशिक्षक योहान कालिनलगायत राजधानीमा उपलब्ध एन्फा केन्द्रिय पदाधिकारी र सदस्यले यस विषयलाई गम्भिरतापूर्वक लिदै छलफल अघि बढाए ।

चारै खेलाडीलाई अलग अलग राखेर अघिल्लो रात बारेमा सोधपुछ भयो । सबै खेलाडीले राती अबेर सम्म ठमेलका रेष्टुरेन्ट चाहारे र रक्सी सेवन स्वीकार गरे । अनुशासन तोड्ने खेलाडीलाई आफुले कसरी लिएर जाने भन्ने प्रश्न प्रशिक्षक कालिनको थियो । खेलाडी नाजवाफ थिए । दीनेशले भने एकपटक गल्ति भएको, आइन्दा नदोहोरिने भन्दै टोलीसँगै लान आग्रह गरेका थिए ।
मंसिर ३ गते कुवेतविरुद्ध हुने विश्व कप छनोटको खेलका लागि शनिबार दिउँसो ३ बजे राष्ट्रिय फुटबल उड्ने तयारीमा थियो । ४ खेलाडी कारवाहीमा परेपछि टोलीमा १९ खेलाडी बाँकी रहे । सुवास गुरुङलाई थप्दै टोली भुटान उड्यो । कतिपयले कुवेतसँगको खेलअघि खेलाडी रेष्टुरेन्ट जानुलाई अनुशासन उल्लंघन भन्दापनि खेलको नै प्रतिष्ठामा आँच ल्याउने कार्यसँग दाँजेका छन् । फुटबल खेलको मर्म विपरित खेलाडीले यस्तो कार्य गर्दा अन्य पक्षप्रति पनि आशंका गर्ने ठाउँ रहन्छ ।

सागको बन्द प्रशिक्षणमा समेत रहेका खेलाडी रातभर बाहिर कसरी बसे र व्यवस्थापन पक्ष कति कमजोर छ भन्ने एक पटक फेरि उजागर भएको छ । खेलाडीको अनुशासनलाई लिएर एन्फाले विगतमा कारवाही गर्न नसकेकै कारण घटनाहरु दोहोरिएको मान्ने एन्फा भित्रै छन् । गत वर्ष एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीका रहेको बेला पनि विमल, अन्जन लगायतका केहि खेलाडी डिस्को गएर मादक पदार्थ सेवन गरि हो हल्ला गरेका थिए । एन्फाले छानविन गर्दैै खेलाडीलाई दोषी पाएर पनि कुनै कारवाही गरेन ।
यसपटक अध्यक्ष कर्मा छिरिङ शेर्पा नहुँदा पनि एन्फाले खेलाडीलाई ड्रप गर्ने निर्णय गरेको छ । यसपटक सायद एन्फा फेरि त्यहि गल्ति दोहोराउने पक्षमा थिएन । हरेक निर्णयमा विवाद, आन्तरिक गुटबन्दी, जिम्मेवारीबाट पन्छिने प्रबृति बढ्दै गएको एन्फाले ४ खेलाडीलाई अनौपचारिक रुपमा कारवाही गर्ने मामलामा भने एकमद देखिएका छन् । यसलाई सकारात्मक कदम मान्ने पनि छन् ।
विमल, अन्जन नेपाली फुटबलले निकै आशा गरेका खेलाडी हुन् । तर अनुशासनको मामलामा यी दुई कमजोर देखिदै आएका छन् । दुवै घटनामा यी दुई सामेल छन् । २०७२ मा नेपालले पहिलो पटक साफ यू १९ च्याम्पियनसिप जित्दा विमल त्यसको कप्तान र अन्जन मुख्य खेलाडी मध्येका एक थिए । विमलले त्यसअघि नै राष्ट्रिय टोलीबाट खेलिसकेका थिए ।

यू १९ च्याम्पियन बनेपछि विमलसँगै अन्जन पनि राष्ट्रिय टोलीको नियमित सदस्य बने । त्यहि वर्ष नेपालले बन्धबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा होस् वा २०७३ मा एएफसी सोलिडारी कप जित्दा यी दुवैसँगै थिए । मैदान भित्र मात्र होइन मैदान बाहिर पनि यी प्राय सँगै हुन्छन् । त्यसको उदाहरणमा यी दुई घटनालाई लिन सकिन्छ ।
पछिल्लो केहि वर्षलाई हेर्ने हो भने फुटबलमा एक पछि अर्को अनुशासनहिन घटना भइरहेका छन् । तत्कालिन एन्फा अध्यक्ष गणेश थापामाथि भ्रष्टाचारको अभियोग प्रमाणित भएपछि फिफाले १० वर्ष प्रतिबन्धसहित झन्डै २१ लाख जरिवाना गर्यो । तत्कालिन कप्तान सागर थापासहित ५ खेलाडी खेल मिलेमतोको अभियोगमा फुटबलबाट आजीवन प्रतिबन्धमा परे । केहि महिना अघि फुटबल टोलीका कप्तान किरण चेम्जोङ र फिजियो विवेक विक्रान्त अधिकारीबीच विवाद भयो । जसमा एन्फाले फिजियोलाई निकाल्यो किरणलाई सचेत मात्र गर्ने निर्णय गर्यो ।
नेपालमा खेलाडीमाथि सहानुभुती राख्ने जमात ठूलो छ । केहि हदसम्म सञ्चारमाध्यम पनि खेलाडीका गल्तिलाई समाचारको विषय बनाउँदैनन् । यस्ता कारणले खेलाडीको मनोबल बढ्ने , जे गरेपनि फरक पर्दैन भन्ने मनोबृति विकास भएको देखिन्छ । तर, खेल भन्दा खेलाडी ठूलो हुँदैन भन्ने उनीहरुलाई बुझाउन ढिला भइसकेको छ । अनुशासनहिन खेलाडीलाई टोलीमा स्थान हुन सक्दैन भन्ने उदाहरण दिन अति आवश्यक भइसकेको छ । एन्फाको पछिल्लो कारवाहीलाई त्यसको उदाहारणका रुपमा लिन सकिन्छ । व्यक्ति होइन खराब प्रवृतिलाई रोक्नु सम्बन्धित संघ र व्यवस्थपनको जिम्मेवारी हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]