default_image

6 years ago

May 14, 2020

रियल म्याड्रिड र चर्चित जर्सी नम्बर ७ को इतिहास

433 views

0 Bookmark

एजेन्सी – विश्व फुटबल इतिहासमा नै स्पेनिस क्लब रियल म्याड्रिडको जर्सी नम्बर ७ को चर्चा हुने गरेको छ । रियलका लागि महान खेलाडीले यो जर्सी प्रयोग गरेका छन् ।

पछिल्लो दशक रियलको जर्सी नम्बर ७ मा सुपरस्टार क्रिस्टियानो रोनाल्डो देखिए । सीआर७ को नामले नै प्रख्यात रोनाल्डोले त्यसअघि म्यानचेस्टर युनाइटेडमा पनि उक्त जर्सी नै प्रयोग गरेका थिए । तर रोनाल्डो रियल म्याड्रिडमा आउँदा तत्कालिन कप्तान राउलले ७ नम्बर जर्सी लगाएका कारण रोनाल्डोले ९ नम्बर लगाएका थिए ।

रियलका लागि रोनाल्डो र राउलसँगै अन्य महान खेलाडीले पनि यो जर्सी प्रयोग गरेका छन् । गोलले सन् १९४० देखि हालसम्म रियल म्याड्रिडको जर्सी नम्बर ७ प्रयोग गर्ने खेलाडीको इतिहास अध्ययन गरेको छ ।

सुरुवाती दिन : कोपा, आमान्सियो, जुआनिटो

रियल म्याड्रिडको नाम विश्व फुटबल इतिहासमा थुप्रै पन्नामा भेटिन्छ । सन् १९४७ नोभेम्बर २३ मा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबीचको खेलमा पहिलो पटक जर्सी नम्बर अंकित गरिएको थियो । सुरुवाती समयमा जर्सी नम्बर खेलमा रहेको पोजिसनको आधारमा तोकिन्थ्यो । पहिलो रोजाइमा पर्ने खेलाडीले १ देखि ११ नम्बरसम्म जर्सी लगाउँथे ।

रियलमा सबैभन्दा पहिला फरवार्ड साबिनो बरिनागाले जर्सी नम्बर ७ प्रयोग गरे । त्यसपछि मिडफिल्डर जोसे मारिया जार्रागाले पनि यो जर्सी लगाए । तर जर्सी नम्बर ७ लगाएर क्लबका लागि उल्लेखनीय योगदान दिने पहिलो खेलाडी रेमन्ड कोपा थिए ।

फ्रान्स र स्पेनिस फुटबलका दिग्गज खेलाडी कोपाले आफ्नो करीअरको अधिकांश समय फ्रान्समै बिताए । उनले रेइम्सबाट खेल्दै आफ्नो करीअरलाई उचाई दिए । रियल म्याड्रिडमा सन् १९५६ देखि १९५९ सम्म खेल्दै उनले स्पेनिस फुटबलमा पनि आफ्नो छाप छोडे ।

कोपाले त्यसबेला अल्फ्रेडो डी स्टेफानो र फेरेन्च पुस्काससँग खेल्दै रियलमा सफल समय बिताए । त्यसबेला उनले दुई पटक लिग उपाधि र ३ ओटा युरोपेली कप जिते । अन्तिम उपाधि जित्दा रियलले रेइम्सलाई पराजित गरेको थियो । कोपा त्यस सिजनपछि पुन: रेइम्स नै फर्किए ।

कोपाको प्रस्थानपछि जर्सी नम्बर ७ अन्य खेलाडीले प्रयोग गरे । तर कसैले पनि त्यसमा प्रभाव जमाउन सकेनन् । सम १९६३ मा अमान्सियोले रियल आएपछि जर्सी नम्बर ७ रोजे । डेपोरटिभो ला कोरुनाबाट आएका राइट विंगर उनले रियलमा १३ वर्ष खेले ।

यसक्रममा उनले ९ ओटा लिग उपाधि जिते । दुई पटक लिगको सर्वाधिक गोलकर्ता बनेका उनी सन् १९६८ मा फिफाको विश्व ११ मा पनि पर्न सफल भए । ‘द विजर्ड’ अर्थात् जादुगरका नामले परिचित अमान्सियोले रियलका लागि १ सय ५५ गोल गरे । उनले खेलाडी जीवनबाट सन्न्यास लिएपछि क्लबको एकेडेमी र सिनियर टिममा प्रशिक्षकको भूमिका पनि निर्वाह गरे ।

अमान्सियोको सन्न्यासपछि जर्सी नम्बर ७ हेन्निङ हेन्सन हुँदै इटोसम्मले लगाए । त्यसपछि फरवार्ड जुआनिटोले उक्त जर्सी पहिरिए । सन् १९७७ मा बुर्गोसलाई दोस्रो श्रेणीबाट उकालेपछि उनी रियल म्याड्रिड आएका थिए । एटलेटिकोमा युवा खेलाडी रहँदा गम्भीर चोट बोकेका जुआनिटोको करीअर धरापमा रहेको आँकलन गरिएको थियो । तर इनले उत्कृष्ट पुनरागमन गरे ।

रियल म्याड्रिडबाट जुआनिटोले ३ सय ५० खेल खेल्दै ९९ गोल गरे । यसक्रममा उनले पाँच पटक लिग उपाधि र दुई पटक यूईएफए कप जिते । एक सिजन त उनी सर्वाधिक गोलकर्ता पनि भएका थिए । झन्डै एक दशक क्लबमा बिताएपछि उनले मालागालाई नयाँ गन्तव्य बनाए । उनको सन् १९९२ मा ३७ वर्षको उमेरमा सडक दुर्घटनामा मृत्यु भएको थियो ।

आधुनिक युग : बुट्रागेनो, राउल र रोनाल्डो

सन् १९८७ मा जुआनिटोले रियल म्याड्रिड छोड्ने बितिक्कै एमिलियो बुट्रागेनोले जर्सी नम्बर ७ लगाए । गोल गर्ने तीक्ष्ण नजरका कारण उनले ‘द भल्चर’ अर्थात् गिद्धको उपनाम पाएक थिए । रियलको युथ एकेडेमीमा हुर्केर दोस्रो टोली हुँदै सिनियर टोलीमा आएका उनले सन् १९८४ मा अल्फ्रेडो दि स्टेफानोको प्रशिक्षणमा डेब्यु गरेका थिए ।

डेब्यु खेलमा नै एमिलियोले गजबको प्रभाव छाडेका थिए । रियल २-० ले पछाडी भएको अवस्थामा मैदान छिरेका उनले २ गोल र एक असिस्ट प्रदान गर्दै टोलीलाई जित दिलाए । त्यसबेला केहि कमजोर देखिंदै गएको म्याड्रिडमा उनी आशाका किरणका रुपमा उदाए ।

१९८० को दशकको मध्यतिर एमिलियोले नै म्याड्रिडको आक्रमण सम्हाल्दै सफलता दिलाए । उनले क्लबको उपाधि कक्ष भर्दै गए र कुल १ सय २३ गोल पनि गरे । सन् १९९५ मा उनले म्याड्रिड छोड्दा जर्सी नम्बर ७ को महत्त्व निकै ठूलो भैसकेको थियो । राफेल मार्टिन भाज्केज, अल्फोन्सो, लुइस एन्रिके, जोसे आमाभिस्का र जान एसनाइडर सबैले यसको प्रयोग गरेपनि टिकाउन सकेनन् । त्यसपछि राउल गोन्जालेजले उक्त जर्सीलाई न्याय दिए ।

एमिलियोकै पथमा आएका राउल रियलको युथ एकेडेमीका खेलाडी थिए । राउलले रियलको जर्सीमा १६ वर्ष खेल्दै थुप्रै कीर्तिमान बनाए । रियल म्याड्रिड र स्पेनी राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता भए । च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने । उनी ला लिगा र च्याम्पियन्स लिगमा दुई पटक सर्वाधिक गोलकर्ता बने । सन् २००१ को ब्यालोन डी’ओरमा दोस्रो भएका उनले क्लब र देश दुवैको कप्तानी गरे ।

raul real

राउलले सन् १९६० को दशकमा डी स्टेफानोले राखेको कीर्तिमान तोडेका थिए । राउलले आफ्नो रियल करीअरमा ३ सय २३ गोल गरे । आधुनिक युगका रियलका समर्थकले राउल करीअरको उत्तर्रार्द्धमा रहँदा खेल हेरेका कारण उनको महत्त्व केहि कम आँक्न सक्छन् । तर कमै खेलाडीले लामो समयसम्म राउलजसरि क्लबका लागि योगदान दिएका छन् । त्यसो त डी स्टेफानोको कीर्तिमान १९६४ देखि २००९ सम्म रहेकोमा राउलले तोडेका थिए । तर राउलको कीर्तिमान सन् २०१५ मै रोनाल्डोले तोडिदिए ।

रोनाल्डोले राउलसँग रहेर खेल्दा जर्सी नम्बर ९ प्रयोग गरे । राउलले क्लब छाडेर जर्मन क्लब साल्का गएसँगै रोनाल्डोले जर्सी नम्बर ७ पहिरिए र क्लबमा नयाँ इतिहास रचे । उनले आफ्नो रियल बसाईंमा ४ सय ५१ गोल गरे । यसक्रममा ४ च्याम्पियन्स लिग जित्ने अद्भुत उपलब्धि पनि उनले हासिल गरे । विश्व फुटबलले देखेको सबैभन्दा ठूलो प्रतिस्पर्धा, लिओनेल मेस्सी र रोनाल्डोको उत्कृष्टताको होड पनि आधुनिक युगले देख्यो ।

रियलको इतिहासमा डी स्टेफानोको प्रभाव कुनैपनि खेलाडीले तोड्ला या नातोडला भन्ने प्रश्न सधैं रहन्छ । तर यो पक्का छ की रोनाल्डो रियलको आधुनिक युगका सबैभन्दा ठूला खेलाडी रहे । रोनाल्डोले क्लब छाडेपछि मारियानो डियाजले उक्त जर्सी प्रयोग गरे । यसबारे जति कम सोच्यो, त्यति राम्रो हुन्छ ।

यस सिजन इडेन हाजार्डले जर्सी नम्बर ७ रोजे । चेल्सीबाट मोटो रकममा रियल आएका उनको पहिलो सिजन चोटले गर्दा अपेक्षित रुपमा अगाडी बढ्न सकेन । सुरुवाती युगका कोपादेखि आधुनिक नायक रोनाल्डोसम्म जति पनि जर्सी नम्बर ७ लगाए जमे, हाजार्डले त्यो सुचिमा आफूलाई उभ्याउन पक्कै सहज हुनेछैन ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.