default_image

4 years ago

June 9, 2020

फ्लोरियन वर्ट्ज : जर्मन फुटबलको नयाँ अनुहार

43 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित दर्ता गर्न सफल रहयो । उक्त खेलमा अग्रता लिएपनि हार बेहोरेको लेभरकुसनको लागि केहि सुखद पक्ष भने रहयो ।

स्टार मिडफिल्डर काई हाभर्ट्ज चोटका कारण खेलमा उपस्थिति नरहेपछि लुकास अलारियोले आक्रमण सम्हालेका थिए । उनले खेलको दशौं मिनेटमा नै अग्रता पनि दिलाए । तर बायर्न खेलमा फर्कियो र सहज जित दर्ता गर्यो । हाभर्ट्जको अनुपस्थितिले पनि लेभरकुसनको आक्रमण केहि कमजोर बनेको थियो ।

त्यसो त हाभर्ट्जले सिजनको अन्त्यमा क्लब छाड्ने लगभग पक्काजस्तो देखिँदा लेभरकुसनले उनीबिना ठूलो टोलीसँग कस्तो खेल्छ भन्ने कौतुहल पनि धेरैलाई थियो । प्रदर्शनका हिसाबमा सन्तोषजनक देखिएको लेभरकुसनले खेलको अन्त्यमा भने सकारात्मक पक्ष पाएको छ ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका १७ वर्षीय फ्लोरियन वर्ट्जले खेलको अन्तिम समयमा गोल गर्दै जर्मन बुन्डेसलिगामा कीर्तिमान रचे । क्लबको सिनियर टोलीका लागि चौथो पटक खेलेका उनले खेलमा दोस्रो प्रयासमा गोल गर्न सफल रहे । पहिलो प्रहार गोलरक्षक नोएरले बचाएपछि उनको दोस्रो प्रयास भने गोलमा परिणत भयो ।

यसक्रममा उनले विश्वकप विजेता डिफेन्डर लुकास हर्नान्डेजलाई बिट गर्दै अर्का विश्वकप विजेता नोएरलाई बचाउने कुनै मौका दिएनन् । यसअघि कम उमेरमा गोल गर्ने कीर्तिमान मिडफिल्डर नुरी साहिनको नाममा थियो । वर्ट्जले साहिनको कीर्तिमान ४८ दिनले पछि पारेका हुन् ।

वर्ट्जको जन्म सन् २००३ मा जर्मनीको राइन्ल्यान्ड क्षेत्रको पुल्हाइममा भएको हो । उनी ७ वर्षको उमेरमा नै एफसी कोल्नको एकेडेमीमा प्रशिक्षण गर्न थालेका थिए । कोल्नमा झन्डै एक दशक बिताएका उनले उमेर समूहमा आफ्नो क्लबको कप्तानी गर्दै जर्मनीको उमेर समूहको विभिन्न राष्ट्रिय टोलीबाट खेले ।

वर्ट्जले सन् २०१९/२० सिजन कोल्नको अन्डर-१७ टोलीमा खेल्दै सुरुवात गरेका थिए । आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने उनले १० खेलमा ८ गोल गरेपछि धेरैको ध्यान खिच्न सफल रहे । उमेर समूहको टोलीमा उत्कृष्ट प्रदर्शन गरेपछि उनीमाथि अन्य क्लबको पनि नजर परेको थियो ।

जर्मन फुटबल संघका युथ टोलीका प्रमुख प्रशिक्षक मेइकल सोन्वेट्जको भनाइमा वर्ट्ज जर्मन फुटबलले निकै आशा राखेको खेलाडी हुन् । ‘ उनी स्तरीय केलादी हुन् । प्राविधिक रुपमा निकै बलिया छन् । मिडफिल्डमा खेल्ने गरेका उनी आफ्नो वरपर के हुन्छ भन्ने पहिला नै आँकलन गर्न सक्ने क्षमता राख्छन्,’ उनले भने, ‘ उनी निकै तेज छन् र सोचाइ पनि गजबको छ । हामीले उनीबाट ठूलो आशा राखेका छौं ।’

कोल्नले पनि वर्ट्जमाथि निकै आशा राखेको थियो । तर जनवरी २०२० मा लेभरकुसनले जर्मनीको सबैभन्दा उम्दा युवा खेलिखेलाडीलाई क्लबमा भित्र्याउन सफल रहयो । यो विवादमुक्त भने रहन सकेन । कोल्नले आफ्नो खेलाडीलाई राख्न नसक्नुमा अन्य क्लबको भूमिकामाथि प्रश्न उठाएको थियो ।

लेभरकुसनका निर्देशक रुडी भोलरका अनुसार वर्ट्जको प्रतिभा देखेर नै क्लबले उनलाई उच्च प्राथमिकतामा राखेको थियो । ‘ उनी उत्कृष्ट खेलाडी हुन् । उनको सम्झौता सकिन लागेको थियो र बजारमा उपलब्ध थिए । यस्तो खेलाडीलाई अनुबन्धन गर्ने प्रयास नगर्नु ठूलो गल्ति हुने थियो । हाम्रो सम्झौता प्रस्तावमा खेलाडी पनि खुसी भएपछि हामीले अनुबन्ध गर्यौं,’ उनले भने ।

वर्ट्जले लेभरकुसनसँग सम्झौता गर्दा उनको उमेर मात्र १६ वर्ष थियो । उनले छोटो समयमा नै आफूलाई सिनियर टोलीसम्म ल्याए । कोरोना संक्रमणका कारण स्थगित भएको लिग सुचारु भएको पहिलो खेलमा नै उनले सिनियर टोलीबाट डेब्यु गरे । उनी वेर्डर ब्रेमेनविरुद्ध खेलमा पहिलो रोजाईमा पर्दै राइट विंगबाट खेले ।

लेभरकुसनका प्रशिक्षक पिटर बोस्जले खेलपछि उनको प्रशंसा गरे । ‘ उनलाई हामीले राइट विंगमा खेलाएपनि राम्रो प्रदर्शन गरे । उनी बलमा ढुक्क देखिए र आक्रमणमा अगाडी बढे । हाम्रो योजना अनुसार खेल्न सक्नु राम्रो हो । सबैभन्दा राम्रो भनेको उनी खेलमा नर्भस भएनन्,’ बोस्जले थपे ।

लेभरकुसन आएसँगै वर्ट्जको तुलना युवा अवस्थामा नै उक्त क्लबमा आएर सफल करीअर बनाउन सफल खेलाडीसँग हुन थालेको छ । केहि वर्ष अघिमात्र जुलियन ब्रान्टले वल्फ्सबर्गबाट १७ वर्षको उमेरमा आएर आफूलाई सिनियर टोलीमा स्थापित गरेका थिए । ब्रान्टजस्तै वर्ट्ज पनि आक्रमक मिडफिल्ड पोजिसनमा भिजेका खेलाडी हुन् । उनको ड्रीबल गर्ने क्षमता र पास गर्ने कलाले विपक्षी टोलीलाई निकै कष्ट हुनेछ ।

वर्ट्जले डेब्यु खेलमा नै कीर्तिमान रचेका थिए । ब्रेमेनविरुद्ध खेलमा उत्रँदा उनी क्लबको सिनियर टोलीमा खेल्ने सबैभन्दा कान्छा खेलाडी थिए । यसक्रममा उनले तीन वर्षअघि काई हाभर्ट्जले राखेको कीर्तिमान तोडे । हाभर्ट्जमाथि युरोपका ठूला क्लबहरुले नजर राख्दा लेभरकुसनले पनि अब उनीबिना भविष्य परिकल्पना गर्न थालिसकेको छ । वर्ट्जका रुपमा लेभरकुसनले हाभर्ट्जको रेडिमेड विकल्प पाएको छ ।

May 21, 2024

टोनी क्रुसद्वारा सन्न्यासको घोषणा

एजेन्सी – रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् । आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल […]

May 21, 2024

सामाजिक र खालीबारीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन् । बराबरी सँगै ९ खेलमा १२ अंक सहित सामाजिक सातौं स्थानमा रहेको छ भने खालीबारी […]

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

Success

Thank you for your time.