default_image

5 years ago

August 23, 2020

पीएसजी विरुद्ध बायर्न म्युनिख : सम्पूर्ण जानकारी

314 views

0 Bookmark

एजेन्सी – जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको लिगको टोलीलाई पन्छाउदै यो सिजनको यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका छन् । फाइनल आइतबार राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । खेल नेपालमा टेन २ एचडीमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

प्रतिस्पर्धा कम हुने र एकै टोलीले लगतार वर्चस्व जमाइरहने भएका कारण जर्मनी र फ्रान्सको लिगलाई फार्मर्स लिगको संज्ञा दिइएको थियो । तर, यही राष्ट्रका क्लबले स्पेन, इंग्ल्यान्ड र इटलीको क्लबलाई क्वाटरफाइनलभन्दा अघि बढ्न दिएनन् ।

बायर्न ११औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएको हो । बायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान बनायो । यस्तोमा पीएसजी पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुँदा बायर्न छैटौपटक च्याम्पियन बन्ने योजनामा हुनेछ ।

दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । उपाधिको बलियो दावेदार बायर्नले यो सिजन ५१ खेल खेल्दा ४२ जित, ४ बराबरी र ५ हारको नतिजा निकालेको छ । यसक्रममा बायर्नले घरेलु दुई प्रतियोगिता जित्दै एकमा उपविजेता बनेको छ । यसक्रममा बायर्नले १५८ गोल गर्दा ५० गोल खाएको छ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की गोल मेसिनको रुपमा उभिएका छन् । उनले ४६ खेलमा ५५ गोल गर्दै यो सिजन सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनी एक सिजन १७ गोल गर्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । उनी रोनाल्डोको कीर्तिमान बराबरी या तोड्ने अभियानमा हुनेछ ।

पीएसजीविरुद्ध लेवान्डोस्की नै मुख्य हतियार हुनेछ । बायर्नसँग थोमस मुलर, लियोन गोरेट्ज्का, सर्जी जिनाब्री, म्यानुयल नुएर, अलफन्सो डाभिस, जेरोमी बोएटिङ र जोसुवा किम्मिचजस्ता खेलाडीको साथ रहनेछ ।

यता, यस सिजन फ्रान्सको घरेलु फुटबलका चार उपाधि जितिसकेको पीएसजी सिजनको पाँचौ उपाधि जित्दै च्याम्पियन्स लिगम जित्दै इतिहास रच्न चाहन्छ । सिजनको सुरुवातमा फ्रान्सेली सुपर कप जितेको पीएसजीले फ्रेन्च लिगसँगै फ्रेन्च कप र फ्रेन्च लिग कप जितेको थियो । पीएसजीले यो सिजन ४८ खेल खेल्दा ४० जित ४ बराबरी र हारको नतिजा निकालेको छ । यसक्रममा १३६ गोल गर्दा ३४ गोल खाएको छ ।

पीएसजीका लागि केलियन एमबाप्पे र नेयमार जस्ता विश्वस्तरिय खेलाडीको साथ रहेको छ । एमबाप्पेले यो सिजन ३० गोल तथा नेयमारले १९ गोल गरेका छन् । यस्तै मौउरो इकार्डी, मार्किन्योस, एन्जल डी मारिया र जुआन बर्नाट, थियागो सिल्भा, पाब्लो साराविया, एन्डर हरेरा, जुलियन ड्राक्सलर, थिलो केरहर र इरिक म्याक्सिम चुपो मोटिङ जस्ता खेलाडीहरु रहेका छन् ।

बायर्न र पीएसजीको पछिल्लो तीन खेलमा बायर्न दुई पटक तथा पीएसजी एकपटक विजयी भएको छ । यि दुई टोली पछिल्लोपटक २०१८ मा च्याम्पियन्स कपमा भिडेका थिए । जसमा बायर्न ३–१ ले विजयी भएको थियो । त्यसअघि च्याम्पियन्स लिगको समूह चरणमा बायर्नले ३–१ ले जित्दा पीएसजीले पनि ३–० को जित निकालेको छ ।

‘पीएसजी विश्वकै उत्कृष्ट टोलीमा गनिन्छ’ – बायर्न प्रशिक्षक फ्लिक

बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले यूईएफए च्याम्पियन्स लिग फाइनलको प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई विश्वकै उत्कृष्ट टोलीमध्यको एक रहेको बताएका छन् ।

फ्लिक पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनलमा टोलीको नेतृत्व गर्दैछन् । बायर्नले यस सिजन घरेलु फुटबलमा दुई उपाधि जितिसकेको छ । यस उपाधि जितेमा बायर्नले सिजनको तेस्रो उपाधि जित्दै दुर्लभ ‘ट्रेबल’ सफलता हासिल गर्नेछ । बायर्नले यसअघि सन् २०१३ मा जुप हाइन्कसको नेतृत्वमा यो सफलता हासिल गरेको थियो ।

‘हामी पेरिसको सामना गर्दैछौं । मेरो विचारमा विश्वको उत्कृष्ट मध्यको टोली हो पेरिस,’ उनले भने, ‘उनीहरुको प्रशिक्षक उत्कृष्ट छन् र खेल्ने रणनीति पनि गजबको छ । म टुचेललाई प्रशिक्षक मात्र नभएर एक व्यक्तिको रुपमा पनि प्रशंसा गर्दछु ।’

सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा बायर्नले सहज जित हासिल गरेको थियो । प्रशिक्षक फ्लिक यसका बाबजुद आइतबार हुने फाइनलमा आफ्नो रणनीति परीवर्तन नगर्ने बताउँछन् ।

‘हाम्रो खेल्ने शैली नै पोजिसन अनुसार माथि चढेर खेल्नु हो । हाम्रो मुख्य ध्यान बलमा रहँदा दबाब कायम गर्नेमा हुनेछ । हामीले लियोन र बार्सिलोनाको खेल फेरी हेर्यौं, हामीले विपक्षीलाई पास दिने अवसर नदिनु नै मुख्य योजना हो,’ उनले थपे, ‘पेरिसमा धेरै राम्रा खेलाडी छन् । यो खेल निकै चाखलाग्दो हुनेछ । हामी आफ्नो योजनामा अडिग छौं ।’

फ्लिकले आफ्नो टोलीमा उपलब्ध विकल्पका कारण नकआउट चरणमा निकै सहज भएको स्वीकारे । ‘हामीलाई खेलाडीको राम्रो विकल्प छ । बेन्चबाट आएर पनि किंग्सले कोमन र फिलिपे कोउटिन्होले निकै सहयोग गरेका छन् । हामीले धेरै खेल खेलेका कारण स्वास्थ्य अवस्था हेरेर टोली उतार्नुपर्ने अवस्था थियो,’ फ्लिकले भने ।

‘बायर्नको गल्तिमा फाइदा उठाउनुपर्छ’ – पीएसजी प्रशिक्षक टुचेल

पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले यूईएफए च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखको गल्तीको फाइदा उठाएर नै जित सम्भव रहने बताएका छन् ।

प्रशिक्षक टुचेलले क्लबलाई पहिलो च्याम्पियन्स लिग जिताउन सहज भने नहुने बुझेका छन् । ‘बायर्नसँगको खेल निकै कठिन हुनेछ । बायर्नमा उत्कृष्ट स्तरका खेलाडी छन् । तर जुन टोलीको पनि कमजोरी हुन्छ र त्यो कमजोरीको फाइदा हामीले उठाउनुपर्ने हुन्छ, ‘ टुचेलले भने, ‘हामीले स्वतन्त्र रुपमा आफ्नो खेल खेल्दै पाएको अवसरको फाइदा उठाउनुपर्छ । टोलीको मनोबल उच्च छ ।’

टुचेलका अनुसार पछिल्लो दशकमा दुई पटक फाइनल खेलेका कारण पनि बायर्नलाई अनुभवको आधारमा केहि सहयोग पुग्ने बताए । ‘बायर्नसँग ठूलो खेल खेलेको अनुभव छ । बायर्न आफैंमा ठूलो क्लब हो । फाइनलको अनुभव हुनु चानचुने कुरा होइन तर यसले खेलमा निर्णायक भूमिका पनि खेल्दैन,’ उनले थपे ।

फाइनलअघि पीएसजीलाई चोटको समस्याले पिरेलोको थियो । तर टुचेलले फाइनलका लागि सबै खेलाडी पूर्ण रुपमा फिट रहेको बताएका छन् । ‘सेमिफाइनलमा चोटका कारण सुरुवात गर्न नसकेका मार्को भेराट्टी र इड्रीसा गेये प्रशिक्षणमा फर्केका छन् । दुवै फाइनलका लागि उपलब्ध छन्,’ उनले भने, ‘गोलरक्षक केलर नाभासको हकमा भने अझै निर्णय लिन सक्ने अवस्था छैन । उनको खेलअघि अवस्था हेरेर के गर्ने थाहा हुन्छ ।’

‘म इतिहास रच्न पीएसजी आएको हुँ’ – एमबाप्पे

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पेले आफू इतिहास रच्नकै लागि क्लबमा आएको बताएका छन् ।

यूईएफए च्याम्पियन्स लिग फाइनलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै एमबाप्पेले आफ्नो धारणा प्रस्तुत गरेका हुन् । सन् २०१७ मा मोनाकोबाट मोटो रकममा पीएसजी आएका एमबाप्पेले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । यस सिजन चोटका कारण विश्राममा रहेका एमबाप्पे क्वाटरफाइनलमा एटलान्टाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

२१ वर्षीय एमबाप्पे फाइनलमा बायर्न म्युनिखलाई पराजित गर्दै क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग उपाधि दिलाउन चाहन्छन् । ‘ म यो क्लबमा आउनुको कारण नै यहि हो । म सधैं भन्दै आएको छु की म फ्रान्सेली फुटबलमा इतिहास लेख्न चाहन्छु । फाइनल मेरो लागि अर्को अवसर बनेर आएको छ,’ एमबाप्पेले भने ।

‘मा २०१७ मा आउँदा पीएसजीमा केहि समस्या थियो । अहिले हामी फाइनलमा छौं । हाम्रो निरन्तर मिहिनेतको कारण नै यो सम्भव भएको हो । फ्रान्सेली क्लबले च्याम्पियन्स लिग जितेको हेर्न नै मैले पीएसजीसँग अनुबन्धन गरेको हुँ,’ उनले थपे ।

‘ मेरो सपना सधैं उत्कृष्ट खेलाडीको सामना गर्नु थियो । उत्कृष्ट खेलाडीको सामना गर्दै हराउनु पनि पर्छ । हामी सधैंझैं आफ्नो प्रदर्शनमा ध्यान दिनेछौं । क्लब फुटबलको सर्वोच्च उपाधि पेरिसमा लाग्न चाहन्छौं,’ एमबाप्पेले भने, ‘अहिले बिनादर्शक खेल्दा पक्कै केहि कठिन छ । अहिले दर्शक मैदानमा नभएपनि हामीलाई साथ दिइरहनुभएको छ । यो निकै विशेष समय हो ।’

एमबाप्पेले फाइनलअघि आफू पूर्ण रुपमा फिट रहेको बताए । ‘दिन बित्दै जाँदा मेरो अवस्था सुध्रिएको छ । म ठिक छु । मैले चोटपछि केहि खेल खेल्न पाएर पनि फाइनलको तयारी गर्न सहज भयो,’ उनले भने, ‘म्युनिख एकदम राम्रो टोली हो । तर हरेक टोलीको कमजोर पक्ष हुन्छ नै । हामी उनीहरुको सामना गर्न तयार छौं ।’

एमबाप्पेले प्रशिक्षक थोमस टुचेलको प्रशंसा गर्दै उनले निकै साथ दिएको बताए । ‘पक्कैपनि हामी सबैले प्रशिक्षकलाई साथ दिइरहेका छौं । कतिपयले हाम्रो प्रशिक्षक स्टार खेलाडीहरु व्यवस्थापन गर्न नसक्ने बताइरहेका थिए,’ उनले भने, ‘हामीले उनकै नेतृत्वमा उत्कृष्ट नतिजा निकालिरहेका छौं । हामी च्याम्पियन्स लिगमा फाइनल खेल्दैछौं र हाम्रो मनोबल पनि उच्च छ ।’

नेयमारलाई सुवर्ण अवसर

तीन वर्षअघि नेयमार विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदा ब्राजिलियन सुपर स्टारले आफूमाथि क्लबले गरेको लगानीमा न्याय गरेका छन् ।

एट्लान्टाविरुद्धको क्वार्टरफाइनल वा आरबी लिप्जिगविरुद्धको सेमिफाइनलमा नेयमारले गोल गरेनन् । तर, दुवै खेलमा उनको प्रदर्शन स्तरीय रहेको थियो । त्यहि प्रदर्शनबाट प्रेरित टोली इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको थियो । २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका नेयमारको नयाँ क्लबको यात्रा सहज भने रहेन ।

पिएसजी पुगेको केहि समयमै नेयमार आफैं बार्सिलोना छाड्नु गल्ति थियो भन्ने अवस्थामा पुगेको अनुमान गरिएको थियो । उनको व्यवहारबाट पनि त्यस्तै देखिन्थ्यो । गत सिजन पनि उनी पुन क्याम्प नोउ फर्कनका लागि हरसम्भव प्रयास गरेका थिए । तर, अन्तिम समयमा सुरुवा सफल भएन ।

पिएसजीले नेयमारलाई भित्राउनको मुख्य कारण भनेको च्याम्पियन्स लिग जित्नु थियो । तर, पछिल्लो दुई सिजन टोलीको च्याम्पियन्स लिग सम्झन लायक रहने । यसपटक टोली उपाधि नजिक पुग्दा नेयमारको प्रदर्शन अविश्वसनिय रहेको छ ।

दुई सिजन चोटका कारण उनले खेल्न पाएनन् । २०१८ मा रियल म्याड्रिड र गत वर्ष म्यानचेस्टर युनाइटेडसँग पिएसजी खेल्दा नेयमार थिएनन् । दुवै पटक पिएसजी अन्तिम १६ बाट बाहिरिएको थियो ।

यो सिजन नेयमार फिट मात्र होइन उच्च फर्ममा छन् । बोरुसिया डर्टमुन्डविरुद्ध अन्तिम १६ को दोस्रो लेगमा उनले दुई गोल गरेका थिए । आज बार्यन म्युनिखविरुद्ध हुने फाइनलमा पनि उनीबाट बढी नै अपेक्षा गरिएको छ ।

लियोन मेस्सीको छायाँबाट मुक्त हुने उद्देश्यका साथ नेयमारले बार्सिलोना छाडेका थिए । काटलान क्लबमा हुँदा नेयमारले २०१५ मा च्याम्पियन्स लिग जितेका थिए । फाइनलमा गोल गर्नका वावजुद जितको श्रेय उनलाई जाने अवस्था थिएन ।

यसपटक लिस्बनमा हुने फाइनलमा भने नत उनका पूर्व सहकर्मी मेस्सी हुनेछन् न त युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो रहनेछन् । नेयमारसँग त्यस्ता सुपरस्टार विना च्याम्पियन्स लिग जित्ने मौका आएको छ । च्याम्पियन्स लिग जित्न सके पिएसजीको लागि सिजनको उपाधि हुनेछ । कोभिड १९ का कारण रद्द भएको लिग वान विजेता बनेको पिएसजीले घरेलु फ्रेन्च कप र सुपर कप जितेको थियो ।

सबै उपाधिमा नेयमारको महत्त्वपूर्ण योगदान रह्यो । उनले यो सिजन १९ गोल गर्नुका साथै ११ एसिस्ट गरेका छन् । तीन वर्ष यात्रामा उनले पिएसजीबाट ८२ खेल खेलिसकेका छन् । यस अवधिमा ७० गोल र ४० एसिस्ट गरेका नेयमारले ९ उपाधि जितेका छन् ।

नेयमार भर्सेस लेवान्डोस्की

बायर्न म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की यस सिजन उच्च लयमा छन् । क्वाटरफाइनलदेखि एक लेगको खेल भएपनि लेवान्डोस्कीले १५ गोल गरिसकेका छन् । समग्रमा यस सिजन लेवान्डोस्कीले ५५ गोल गरेका छन् । च्याम्पियन्स लिगमा लगातार खेलमा गोल गर्दै आएका लेवान्डोस्कीले फाइनलमा पनि बायर्नको आक्रमण सम्हाल्नेछन् ।

लेवान्डोस्कीलाई च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने रोनाल्डाको कीर्तिमानलाई बराबरी या तोड्ने अवसर छ । युभेन्टसमा रहेका रोनाल्डाले २०१३–१४ को सिजनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट १७ गोल गरेका थिए ।

लेवान्डोस्कीलाई आक्रमणमा थोमस मुलर र सर्ज जिनाब्रीले साथ दिनेछ । जिनाब्रीले पनि च्याम्पियन्स लिगमा ९ गोल गरिसकेका छन् । यी दुईसँगै थोमस मुलर र इभान पेरिसिचले आक्रमण सम्हाल्ने देखिन्छ । मिडफिल्डर लिओन गोरेट्जका र थियागो अलाकान्ट्राले आक्रमणसँग समन्वय गर्नेछन् ।

यता, महँगा ब्राजिली खेलाडी नेयमार र फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पीएसजीका लागि मुख्य हतियार हुनेछन् । पछिल्ला खेलमा नेयमारको प्रदर्शन नै पीएसजीको जितमा निर्णायक सावित हुँदै आएको छ । उनले गोल गर्ने मात्र नभएर मुभ सिर्जना गर्न र आक्रमण हाफमा बल होल्ड गर्दै डिफेन्सको टाउको दुखाइ बन्दै आएका छन् ।

पीएसजीसँग नेयमार र एमबाप्पेजस्ता विश्वस्तरीय खेलाडी छन् । यि २८ वर्षीय ब्राजिली खेलाडी जुनसुकै मूल्यमा पनि च्याम्पियन्स लिग जित्न चाहन्छन् । उनलाई सहयोग गर्ने मुख्य खेलाडी केलियन एमबाप्पे  हुनेछन् । एमबाप्पेले यो सिजन ३१ तथा नेयमारले १९ गोल गरेका छन् । सँगसँगै एन्जल डी मारियाले पनि आक्रमणमा यी दुईलाई साथ दिनेछन् ।

दुवै टोली आक्रामक रणनीतिमा खेल्ने भएकाले यो खेल ‘लेवान्डोस्की भर्सेस नेयमार’ को प्रतिस्पर्धाको रुपमा हेरिएको छ । पीएसजी पहिलो उपाधिका लागि संघर्ष गरिरहेको भएपनि  नेयमारले यसअघि बार्सिलोनाबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । लेवान्डोस्की भने डर्टमुन्डको जर्सीमा रहँदा बायर्न म्युनिखसँग फाइनलमा पराजित भएका थिए ।

फाइनल ‘मेड इन जर्मनी’ : फ्लिक भर्सेस टुचेल

यो खेललाई दुई उत्कृष्ट प्रशिक्षक बायर्नका हान्सी फ्लिक र पीएसजीका थोमस टुचेलबीचको भिडन्तको रुपमा पनि हेरिएको छ । दुवै जर्मन प्रशिक्षक हुन् ।

टुचेल १४ मे २०१८ मा पीएसजीको प्रशिक्षक नियुक्त भएका थिए । त्यसअघि उनी दुई वर्ष जर्मन क्लब बोरुसिया डर्टमुन्डको प्रशिक्षक रहेका थिए। ४६ वर्षीय टुचेलको प्रशिक्षणमा पीएसजीले १०३ खेल खेल्दा ८० जित ११ बराबरी र १२ हारको नतिजा निकालेको छ । यसक्रममा पीएसजीले यो सिजन चार उपाधि जितिसकेको छ ।

क्लबले खराब प्रदर्शन गरेसँगै बायर्नले निको कोभाकलाई बर्खास्त गर्दै ३ नोभेम्वर २०१९ मा फ्लिकलाई पूर्णकालीन प्रशिक्षक नियुक्त गरेको थियो । उनी त्यसअघि सहायक प्रशिक्षक रहेका थिए । सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा फ्लिक टोलीको सहायक प्रशिक्षक रहेका थिए ।

५५ वर्षीय फ्लिकको प्रशिक्षणमा बायर्नले यो सिजन दुई उपाधि जितेको छ । बायर्न बुन्डेसलिगा च्याम्पियन र डिएफबी पोकल च्याम्पियन बनेको थियो । फ्लिकको प्रशिक्षणमा बायर्नले ३५ खेल खेल्दा ३२ खेलमा जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ ।

अनुभवको हिसावले टुचेल फ्लिकभन्दा माथि छन् । तर, नतिजाको आधारमा फ्लिक पनि सफल नै देखिएको छ । यि दुवै प्रशिक्षक पनि आफ्नो प्रशिक्षणमा पहिलो च्याम्पियन्स लिग जित्ने दाउमा हुनेछन् ।

सम्भावित सुरुवाती ११ :

पीएसजी : नाभास – बर्नाट, किम्पेम्बे, सिल्भ, केहरर – मार्किन्हस, पारेडेस, गेये – डी मारिया, नेयमार, एमबाप्पे

बायर्न : नोएर – किम्मिच, बोटेङ, अलाबा, डेभिस – गोरेट्जका, थियागो – पेरिसिच, मुलर, जिनाब्री – लेवान्डोस्की

बायर्नको फाइनल यात्रा

समूह चरण

रेडस्टार बेलग्रेडविरुद्ध (३–०) , टोटेनहमविरुद्ध (७–२), ओलम्पियाकोसविरुद्ध (३–२), ओलम्पियाकोसविरुद्ध (२–०), रेडस्टार बेलग्रेडविरुद्ध (६–०), टोटेनहमविरुद्ध (३–१)

प्रि–क्वाटरफाइनल

चेल्सीविरुद्ध (३–०), चेल्सीविरुद्ध (४–१)

क्वाटरफाइनल

बार्सिलोनाविरुद्ध (८–२)

सेमिफाइनल

लियोनविरुद्ध (३–०)

पीएसजीको फाइनल यात्रा

समूह चरण

रियल मड्रिडविरुद्ध (३–०), गालाटासारेविरुद्ध (१–०), क्लब ब्रुगविरुद्ध (५–०), क्लब ब्रुगविरुद्ध (१–०), रियल मड्रिडविरुद्ध (२–२), गालाटासारेविरुद्ध (५–०)

प्रि–क्वाटरफाइनल

बोरुसिया डर्टमन्डविरुद्ध (१–२), बोरुसिया डर्टमुन्डविरुद्ध (२–०)

क्वाटरफाइनल

एटलान्टाविरुद्ध (२–१)

सेमिफाइनल

आरबी लाइप्जिगविरुद्ध (३–०)

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.