5 years ago
August 26, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सुपरस्टार फरवार्ड तथा कप्तान लिओनेल मेस्सीलाई क्लबमै राख्ने प्रयास गर्ने जानकारी दिएको छ । क्लबका खेलकुद निर्देशक रामोन प्लानेसले बुधबार भएको पत्रकार सम्मेलनमा मेस्सीको पत्र प्राप्त भएपछि क्लबले अबको योजनाबारे छलफल गरिरहेको बताए ।

क्लबले बुधबार नयाँ फरवार्ड फ्रान्सिस्को त्रिन्काओसँग औपचारिक सम्झौतासँगै पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ उपस्थित हुने भनिएपनि अन्तिम समयमा प्लानेसले उनको स्थान लिएका थिए । बार्टोमेउले पत्रकारसमक्ष अहिले नै बोल्न नचाहेको हुनाले प्लानेस कार्यक्रममा सहभागी भएका थिए ।
त्रिन्काओको अनुबन्धन घोषणा कार्यक्रम भएपनि पत्रकार सम्मेलनमा अधिकांश प्रश्न भने मेस्सीको सम्झौता र क्लबको अवस्थाबारे नै रहेको थियो । त्रिन्काओलाई पनि मेस्सी र सुआरेजले छोड्न लागेको अवस्थामा क्लबमा आउँदा कस्तो अनुभव भइरहेको छ भन्ने प्रश्न गरिएको थियो । त्यसमा उनले भने, ‘पक्कैपनि म चाहन्छु की मेस्सी बार्सिलोनामै रहुन् । तर मेरो इच्छा र अभिव्यक्तिले केहि असर गर्दैन । हेरौं स्थिति के हुन्छ, ।’

जब त्रिन्काओसँग प्रश्नोत्तर सकियो, त्यसपछि प्लानेसले पत्रकारको प्रश्न लिँदा स्थिति फेरियो । धेरैको एकै किसिमको प्रश्न रहेको बुझ्दै प्लानेसले क्लबको अवस्था र मेस्सीले पठाएको पत्र प्राप्त गरेपछि क्लबले गरेको बैठकबारे आफ्नो धारणा राखे ।
‘मेस्सीबाट हिजो राति आएको पत्रले सबैलाई आश्चर्य तुल्यायो । तर हामीले सोचेको र भन्दै आएको यहि हो की मेस्सी बार्सिलोनाक खेलाडी हुन् । आज त्रिन्काओ आएका छन् र हामीले चाहन्छौं की उनले मेस्सीसँग खेलेर क्लबलाई सफलता दिलाउनेछन् ।
बार्सिलोनाले यसअघि पनि इतिहासमा धेरै पटक टोली पुनर्निर्माण गरेको छ । सधैं हामीले राम्रो टोली बनाउन सकेका छौं । अहिले पनि हामी विश्व फुटबलकै उत्कृष्ट खेलाडीको वरपर रहेर टोली बनाउन चाहन्छौं । लिओले क्लबको लागि जति गरेका छन् त्यसको जति चर्चा गरेपनि कम छ । उनले बेग्लै इतिहास बनाएका छन् ।
हामी अहिले सम्झौता र त्यसमा रहेका प्रावधानबारे सोचिरहेका छैनौँ । मेस्सी र बार्सिलोनाको सम्बन्ध अटुट छ र यसले दुवै पक्षलाई धेरै फाइदा पुगेको छ । जति फाइदा हामीलाई छ त्योभन्दा धेरै खुसी समर्थकले पाएका छन् । हामी अन्तरिक छलफल गरेर मेस्सीलाई क्लबमै रहने गरि मनाउन खोजिरहेका छौं । अहिलेको आवश्यकता भनेको क्लब र मेस्सी दुवैलाई राम्रो हुने किसिमको समाधान खोज्नु हो ।
हामीले पेड्री र त्रिन्काओजस्ता युवा खेलाडी जम्मा पारेर एक विजयी टोली निर्माण गर्न चाहेका छौं । सबै क्लब अहिलेको स्थितिमा समस्यामा छन् । अहिले बार्सिलोना र मेस्सीबीच कुनै समस्या छैन, दुवै पक्ष यसको भागीदार पनि छैनन् । हाम्रो लक्ष्य बार्सिलोनालाई एक अब्बल टोली बनाउनु हो ।
क्लबमा मेस्सीलाई लिएर कुनै प्रकारको दुविधा छैन । जसले फुटबल बुझेको छ, उसले मेस्सी यहीं रहोस भन्ने चाहन्छ । उनी एक विजेता हुन् ।‘
नयाँ प्रशिक्षक कोम्यानले नियुक्तिपछि आफ्नो योजनामा नरहेका खेलाडीलाई आफैंले सम्पर्क गरेर टोलीमा स्थान नरहेको बताएको खबरबारे पनि प्लानेसले जानकारी दिए । ‘ क्लबले नयाँ योजनाका लागि कोम्यानसँग अन्तरिक रुपमा तयारी गरिरहेको छ । प्रशिक्षक आफैंले खेलाडीसँग सम्पर्क गर्न चाहेका हुन् । उनले केहि खेलाडीसँग छलफल गरिसके र केहिसँग आउने दिनमा गर्नेछन्,’ प्लानेसले भने ।

‘ बार्सिलोनाका लागि योगदान दिने खेलाडीलाई हामी सम्मान गर्छौं । अहिलेको कठिन समयमा केहि निर्णय निकै कठोर हुन्छन् । केहि निर्णयले हामीलाई पनि दुख पुर्याएको छ । तर जे हुन्छ त्यो हामीबीच भएको छ र बाहिर थाहा नहोस भन्ने चाहन्छौं ।’
‘मेस्सीले हालसम्म पनि प्रशिक्षणमा उपस्थित नहुने भनेर जानकारी दिएका छैनन् । तर हामीबीच जे वार्ता भएपनि त्यो बाहिर नआवोस भन्ने हाम्रो चाहना हो । हामी एक अरकको सम्मान गर्न चाहन्छौं । हामी पछि पनि सहज रुपमा वार्ता होस् भन्ने चाहन्छौं ।’
‘ हामी गत सिजन भन्दापनि राम्रो टोली बनाउन प्रयासरत छौं । प्राविधिक टोलीले यसबारे अध्ययन गरिरहेको छ । विगतमा प्राविधिक टोलीको निर्णयका कारण निकै आलोचना खेप्नुपरेको छ । यो यस्तो काम हो जसका लागि धन्यवाद मात्र पाउन पनि कठिन छ । तर समयसँगै नतिजा आउनेमा हामी विश्वस्त छौं ।’

प्लानेसको यो अभिव्यक्तिले बार्सिलोना बोर्ड अझैपनि मेस्सी क्लबमै रहने आशामा रहेको बताउँछ । क्लबनिकट स्रोतले स्पेनिस संचारमाध्यमलाई उपलब्ध गराएको पत्र अनुसार मेस्सीले आफ्नो सम्झौतामा उल्लेख गरिएको प्रावधान अनुसार सम्झौता रद्द गर्न चाहेका छन् । मेस्सीले ब्युरोफ्याक्स मार्फत क्लबलाई पत्र पठाएका थिए । स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै मेस्सीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका हुन् ।
मेस्सीको पत्रमा यस्तो लेखिएको छ :
‘ यो पत्रको माध्यमबाट, म, लिओनेल आन्द्रेस मेस्सी कुचीटिनि, आइडी नम्बर (खालि) बाट, अनुरोध गर्दछुकी क्लबसँग रहेको मेरो व्यावसायिक सम्झौता रद्द होस् । सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रदान गरेको छ ।
मेरो व्यक्तिगत विकास र व्यावसायिक सम्बन्ध विकासका लागि क्लबले मेरो यहाँको बसाइभर दिएको अवसरप्रति म आभारी छु ।
मैले यहाँ प्राविधिक र व्यक्तित्व विकासमा धेरै कुरा सिक्ने अवसर पाएँ । अहिले भने व्यक्तिगत कारण (खालि) का कारण म कठिन निर्णय लिन बाध्य छु । मलाई आशा छ मलाई क्लब व्यवस्थापनले सहज रुपमा समन्वय गर्नेछ ।’
यस्तो छ पत्र :

मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा उनले कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए ।
तर सामान्य अवस्थामा मे महिनामै सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो । यससँगै मेस्सीले आफ्नो सम्झौता अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिँदै क्लबलाई सम्झौता रद्द गर्न आग्रह गरेका छन् । यस विषयमा छलफल गर्न बार्सिलोनाले क्लबको आकस्मिक बैठक डाकेको छ ।
मेस्सीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग भेटघाट गरेका थिए । त्यसबेला नै उनले आफू लामो समय क्लबमा नरहने प्रष्ट पारिसकेका थिए । क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेस्सीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएको बुझिएको छ ।
क्लबमा रहेको २ दशकपछि विश्व फुटबललाई नै आश्चर्यचकित बनाउँदै मेस्सीले बार्सिलोना छाड्ने निर्णय लिएका छन् । अब क्लबको बोर्ड बैठकले उनको आग्रहबारे छलफल गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]