default_image

4 years ago

October 25, 2021

डेब्युमै दिपाको लोभलाग्दो प्रभाव

598 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

दिपा शाही नेपाली फुटबलमा सुनिएको नाम होइन । तर अब यो नाम नेपाली फुटबल पछ्याउनेले पटक पटक सुनिरहनुपर्ने हुन्छ । डेब्यु प्रतियोगितामा गरेको प्रदर्शनले नै दिपाले उज्ज्वल भविष्यको संकेत देखाएकी छिन् ।

हुम्ला ठाकुरनाथमा जन्मिएकी १७ वर्षिया दिपाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिगको छनोटमा कन्काई नगरपालिकाबाट खेलिरहेकी छिन् । सोमबार दिपा सम्मिलित कन्काईले छनोटको नकआउट चरण प्रवेश गर्ने क्रममा निकै बालियो आँकिएको बागमती नगरपालिका सर्लाहीलाई पछि पार्यो । राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटे, राष्ट्रिय टोलीकै डिफेन्डर गीता राना र गत महिना सिनियर टोलीमा डेब्यु गरेकी फरवार्ड रश्मीकुमारी घिसिङ सम्मिलित बागमतीलाई १-१ को बराबरीमा रोक्दै कन्काईले अघिल्लो चरणको यात्रा तय गर्यो ।

दिपाले सोमबार बागमतीविरुद्ध गरेको प्रदर्शनले मैदानमा उपस्थित प्राविधिक समिति र अन्य दर्शकको पनि मन जित्यो । राष्ट्रिय टोलीका प्रशिक्षक एवं एन्फाका प्राविधिक निर्देशक ग्यारी फिलिप्स त दिपाले पहिलो पटक प्रतियोगिता खेल्दैछिन् भन्दा छक्क परे । उनले दिपा राष्ट्रिय टोलीमा खेल्ने खेलाडीभन्दा कम नभएको बताए । प्राविधिक टोलीका प्रशिक्षक पनि उनको प्रदर्शनबाट प्रभावित देखिन्थे ।

त्यसो त दिपाले मैदानमा गरेको प्रदर्शनले पनि त्यो प्रष्ट्याउँछ । राष्ट्रिय टोलीकी मुख्य डिफेन्डर गीता रानालाई दिपालाई रोक्न मुस्किल परेको थियो । दिपासँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेकी कुसुम खतिवडाले गीतालाई खेलभर नै व्यस्त राखे । राष्ट्रिय टोलीकी कप्तान रेनुकालाई पनि रक्षात्मक भूमिकामा व्यस्त राखेपछि टोलीले अनुकुल नतिजा निकालेको थियो ।

दिपाले यसअघि लिगअन्तर्गत महालक्ष्मी नगरपालिकाविरुद्ध भएको खेलमा ५ गोल गरेकी थिइन् । उनको ५ गोल र कुसुमको ७ गोलमा कन्काईले १९-० को फराकिलो जित दर्ता गरेको थियो । त्यसअघि उद्घाटन खेलमा गोदावरीविरुद्ध १२-० को जित हासिल गर्दा गोल नगरेपनि दिपाले प्रभावशाली प्रदर्शन गरेकी थिइन् । उक्त खेलमा कुसुमले ६ गोल गरेकी थिइन् । यसअघि उमपेयर कपमा प्रभावशाली प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाइसकेकी कुसुमसँग दिपाको जोडी जमेको छ ।

आक्रामक मिडफिल्डमा खेलेकी दिपाको फुटसल नियमित खेलेका कारण उत्कृष्ट बल कन्ट्रोल छ । ५ दिनको अन्तरमा कन्काईका लागि सबै तीन खेल पूरा ९० मिनेट खेलेकी उनको स्टामिनालाई लिएर शंका गर्नुपर्ने छैन । आक्रमणमा छरितो रहेकी उनी टोलीका लागि रक्षात्मक रुपमा पनि डटिरहेकी देखिन्थिन् । फुटसलबाट आएकी हुनाले तुरुन्त निर्णय लिन सक्ने उनलाई दुवै खुट्टा चलाउन सक्ने क्षमताले थप बलियो बनाएको छ । फुटबल खेल्ने आफ्नो रहर भएपनि खेल्न पाउने नपाउने उनी अझै निश्चित भन्न सक्दिनन् ।

उच्च शिक्षा हासिल गर्न राजधानी आएकी दिपालाई घरबाट फुटबलमा लाग्न खासै साथ छैन । परिवारले शिक्षालाई प्राथमिकतामा राख्न कर गर्ने भएकाले नै उनले हालसम्म कुनै औपचारिक फुटबल प्रतियोगिता खेलेकी थिइनन् । बेला बेलामा फुटसल प्रतियोगिता खेलिरहने उनले जिल्लामा हुने स्थानीय प्रतियोगितामा भने खेलेकी थिइन् । प्लस टुमा विज्ञान संकाय रोजेकी उनी चाबहिलस्थित रिलायन्स इन्टरनेसलबाट उच्च शिक्षा हासिल गरेकी हुन् ।

‘रहर त फुटबल खेल्ने नै छ । अब घरबाट पढ्नुपर्छ भन्नुहुन्छ । त्यसैले अहिले ध्यान पढाइमा नै छ । यो पटक पहिलो प्रतियोगिता खेल्न आएको छु । फुटसल र स्थानीय प्रतियोगिता कहिलेकाहीं खेलेको छु । तर गुरुले भनेपछि यसपटक सिनियर प्रतियोगिता खेलेको हुँ । राम्रो प्रदर्शन भएजस्तो लाग्छ,’ दिपाले नकआउट चरणमा स्थान पक्का गरेपछि भनिन् ।

यसअघि काठमाडौं आएपछि वि प्ले र कुमारी फुटसलबाट खेलेकी उनले हुम्लामा रहँदा भने केटाहरुसँग खेल्ने गर्थिन । ‘उता गाउँमा हुँदा त केटाहरुसँग खेल्थें । ११ पढ्न काठमाडौं आएपछि भने फुटसल खेल्न थालें । त्यसअघि कतै प्रतियोगिता खेलेको थिइनँ । घरबाट पनि पढाइ नै प्राथमिकतामा राख्न भन्नुभएको छ,’ उनले सुनाइन्, ‘अहिले १२ कक्षा सकिएको छ । घरमा पनि खेल्छु भनेपछि ल खेल भन्नुभयो । पढाइ र खेल सँगै लग्नुपर्छ भन्नुभएको छ ।’

प्रतियोगिताको नियम अनुसार विभागीय टोलीबाट खेल्ने ४ खेलाडी राख्न पाइने भएपनि कन्काईले कुनै खेलाडी अनुबन्ध गरेको छैन । स्थानीय खेलाडीलाई समेट्दै प्रतियोगितामा सहभागी दिपा प्रशिक्षक सन्त बहादुर रायमाझीको छनोटमा धेरै अघि परेकी थिइन् । झापामा सम्पन्न एक स्थानीय प्रतियोगितामा प्रशिक्षक रायमाझीले उनलाई देखेका थिए । त्यसबेलादेखि नै रायमाझी दिपासँग निरन्तर सम्पर्कमा थिए । यसपटक उपमेयर कपमा उनले दिपालाई औपचारिक फुटबलमा डेब्यु दिए ।

कन्काईका प्रशिक्षक सन्तबहादुर रायमाझी

कन्काईका प्रशिक्षक रायमाझी पनि दिपाको क्षमता देखेर नै आफूले लामो समयदेखि उनलाई पछ्याएर निरन्तर सम्पर्कमा रहेको बताउँछन् । ‘मैले उनलाई झापाको एक स्थानीय प्रतियोगितामा देखेको थिएँ । उनको टोलीलाई हामीले सेमिफाइनलमा हराएपनि राम्रो प्रदर्शन गरेकी थिइन् । त्यसयता म उनीसँग निरन्तर सम्पर्कमा थिएँ । उनले वचन दिएअनुसार नै हाम्रो टोलीबाट खेल्न राजी भइन् । उनले आफ्नो प्रदर्शन मैदानमा देखाएकी छिन्,’ उनले भने ।

नकआउट चरणमा स्थान पक्का गरेको कन्काई मंगलबार फर्कने सुरमा छ । अब नकआउट चरणको तयारीका लागि टोलीले पुन: बन्द प्रशिक्षण राख्दैछ । दिपाले एक साता मात्र टोलीसँग प्रशिक्षण गरेकी थिइन् । अन्य खेलाडी भने विगत डेढ महिनादेखि नियमित प्रशिक्षणमा रहेका थिए ।

सोमबार राष्ट्रिय टोलीका प्रशिक्षक लगायत एन्फाको प्राविधिक टोलीले पनि खेलपछि दिपा र उनको प्रशिक्षक सँग लामो भलाकुसारी गरेको थियो । उनको प्रदर्शनले उपस्थित दर्शकको मात्र होइन प्रशिक्षकको पनि ध्यान आकर्षण गरेको छ । उपमेयर कपलाई आधार बनाएर यसअघि दिपाकै सहकर्मी कुसुमले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएकी थिइन् । दुर्भाग्यवश राष्ट्रिय टोलीमा रहँदा कोरोना संक्रमणका कारण उनी अन्तिम टोलीमा पर्न सकिनन् । तर कन्काईका लागि दिपाले जमाएको प्रभाव र कुसुमको जोशले नकआउटमा पनि यो टोलीलाई अघि बढ्न आधार मिलेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.