default_image

4 years ago

October 25, 2021

डेब्युमै दिपाको लोभलाग्दो प्रभाव

596 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

दिपा शाही नेपाली फुटबलमा सुनिएको नाम होइन । तर अब यो नाम नेपाली फुटबल पछ्याउनेले पटक पटक सुनिरहनुपर्ने हुन्छ । डेब्यु प्रतियोगितामा गरेको प्रदर्शनले नै दिपाले उज्ज्वल भविष्यको संकेत देखाएकी छिन् ।

हुम्ला ठाकुरनाथमा जन्मिएकी १७ वर्षिया दिपाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिगको छनोटमा कन्काई नगरपालिकाबाट खेलिरहेकी छिन् । सोमबार दिपा सम्मिलित कन्काईले छनोटको नकआउट चरण प्रवेश गर्ने क्रममा निकै बालियो आँकिएको बागमती नगरपालिका सर्लाहीलाई पछि पार्यो । राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटे, राष्ट्रिय टोलीकै डिफेन्डर गीता राना र गत महिना सिनियर टोलीमा डेब्यु गरेकी फरवार्ड रश्मीकुमारी घिसिङ सम्मिलित बागमतीलाई १-१ को बराबरीमा रोक्दै कन्काईले अघिल्लो चरणको यात्रा तय गर्यो ।

दिपाले सोमबार बागमतीविरुद्ध गरेको प्रदर्शनले मैदानमा उपस्थित प्राविधिक समिति र अन्य दर्शकको पनि मन जित्यो । राष्ट्रिय टोलीका प्रशिक्षक एवं एन्फाका प्राविधिक निर्देशक ग्यारी फिलिप्स त दिपाले पहिलो पटक प्रतियोगिता खेल्दैछिन् भन्दा छक्क परे । उनले दिपा राष्ट्रिय टोलीमा खेल्ने खेलाडीभन्दा कम नभएको बताए । प्राविधिक टोलीका प्रशिक्षक पनि उनको प्रदर्शनबाट प्रभावित देखिन्थे ।

त्यसो त दिपाले मैदानमा गरेको प्रदर्शनले पनि त्यो प्रष्ट्याउँछ । राष्ट्रिय टोलीकी मुख्य डिफेन्डर गीता रानालाई दिपालाई रोक्न मुस्किल परेको थियो । दिपासँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेकी कुसुम खतिवडाले गीतालाई खेलभर नै व्यस्त राखे । राष्ट्रिय टोलीकी कप्तान रेनुकालाई पनि रक्षात्मक भूमिकामा व्यस्त राखेपछि टोलीले अनुकुल नतिजा निकालेको थियो ।

दिपाले यसअघि लिगअन्तर्गत महालक्ष्मी नगरपालिकाविरुद्ध भएको खेलमा ५ गोल गरेकी थिइन् । उनको ५ गोल र कुसुमको ७ गोलमा कन्काईले १९-० को फराकिलो जित दर्ता गरेको थियो । त्यसअघि उद्घाटन खेलमा गोदावरीविरुद्ध १२-० को जित हासिल गर्दा गोल नगरेपनि दिपाले प्रभावशाली प्रदर्शन गरेकी थिइन् । उक्त खेलमा कुसुमले ६ गोल गरेकी थिइन् । यसअघि उमपेयर कपमा प्रभावशाली प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाइसकेकी कुसुमसँग दिपाको जोडी जमेको छ ।

आक्रामक मिडफिल्डमा खेलेकी दिपाको फुटसल नियमित खेलेका कारण उत्कृष्ट बल कन्ट्रोल छ । ५ दिनको अन्तरमा कन्काईका लागि सबै तीन खेल पूरा ९० मिनेट खेलेकी उनको स्टामिनालाई लिएर शंका गर्नुपर्ने छैन । आक्रमणमा छरितो रहेकी उनी टोलीका लागि रक्षात्मक रुपमा पनि डटिरहेकी देखिन्थिन् । फुटसलबाट आएकी हुनाले तुरुन्त निर्णय लिन सक्ने उनलाई दुवै खुट्टा चलाउन सक्ने क्षमताले थप बलियो बनाएको छ । फुटबल खेल्ने आफ्नो रहर भएपनि खेल्न पाउने नपाउने उनी अझै निश्चित भन्न सक्दिनन् ।

उच्च शिक्षा हासिल गर्न राजधानी आएकी दिपालाई घरबाट फुटबलमा लाग्न खासै साथ छैन । परिवारले शिक्षालाई प्राथमिकतामा राख्न कर गर्ने भएकाले नै उनले हालसम्म कुनै औपचारिक फुटबल प्रतियोगिता खेलेकी थिइनन् । बेला बेलामा फुटसल प्रतियोगिता खेलिरहने उनले जिल्लामा हुने स्थानीय प्रतियोगितामा भने खेलेकी थिइन् । प्लस टुमा विज्ञान संकाय रोजेकी उनी चाबहिलस्थित रिलायन्स इन्टरनेसलबाट उच्च शिक्षा हासिल गरेकी हुन् ।

‘रहर त फुटबल खेल्ने नै छ । अब घरबाट पढ्नुपर्छ भन्नुहुन्छ । त्यसैले अहिले ध्यान पढाइमा नै छ । यो पटक पहिलो प्रतियोगिता खेल्न आएको छु । फुटसल र स्थानीय प्रतियोगिता कहिलेकाहीं खेलेको छु । तर गुरुले भनेपछि यसपटक सिनियर प्रतियोगिता खेलेको हुँ । राम्रो प्रदर्शन भएजस्तो लाग्छ,’ दिपाले नकआउट चरणमा स्थान पक्का गरेपछि भनिन् ।

यसअघि काठमाडौं आएपछि वि प्ले र कुमारी फुटसलबाट खेलेकी उनले हुम्लामा रहँदा भने केटाहरुसँग खेल्ने गर्थिन । ‘उता गाउँमा हुँदा त केटाहरुसँग खेल्थें । ११ पढ्न काठमाडौं आएपछि भने फुटसल खेल्न थालें । त्यसअघि कतै प्रतियोगिता खेलेको थिइनँ । घरबाट पनि पढाइ नै प्राथमिकतामा राख्न भन्नुभएको छ,’ उनले सुनाइन्, ‘अहिले १२ कक्षा सकिएको छ । घरमा पनि खेल्छु भनेपछि ल खेल भन्नुभयो । पढाइ र खेल सँगै लग्नुपर्छ भन्नुभएको छ ।’

प्रतियोगिताको नियम अनुसार विभागीय टोलीबाट खेल्ने ४ खेलाडी राख्न पाइने भएपनि कन्काईले कुनै खेलाडी अनुबन्ध गरेको छैन । स्थानीय खेलाडीलाई समेट्दै प्रतियोगितामा सहभागी दिपा प्रशिक्षक सन्त बहादुर रायमाझीको छनोटमा धेरै अघि परेकी थिइन् । झापामा सम्पन्न एक स्थानीय प्रतियोगितामा प्रशिक्षक रायमाझीले उनलाई देखेका थिए । त्यसबेलादेखि नै रायमाझी दिपासँग निरन्तर सम्पर्कमा थिए । यसपटक उपमेयर कपमा उनले दिपालाई औपचारिक फुटबलमा डेब्यु दिए ।

कन्काईका प्रशिक्षक सन्तबहादुर रायमाझी

कन्काईका प्रशिक्षक रायमाझी पनि दिपाको क्षमता देखेर नै आफूले लामो समयदेखि उनलाई पछ्याएर निरन्तर सम्पर्कमा रहेको बताउँछन् । ‘मैले उनलाई झापाको एक स्थानीय प्रतियोगितामा देखेको थिएँ । उनको टोलीलाई हामीले सेमिफाइनलमा हराएपनि राम्रो प्रदर्शन गरेकी थिइन् । त्यसयता म उनीसँग निरन्तर सम्पर्कमा थिएँ । उनले वचन दिएअनुसार नै हाम्रो टोलीबाट खेल्न राजी भइन् । उनले आफ्नो प्रदर्शन मैदानमा देखाएकी छिन्,’ उनले भने ।

नकआउट चरणमा स्थान पक्का गरेको कन्काई मंगलबार फर्कने सुरमा छ । अब नकआउट चरणको तयारीका लागि टोलीले पुन: बन्द प्रशिक्षण राख्दैछ । दिपाले एक साता मात्र टोलीसँग प्रशिक्षण गरेकी थिइन् । अन्य खेलाडी भने विगत डेढ महिनादेखि नियमित प्रशिक्षणमा रहेका थिए ।

सोमबार राष्ट्रिय टोलीका प्रशिक्षक लगायत एन्फाको प्राविधिक टोलीले पनि खेलपछि दिपा र उनको प्रशिक्षक सँग लामो भलाकुसारी गरेको थियो । उनको प्रदर्शनले उपस्थित दर्शकको मात्र होइन प्रशिक्षकको पनि ध्यान आकर्षण गरेको छ । उपमेयर कपलाई आधार बनाएर यसअघि दिपाकै सहकर्मी कुसुमले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएकी थिइन् । दुर्भाग्यवश राष्ट्रिय टोलीमा रहँदा कोरोना संक्रमणका कारण उनी अन्तिम टोलीमा पर्न सकिनन् । तर कन्काईका लागि दिपाले जमाएको प्रभाव र कुसुमको जोशले नकआउटमा पनि यो टोलीलाई अघि बढ्न आधार मिलेको छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.