काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन खेलाडी किर्गिस्तानमा यसै साता आयोजना हुने ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागिता हुने भएका छन् । किर्गिस्तानको राजधानी बिस्केकमा हुने च्याम्पियनसिपमा तीनै नेपाली खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपमा महिलामा मनिता श्रेष्ठ प्रधान र पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ र किरण गदेलले नेपालको प्रतिनिधित्व गर्नेछन् । मनिताले महिलाको ५७ केजी तौल समूहमुनी, इन्द्रले ६६ केजी तौलमुनी र किरणले ६० केजी मुनीको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई हङकङमा भएको एसियन च्याम्पियनसिप, भारतमा भएको एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिप र पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा जुडो संघले छनोट गरेको हो ।
प्रतियोगितामा सहभागी हुन तीन खेलाडी, एक प्रशिक्षक तथा पदाधिकारीसहितको नेपाली टोली बुधबार किर्गिस्तान प्रस्थान गर्नेछ । नेपाली टोलीले च्याम्पियनसिपमा अघिल्लो संस्करणको भन्दा राम्रो नतिजा ल्याउने लक्ष्य लिएको छ । च्याम्पियनसिपको लागि नेपाली टोलीले गत फागुनबाट नै तयारी थालेको थियो ।
यो संस्करणमा मनिता जुनियरतर्फ खेल्नेछिन् । गत संस्करणमा मनिताले क्याडेटतर्फ सहभागिता जनाएकी थिइन् । त्यस्तै किर्गिस्तान जाने तीन खेलाडी नै यसै वर्ष हंगेरीमा एक महिना ट्रेनिङ र गत जेठमा हङकङमा भएको एसियन जुडो च्याम्पियनसिप खेलिसकेका छन् । मनिता र इन्द्रले साग गेम्समा समेत पदक जितिसकेका छन् ।
यस्तै मनिताले हङकङमा एसियन जुडो च्याम्पियनसिपमा एक खेल जित्दै ‘बाउट’ जित्ने पहिलो महिला खेलाडी बनेकी थिइन् । आयोजक राष्ट्रकी के क्वोकलाई पराजित गर्दै यो ऐतिहासिक उपलब्धि हात पारेकी थिइन् । मनिताको त्यो जित नेपाली खेलाडीले एसियन च्याम्पयनसिपमा ‘बाउट’ हासिल गरेको २९ वर्षयताको पहिलो कीर्तिमान थियो । यसअघि सन् १९८८ मा ऋषिराम प्रधानले सिरियामा भएको च्याम्पियनसिपमा मकाउका खेलाडीलाई हराएका थिए।
यस्तै च्याम्पियनसिपका दौरान जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य जेयुए एडुकेसन तथा डाटा डिरेक्टर, जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ जेयुए रेफ्री सेमिनार र पृथ्वी आलोक आइजेएफ कन्टिनेन्टल रेफ्री सेमिनार तथा एक्जामिनेसन कोर्षमा सहभागी हुन किर्गिस्तान जाने भएका छन् ।