नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाास्तोलालाई नगदसहित शनिबार सम्मान गरेको छ ।
लन्डनमा जुलाई ५ देखि ६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो ।
त्यसै अवसरमा गत फागुनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा सम्पन्न एडभान्स स्पोर्ट्स साइन्स कोर्ष फर इलाइट कोचेजमा ९२.५ प्रतिशत अंक ल्याइ उत्कृष्ट स्थान हासिल गर्न सफल १० औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी एवं वर्तमान राष्ट्रिय कराते टिमका प्रशिक्षक मध्येका एक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टको सम्मानमा नेपाल वादोरियो कराते डो संघले बसुन्धारास्थित यति पार्टी प्यालेसमा आयोजना गरेको स्वागत तथा बधाइज्ञापन कार्यक्रममा सम्मान गरिएको हो ।
नेपाल कराते महासंघका महासचिव एवं वादोरियो करातेका मुख्य प्रशिक्षक हरिशरण केसी, प्रशिक्षक, खेलाडीलगायतले सदस्य–सचिव विष्टलाई स्वागत गर्नुका साथै बधाइ दिएका थिए । केसीले सदस्य–सचिव विष्टलाई मायाको चिनो पनि प्रदान गरे ।
सभासद् आनन्द पोखरेल, सदस्य–सचिव विष्ट, कराते महासंघका अध्यक्ष दावा गुरुङ, हरिशरण केसीलगायतले सुनील, पर्शुराम र कुशललाई सम्मान गरेका थिए ।
सोही अवसरमा वादोरियोको विभिन्न जिल्लाका डोजो र स्कुल खेलकुद विभागलाई खेल सामाग्री प्रदान गरिएको थियो । त्यसै अवसरमा भारतको गुजरातमा अगष्ट २२ देखि २३ तारिखसम्म हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भाग लिने वादोरियो टोलीलाई ट्रयाकसुट पनि प्रदान गरियो ।