default_image

5 months ago

December 11, 2023

च्याम्पियन बुबाका कीर्तिमानी छोरा

भुपेन्द्र जि.सी, काठमाडौं नेपाली गल्फ वृत्तमा दीपक आचार्यलाई नचिन्ने सायदै होलान् । उनले नेपाली गल्फमा एक दशक खेलाडीको रुपमा राज गरेका थिए । सन् १९९८ देखि २००९ सम्म राष्ट्रिय स्तरको प्रतियोगितामा अधिकांश उपाधि उनकै नाममा रहने गर्थ्यो । सक्रिय खेल जिवनपछि उनले गल्फको विभिन्न पदमा रहेर नेतृत्व र व्यवसाय सम्हाल्दै आएका छन् । नेपाली गल्फलाई […]

325 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

नेपाली गल्फ वृत्तमा दीपक आचार्यलाई नचिन्ने सायदै होलान् । उनले नेपाली गल्फमा एक दशक खेलाडीको रुपमा राज गरेका थिए । सन् १९९८ देखि २००९ सम्म राष्ट्रिय स्तरको प्रतियोगितामा अधिकांश उपाधि उनकै नाममा रहने गर्थ्यो । सक्रिय खेल जिवनपछि उनले गल्फको विभिन्न पदमा रहेर नेतृत्व र व्यवसाय सम्हाल्दै आएका छन् ।

नेपाली गल्फलाई विभिन्न क्षमतामा रहेर गति दिइरहेका दीपकको च्याम्पियन पथलाई उनको छोरा सद्भाव आचार्यले पनि अंगालेका छन् । कलिलो उमेरदेखि गल्फ सुरु गरेका सद्भाव वर्तमान अवस्थामा नेपाली गल्फको सबैभन्दा आशालाग्दो प्रतिभाको रुपमा उदाएका छन् । उनको पछिल्लो उपलब्धिले त उनलाई नेपालकै गल्फलाई अर्को स्तरमा पुर्याउन सक्ने कडीको रुपमा हेरिएको छ ।

सद्भावले १७ वर्षकै उमेरमा नेपाली गल्फमा दुई दुर्लभ कीर्तिमान रचेका छन् । ८ महिनाअघि रोयल नेपाल गल्फ क्लबमा भएको सूर्य नेपाल च्यालेन्ज जितेर सद्भाव प्रतिष्ठित सूर्य नेपाल गल्फ टुरको सबैभन्दा कान्छो च्याम्पियन बनेका थिए । टिनएज एमेच्योर सद्भावले नेपालका शीर्ष व्यावसायिक गल्फरलाई पछि पार्दै उपाधि जितेका थिए ।

सद्भाव उक्त उपाधि जित्दा १६ वर्ष १० महिनाका थिए । १३ औं एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सुभाष तामाङले १६ वर्ष ११ महिनाको उमेरमा उपाधि जितेको कीर्तिमान सद्भावले भङ्ग गरेका थिए ।

तीन साता अघि सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भए । त्योसँगै सद्भाव कम उमेरमा दुई उपाधि जित्ने नेपाली गल्फर बने । उनले यसपटक पनि सुभाषले २० वर्षको उमेरमा दुई उपाधि जितेको कीर्तिमान तोडे ।

बुबाको साथ, प्रेरणा, प्रशिक्षण र हौसलाले छोटो समयमै अपेक्षा भन्दा बढी प्रभाव छाडेका छन् । तर सद्भाव आफैं भने यस उपलब्धिबाट पूर्ण रुपमा सन्तुष्ट छैनन् । उनलाई यो भन्दा राम्रो गर्न सक्ने आत्मविश्वास छ ।

‘कीर्तिमान बन्दा र सुन्दा पक्कै पनि राम्रो लाग्छ । तर मैले यो भन्दा अझै राम्रो गर्न सक्थें जस्तो लाग्छ । अहिलेसम्म चार उपाधि जित्न सक्थें । दुई प्रतियोगितामा अग्रतामा आएर पनि हारे । एउटामा तेस्रो दिन खेल बिग्रिएको थियो अनि अर्कोमा अन्तिम दिन’, सद्भावले भने ।

बुबा दीपक छोराको च्याम्पियन बनेको क्षण अनुभूत गर्न पाउँदा गर्व लाग्ने बताउँछन् । ‘सद्भावले जित्दा हामीलाई त एकदमै गर्व लाग्छ । उसले जुन स्कोरले जितेको छ । यो उमेरमा एकदमै राम्रो छ । उनको जति सेवा सुविधा पनि पाएका छैनन् होला । तर सद्भावले यो उमेरमा नै लामो हान्न सकेको छ । त्यसले गर्दा पनि विश्वस्तरमै राम्रो गर्ने सम्भावना देखिन्छ’, नेपाल गल्फ संघका विकास निर्देशक समेत रहेका आचार्यले भने ।

त्यसैमा थपे, ‘पिजिएमा हेर्ने हो भने लामो हान्न सक्ने खेलाडी नै सफल भएको इतिहास छ । हाम्रो नेपाली खेलाडीमा त्यो कमी छ । एक कुराको विकास भएर मात्रै पनि हुँदैन । शारीरिक र प्राविधिक रुपमा पनि सबै पक्ष विकास हुनुपर्छ । केहि ज्ञान मसँग छ । मसँग नभएको ज्ञान हामीसँग उपलब्ध उत्कृष्ट विज्ञसँग लिएर सिकाउने गरेका छौं ।’

बुबासँग सिक्न सबैभन्दा बढी सहज हुने सद्भावको अनुभव छ । ‘सानो उमेरदेखि बुबासँगै आधारभूत गल्फ सिकेर होला । बुबासँग सिक्न जति सजिलो हुन्छ अरु कसैसँग पनि हुँदैन । मैले बाहिरको प्रशिक्षकसँग पनि सिकेको छु । तर बुबासँग कुनैपनि कुरा खुलेर राख्न सकिन्छ’, उनले भने ।

प्राय अभिभावकलाई आफूले पूरा गर्न नसकेको सपना छोराछोरीले गर्दियोस् भन्ने हुन्छ । तर दीपकले त्यो कहिल्यै सोचेनन् । गल्फनै खेल्न कुनै किसिमको दबाब दिएनन् । छोराले आफ्नो इच्छा अनुसार गरोस भन्ने नै उनको सोच थियो । सुरुमा फुटबल र बास्केटबल खेलेका सद्भावले अन्तमा बुबाको पथ नै रोजे ।

‘सानोमा छोरालाई म यस्तो र उस्तो बनाउछु भनेर कहिल्यै भनिन । उसको व्यक्तिगत निर्णय नै थियो । मलाई छोरा डाक्टर, इन्जिनियर, गल्फर वा कुनै कुरामा यहि बनाउनु पर्छ भन्ने कहिल्यै थिएन । मेरो श्रीमतीमा पनि त्यो सोच थिएन । उसले जीवनमा जे गरेपनि समाजमा नाम राखोस र सफल होस् भन्ने मात्रै थियो’, उनले भने ।

सद्भावको जन्म बाल्यकाल

बुबा दीपक र आमा स्मृतिको कोखबाट सद्भावको जन्म २०६३ जेठ १२ काठमाडौंमा भएको हो । उनको परिवार नै गल्फरमय थियो । बुबा मात्रै होईन, आमा, हजुरबुबा र काकाहरु पनि गल्फ खेल्थे ।

उनी आमा स्मृतिसँग सानोमा रोयल नेपाल गल्फ एरपोर्टमा जान्थे । सद्भाव बुबासँग जान चाहन्थे । तर दीपक लान चाहँदैनन् थिए । त्यसको मुख्य कारण छोराको गल्फप्रतिको रुची, आर्कषण, मिहिनेत र संघर्ष बुझुस भन्ने थियो । बच्चा हुँदा आमासँग जान्थे । लामो प्रहार गर्न नसकेपनि निकै रमाएर खेल्थे ।

‘सानोमा मैले गोकर्ण ल्याइन । गोकर्णमा कोर्ष पनि लामो । सानै कोर्षमा सिकोस् भन्ने मेरो सोच थियो । अर्कोतर्फ सानोमा सबै कुरा एकै पटक पायो भने धेरै इच्छा नगर्न पनि सक्छ भन्ने मलाई लाग्थ्यो । सबै कुरा मान्छेले एकै पटक पायो भने त्यसको महत्त्व नबुझ्न सक्छ । गोकर्णमा धेरै कुरा उच्च स्तरको छ । त्यसैले मैले यहाँ ल्याइन । खेलमै लाग्ने इच्छा देखायो भने मात्रै ल्याउने सोच थियो’, दीपकले विगत सम्झंदै भने ।

सद्भाव ९-१० बर्षको हुँदा एकदिन बुबासँग गोकर्ण गए । छोरालाई अभ्यासमा छाडेर दीपक २ बजे मिटिङमा लागे । मिटिङ लामो समयसम्म चल्यो । त्यो धुनमा उनले छोरालाई सम्झिने समय पाएनन् । ७ बजे सकियो । तब उनी झसङ्ग भए । आज त मेरो छोरा पनि आएको थियो । अहिले सम्म कहाँ गयो होला भनेर बाहिर खोज्न थाले ।

जहाँ छाडेका गएका थिए सद्भाव त्यहि स्थानमा अभ्यासमा व्यस्त थिए । सद्भावले त्यो दिन १२ सय बल अभ्यास गरेछन् । ९‍-१० वर्षको बच्चाले १२ सय भन्दा बढी बल अभ्यास गरेको सुनेपछि दीपक अचम्ममा परे । त्यो कुनै चानचुने कुरा थिए । प्रो गल्फरलाई नै त्यति धेरै बल खेल्न कठिन पर्दछ ।

त्यसको लागि धैर्यता, लगनशिलता र मिहिनेत चाहिन्छ । त्यो दिनपछि बल्ल दीपकलाई लाग्यो छोराले गल्फ खेल्न सक्छ । छोराको लगाव देखेपछि दिर्घकालिन योजनाको सोच राखे । तर एकै पटक भने सिकाएनन् ।

एकै पटक सिकाउँदा प्राविधिक पक्ष मात्रै बढ्ने डर उनलाई थियो । आफ्नै प्राकृतिक खेल विकास गरोस् भन्ने उनी चाहन्थे । धेरै भन्दा धेरै आधारभूत पक्षमा ध्यान दिए । गल्फको स्वींग भन्दा पनि मिहिनेत कसरी गर्ने, लगनशीलता, ध्यान कसरी दिने, अनुशासन लगायतका कुरा सिकाए ।

सद्भाव बुबाकै खेल हेरेर सिकेका खेलाडी हुन् । बुबाको सक्रिय खेलाडी जीवन भने उनले देख्न पाएनन् । बुबाले लामो सट खेल्दा निकै रामाइलो मानेर उनले हेर्थे ।

बच्चा हुँदा सद्भावले पनि लामो कसरी हान्ने बुबाको देखेर सिके । स्कुल पढ्दा उनी फुटबल र बास्केटबल पनि खेल्थे । १३ वर्षको उमेरपछि उनले अन्य खेलमा भन्दा गल्फमै राम्रो सम्भावना देखे । त्यसपछि उनी गल्फमा केन्द्रित भए ।

गल्फ यात्रा

रोयल नेपाल गल्फ क्लबमा २०१७ मा ओपलम्पिक डे मा उनले पहिलो पटक जुनियर प्रतियोगिता खेले । त्यो समय उनी तेस्रो भएका थिए । उक्त जुनियर प्रतियोगितामा उनी सबैभन्दा कम उमेरमा थिए । त्यसैले उनलाई अब मैले पनि सक्छु भन्ने विश्वास बढ्यो ।

‘बाबाले सधैं साथ र सहयोग दिनुहुन्छ । खराब खेल्दा कहिलेकाहीँ रिस पनि उठ्छ । नराम्रो खेल्दा एकदमै तनावमा हुन्छ । अभ्यास गर्न पनि मन लाग्दैन । नराम्रो सोच आउँछ । त्यो बेला बुबाले सम्झाउनु हुन्छ । यसरी हुँदैन बाबु, च्याम्पियन बन्नु छ भने अभ्यास गर्नुपर्छ । अरु भन्दा फरक हुनुपर्छ । अनि पुन: मिहिनेत गर्न मन लाग्छ’, सद्भावले भने ।

दीपकले छोरालाई च्याम्पियन कसरी हुने भनेर सिकाएका छन् । ‘म उसलाई च्याम्पियन हुन सिकाएको छु । म आफैं पनि खेलाडी हुँदा मलाई केही कुराको अनुभव छ । पक्कैपनि म त्यो स्तरको सफल खेलाडी थिइनँ जुन हामीले सद्भावबाट अपेक्षा गरेका छौं । मैले नेपालमा राज गरे पनि विदेशमा खासै राम्रो रकर्ड थिएन । किनभने मैले काम र खेललाई एकै पटक अघि बढाउनुपर्ने बाध्यता थियो । खेलमा मात्रै ध्यान दिन पाइन । उसलाई त अहिले खेले मात्रै पुग्छ । त्यसैले केहि गर्छकी भन्ने आशा छ’, दीपकले भने ।

सद्भावको आगामी लक्ष्य

सद्भावले हालसम्म विदेशमा गएर १२ प्रतियोगिता खेलेका छन् । तर कुनैपनि उपाधि जित्न सकेका छैनन् । उनको अबको मुख्य लक्ष्य विदेशमा गएर उपाधि जित्ने हो ।

‘५–६ वर्षको लक्ष्यमा नजाउँ । यो वर्ष सकेसम्म बाहिर गएर एउटा प्रतियोगिता जित्ने लक्ष्य छ । सहभागी अन्य प्रतियोगितामा कम्तिमा शीर्ष १० मा अन्त्य गर्नेछ । नेपालमा भने सबै प्रतियोगिता जित्ने नै सोच छ’, उनले भने ।

एकै पटक ठूलो सपना देख्न नहुने दीपक बताउँछन् । ‘एकै पटक ठूलो सपना देखेर हुँदैन । उ १७ वर्षको खेलाडी हो । अमेरिकामा पनि यो उमेरका खेलाडी जुनियर गल्फ खेल्छन् । सिनियरतर्फ यसपटक एसियन गेम्समा जितोस भन्ने राष्ट्रको अपेक्षा थियो । एकै पटक यो स्तरमा पुगोस् भन्ने छैन । अहिले सम्म नेपाली गल्फर एसियन, युरोप र अमेरिका टुरमा सफल भएका छैनन् । त्यहाँ गएर सफल हुने उ पहिलो नेपाली खेलाडी हुनसक्छ कि भन्ने आशा छ’, उनले भने ।

त्यसैमा थपे, ‘हाम्रो सपना त पिजिए खेलोस भन्ने छ । तर सोचेजस्तो हुँदैन भन्ने बुझेका छौं । संसारभर कति गल्फर छन् । केहि कुरा भाग्यमा पनि हुनुपर्छ । सपना त विश्वकै शीर्ष गल्फरमा गनियोस् भन्ने छ । तर नतिजामा भन्दा पनि मिहिनेतमा ध्यान दिनुपर्छ । उसले के ध्यान दिनुपर्यो भने विश्वको नम्बर वान खेलाडीले आज जति मिहिनेत गर्छ । नम्बर वान हुन त्यो भन्दा बढी आफूले मिहिनेत गर्न आवश्यक पर्छ । किनभने नम्बर वा यतिकै भइदैन । क्षमता र भाग्य दुवै चाहिन्छ ।’

छोरालाई बुबाको सुझाव

दीपक छोरालाई आफ्नो तालिकामा विश्वास गर्न सुझाव दिन्छन् । ‘सद्भाव खराब खेरेर आएपछि मिहिनेत गर्न मन लगाउदैन । नराम्रो खेल्दा मानसिक रुपमा डाउन जो पनि हुन्छ । तर यदि च्याम्पियन बन्न छ भने जुनसुकै परिस्थीतिमा पनि आफ्नो तालिका नछोडोस् । सबैभन्दा राम्रो खेल्दा होस् वा नराम्रो ।’

‘आफ्नो तालिका छाडेन भने सफल हुन्छ । खराबसँग आतिनु हुँदैन । आज पानी पर्यो भनेर भएन । भोली त घाम लाग्छ । यहिँ कुरा हर दिन म सिकाउँछु । उसले आफ्नो तालिकामा विश्वास गरोस । अनि सफल हुन्छ’, उनले थपे ।

अमेरिकामा प्रशिक्षणको सम्भावना

सद्भावको परिवार आइतबार एक महिना अमेरिका भ्रमणमा जाँदैछन् । सद्भावको बुबा आमा बाहेक उनका अन्य धेरै आफन्त अमेरिकामा छन् । पारिवारिक भेटसँगै अमेरिकामा सद्भावले कुनै एक विश्वविद्यालय पढ्ने सम्भावना छ । गल्फको राम्रो युनिभसिर्टीमा उनी त्यहाँ पुगेर भर्ना हुने सोच छ ।

त्यहाँ विश्वस्तरिय गल्फर र प्रशिक्षकसँग सिक्ने उनको सोच छ । त्यसैको कारण उनले नेपालको खेल बाहेक अन्य अब केहि समय अमेरिकाबाट खेल्दै निखार ल्याउन सक्छन् । राष्ट्रको लागि खेल्न भने विश्वको जहाँ भएपनि आउनले दीपक बताउँछन् ।

‘अमेरिकामा हामी एक महिना बिदामा जाँदैछौं । त्यहाँ विश्वका शीर्ष कोर्षमा खेल्नेछौं । अमेरिकामा गल्फ खेल्ने विश्वविद्यालय हेर्नेछौं । विश्वको शीर्ष कोर्षमा खेल्दाको अनुभव पनि हुनेछ । म कहाँ छु भन्ने निर्क्यौल पनि हुनेछ । टिभीमा शीर्ष खेलाडीले खेलेको हेर्दा सजिलो लाग्छ । तर गएर खेल्दा मात्रै थाहा हुन्छ । यसले पक्कैपनि मेरो करिअरमा धेरै फरक पार्नेछ’, सद्भावले भने ।

सद्भाव उमेरले पनि कलिलै छन् । आगामी दिनमा उमेर बढ्दै जादा खेलको अनुभव पनि बढी पाउनेछन् । त्यसले उनको क्षमतामा झनै निखारपन ल्याउनेछ । अर्कोतर्फ उनलाई परिवारको राम्रो साथ र सहयोग छ । अन्य खेलाडीले गल्फमा नेपालमा बिरलै यस किसिमको साथ पाउँछन् ।

पाएको अवसर र सेवा सुविधालाई उनले कसरी सदुपयोग गर्छन् त्यसले नै आगामी सफलताको उडान कहाँसम्म पुग्छ भने निर्णय गर्नेछ । आफ्नो पथमा अघि बढ्न जिम्मेवारी र कडा मिहिनेतलाई निरन्तरता दिँदै बुबाको सुझावलाई राम्रोसँग ग्रहण गर्न सके एकदिन नेपाली गल्फकै पहिचान बदल्न सक्ने खुबी भने उनीमा देखिन्छ । उनले आगामी दिनमा देखाउने लगनशीलता, मिहिनेत, धैर्यता र अनुशासनमा भर पर्नेछ ।

May 1, 2024

रुपेशले जिते गणेशमान सिंह स्मृति बुद्धिचाल उपाधि

ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। रुपेशले बुधबार फाइनलमा   क्याण्डिडेट  मास्टर मिलन लामासंगको  क्लासिकलतर्फको  पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए। क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। द्रुतगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटीको  दुबै खेलका […]

May 1, 2024

देशभरका ओलम्पियन कोशी प्रदेशमा जुट्दै

हिमाल खरेल,मोरङ ओलम्पियन रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् । कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसियाका साथै नेपालका खेलाडीहरु ओलम्पियन कार्यक्रमस्थल आइपुगेका हुन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले ८ जना ओलम्पियनलाई […]

April 30, 2024

दौड प्रशिक्षण यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा दोस्रो योर पेस किप फिट सक्र्रिट यसै साताबाट सुरु हुने भएको छ । एनआरएस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्वस्थ रहनका लागि दौड आवश्यक रहेको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण सुरु गरिएको बताइएको छ । बिहीबारबाट सुरु हुने प्रशिक्षण जेठ १४ गते सम्म सन्चालन हुने मंगलबार पत्रकार […]

Success

Thank you for your time.