default_image

3 years ago

October 11, 2021

भलिबल स्टार विनितको नेपाल मोह

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा क्रिकेटले अन्य सबै खेललाई छायाँमा पारेको छ भन्दा सायदै दुइमत होला । यसो भन्दैमा त्यहाँ अन्य खेलको गतिविधि नै नभएको भन्ने होइन । फुटबलसँगै भलिबल, ब्याडमिन्टन, हक्की, कुस्ती, भारोत्तोलनलगायतका खेलले विश्वसँगै एसियामा राम्रो प्रभाव छाडेका छन् । यि खेलमा पनि नाम चलेका उम्दा खेलाडी छन् । जसले भारतीय खेलमा निकै […]

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा क्रिकेटले अन्य सबै खेललाई छायाँमा पारेको छ भन्दा सायदै दुइमत होला । यसो भन्दैमा त्यहाँ अन्य खेलको गतिविधि नै नभएको भन्ने होइन । फुटबलसँगै भलिबल, ब्याडमिन्टन, हक्की, कुस्ती, भारोत्तोलनलगायतका खेलले विश्वसँगै एसियामा राम्रो प्रभाव छाडेका छन् । यि खेलमा पनि नाम चलेका उम्दा खेलाडी छन् । जसले भारतीय खेलमा निकै राम्रा गरिरहेका छन् । देश विदेशमा हुने लिग खेल्न पुगिहाल्छन् ।

गत साता नेपाल भलिबल संघको आयोजना वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप सम्पन्न भयो । एनभिए लिगको छनोटका रुपमा रहेको च्याम्पियनसिपमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी उतारेको थियो । तर गत सिजन लिग उपाधि जितेको हेल्प नेपाल यसपटक च्याम्पियनसिपमा भने उपविजेतामा सीमित बन्यो । फाइनलमा टोली आर्मीसँग पराजित भएको थियो ।

यसपटक भारतीय राष्ट्रिय टोलीका विनित कुमार चौधरी, सक्लेन खान र चिरागले हेल्प नेपालबाट खेले । विनित नेपाली भलिबल दर्शकका लागि परिचित अनुहार हुन् । पछिल्लो ४ सिजनयता उनी नियमित रुपमा एनभिए लिगसँगै च्याम्पियनसिपमा हेल्प नेपालकै जर्सीमा देखिएका छन् । सक्लेन र चिराग भने पहिलोपटक व्यावसायिक भलिबल खेल्न नेपाल आएका हुन् । यि तीन खेलाडी जापानमा भएको एसियन च्याम्पियनसिपमा भारतको राष्ट्रिय टोलीबाट सिधै नेपाल आएका थिए ।

अग्ला कद, खेल उस्तै माथिल्लो स्तर र मिजासिलो स्वभावका विनित लगातार चार वर्ष नेपालमा आएर खेल्नुले पनि उनको नेपालप्रतिको मोह बुझ्न सहज हुन्छ । उनले नेपाल आएर खेल्न निकै रमाइलो र सहज महसुस हुने बताए । ‘म सन् २०१७ देखि लगातार नेपाल आएर खेलिरहेको छु । क्लबमा निकै रमाइलो वातावरण छ । क्लबका अध्यक्ष बासु (भाई) श्रेष्ठ र महासचिव अरुण (भाई) श्रेष्ठले बोलाएपछि नाई भन्न सक्दिन,’ दक्षिण एसियाली खेलकुद (साग) मा भारतलाई स्वर्णपदक जिताइसकेका विनितले भने, ‘यहाँ आएर खेल्दा धेरै खुसी लाग्छ । नेपालमा भलिबलको क्रेज निकै राम्रो छ । हामीले यहाँ समर्थकको माया कमाएका छौं । यसपटक हामी फाइनलमा चुक्यौं । अर्काेपटक राम्रो गर्ने प्रयास हुनेछ ।’

उनी यतिमा रोकिएनन् । ‘जब नेपाल आएर खेल्छु धेरै खुशी लाग्छ । यहाँ धेरै सपोर्ट मिलेको छ । बासु भाई र अरुण भाईमा भलिबलको सेन्स छ । गत वर्षको लिगमा अर्को टोलीले ल्याएका पाकिस्तानी खेलाडीलाई समस्या पर्दा सहयोग गरेको उदाहारण हेर्न सक्छौं ’ ३० वर्षीय विनितले भने, ‘हेल्प नेपालको व्यवस्थापन भलिबल भनेपछि मरिहत्ते गर्छन् । यहाँ भलिबलको माहोल राम्रो छ । हामीलाई पनि खेल्न मज्जा लाग्छ ।’

विनितले नेपाली समर्थकको भलिबल क्रेज र यहाँको आन्तरिक प्रतिस्पर्धाको खुलेर प्रशंसा गरे । ‘भारतको केही ठाँउ केरला, हरियाणामा भलिबलको क्रेज देख्न सक्छौं । नेपालमा पनि निकै क्रेज छ । समर्थकमाझ उत्साह देख्दा झनै खेल्न मन लाग्छ । विशेषगरी नेपालको विभागीय टोली आर्मी, पुलिस र एपीएफसँग खेल्न मज्जा लाग्छ,’ उनले अनुभव साटे, ‘यि टोली निकै उत्कृष्ट छन् । हामी व्यवसायिक खेलाडी हौं । समर्थक भएपनि नभएपनि खेल्नैपर्छ । समर्थकबीच खेल्दा झनै मजा लाग्छ । दुवै पक्षबाट हुटिङ आउदाको माहोल नै फरक हुने गर्छ ।’

भारतको राष्ट्रिय टोलीबाट शीर्ष प्रतियोगिता खेल्दै सिनियर टोलीको कप्तानी सम्हालिसकेका विनितले नेपालको भलिबलको स्तर राम्रै रहेको बताए । ‘नेपालको भलिबलको स्तर राम्रै छ । तर भारत जत्तिको छैन । पाकिस्तान, श्रीलंका, माल्दिभ्स र बंगलादेशको स्तर उस्तै–उस्तै छ । यहाँ राम्रो काम भइरहेको छ । भलिबल यहाँको राष्ट्रिय खेल हो । यही तरिकाले खेल्दै गएको अवस्थामा नेपालले हामीलाई ५ वर्षपछि हराउन सक्ने सम्भावना छ,’ कुराकानीका क्रममा विनितले भने ।

विनितले अब अर्को स्तरमा लग्नका लागि धेरै भन्दा धेरै खेल हुनुपर्ने बताए । ‘खेलाडीको लागि म्याच एक्सपोजर जरुरी छ । जित्नको लागि खेलाडीले जति धेरै म्याच पाउछ त्यति नै उसमा अनुभव बढ्दै जान्छ । कठिन अवस्थामा अंक कसरी जोड्ने भन्ने सोच आउँछ, त्यो लिन जरुरी छ । दबाबमा रहेको खेललाई पनि नियन्त्रणमा लिन सकिन्छ,’ उनले भने ।

हरेक खेलका खेलाडीमा आ–आफ्नो खेलप्रति समर्पण हुनुपर्नेमा जोड दिन्छन् । त्यस्तो हुन नसकेमा उसले प्रगति गर्न नसक्ने उनको बुझाई छ । ‘राम्रो खेलाडीको लागि राम्रो टिम नै आवश्यक हुन्छ । टिम गेममा एक जना राम्रो खेलाडी भएर मात्रै हुँदैन । त्यहाँ राम्रो वातावरणको पनि आवश्यक हुन्छ,’ उनले भने । गत सिजन लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका विनित यसपटक च्याम्पियनसिपमा उत्कृष्ट स्पाइकरको उपाधि जित्न सफल रहे ।

उत्तर प्रदेशबाट सरेर हाल गुहावटीमा रहँदै आएका विनितले ढिला गरी भलिबल खेल्न सुरु गरेका हुन् । उच्च शिक्षाको लागि कलेज आएपछि उचाई देखेर फिजिकल टिचरले उनलाई भलिबल खेल्न सुझाव दिएका थिए । उनले सन् २००८ देखि भलिबल खेल्न सुरु गरेका उनी सन् २०१६ मा भारतको सिनियर राष्ट्रिय टोलीमा पर्न सफल भए । सुरुवातमा राष्ट्रिय खेलकुदमा डिएल डब्लु रेलवेको टोलीबाट खेले । पछि रेलवेको सिनियर टोलीमा खेले । अहिले उनी ओएनजिसीमा आबद्ध छन् ।

यसले भारतमा हुने व्यवसायिक लिग खेल्ने गर्दछ । उनले भारतबाट दुई पटक दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेका छन् । राष्ट्रिय टोलीमा परेको पहिलो वर्ष नै उनले भारतमा नै आयोजना भएको सागमा स्वर्णपदक जितेका थिए । सन् २०१९ मा नेपालमा भएको १३ औं सागमा उनकै कप्तानीमा भारतले स्वर्ण जितेको थियो ।

अहिले भारतीय टोलीमा आउन धेरै प्रतिस्पर्धा रहेको उनले सुनाए । ‘भारतमा राष्ट्रिय टोलीमा पर्न धेरै प्रतिस्पर्धा छ । धेरै खेलाडी छ । स्थानिय स्तरमा धेरै प्रतियोगिताहरु हुने गर्दछ । राष्ट्रिय प्रतियोगिता हुँदा कुन टोलीले जित्छ त्यो थाहा हुन्न । धेरै प्रतिस्पर्धा हुन्छ । राष्ट्रिय टोलीमा आउन २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिन्छ । त्यहाँ पनि धेरै प्रतिस्पर्धा हुन्छ,’ उनले सुनाए ।

क्रिकेटको दाँजोमा अन्य खेल पछि परेको विनित आफैले महसुस गरेका छन् । ‘अन्य खेलाडीका लागि त्यो देख्दा राम्रो लाग्दैन । क्रिकेट जस्तो अर्को कुनै खेलमा हामी कहाँ पैसा छैन । भलिबलमा पनि छैन’, उनले भने,’हामी त्यहि कारण पछि नै छौं ।’

यसपटकको च्याम्पियनसिप फाइनलमा आर्मीले संयमित भएर खेलेको र आफूहरु सर्भिसमै बढी चुेको विनितले बताए । ‘हामीले सर्भिस बिगार्यौं । सर्भिसमा बढी ध्यान दिँदा राम्रो खेल्न सकेनौं । आर्मीले संयमित भएर खेल्यो’, उनले भने, ‘सुरेन्द्रको एंकल ट्वीस्ट हुँदा पनि हामी माथि दबाब पर्यो । त्यो दिन उनीहरुको दिन थियो । भाग्यमा विश्वास त लाग्छ तर भाग्यमा निर्भर गर्नुभन्दा मेहनत गर्नु उपयुक्त हुन्छ ।’

नेपालको भलिबल माहोलबाट विनित प्रभावित छन् । तर खेलको विकासका लागि भने रेफ्रीहरुको निर्णय पनि सहि हुनुपर्नेमा उनले जोड दिए । ‘माहोल ठीक छ । टिमले पनि राम्रो खेलिरहेका छन् । रेफ्रीको निर्णय सही हुनु आवश्यक छ । यसले दोस्रो टोलीलाई माथि आउन सहयोग गर्छ । लोकल खेलाडीमा रेफ्रीको झुकाव हुनु स्वभाविक नै हो,’उनले भने, ‘थोरै न्युट्रल हुन सके प्रतिस्पर्धा बढ्ने पक्का छ । हरेक खेलमा व्यावसायिक हुनु आवश्यक छ । जब खेल फेयर हुन्न त्यो खेलले विकास गर्न सक्दैन ।’

नेपालमा विनितका समर्थक छन् । तर उनी समर्थक भन्दा साथी भन्न रुचाउँछन् । ‘समर्थक त के भनौ साथीहरु कमाएको छु’, उनले भने, ‘समर्थकको कारण पनि खेलको स्तर बढाउन मदत गर्छ । प्रतिस्पर्धा बलियो हुँदा स्तर पनि बढ्दै जाने हो । अन्ततः त्यसले खेलकै विकास हुने हो ।’

भारतका लागि सबै उमेर समूह हुँदै सिनियर टोलीमा पुगेका चिराग नेपालको पहिलो व्यवसायिक यात्राबाटै प्रभावित भएका छन् । भारतीय जुनियर टोलीको कप्तानी समेत गरिसकेका उनले भने, ‘यहाँको प्रतिस्पर्धा हेर्दा खेलाडी प्रतिभावान नै पाएँ । अघि आउने सम्भावना बोकेका छन् । लिग र यस्ता च्याम्पियनसिप हुँदा खेलाडीलाई फाइदा हुन्छ । त्यसले स्तर पनि बढ्दै जान्छ ।’

सक्लेन खान जम्मु कश्मिरका हुन् । उनी यो वर्ष पहिलो पटक भारतीय राष्ट्रिय टोली परेका हुन् । नेपालको पहिलो अनुभवबाट उनी पनि खुसी छन् । ‘यहाँको अनुभव निकै राम्रो रह्यो । यो प्रतियोगिता सुनिरहेको र राम्रो हुन्छ भन्ने सुनेको थिएँ । अहिले आफैं आएर अनुभव गर्न पाएँ’, उनले भने, ‘पब्लिक सपोर्ट, खेल्दा पनि एकदमै रमाइलो गरेर खेल्यौं । खेलमा एक त दबाब नै हुन्छ । तर हाम्रो टिम निकै राम्रो थियो । राम्रो वातावरण पाएकोले दबाब नलिइ खेलेको थियौं ।’

घरको वातावरणले नै आफू भलिबल खेलाडी बनेको उल्लेख गर्दै सक्लेनले भने, ‘परिवारिक वातावरणले नै म भलिबल खेलाडी बनेको हुँ । त्यसैबाट अघि बढें । यो त सुरुवात हो । सिनियर खेलाडी विनित जस्तै अन्यले पनि हौसला बढाउनुहुन्छ । जसले अझै राम्रो गर्ने प्रेरणा मिल्छ ।’

यू २३ बाट खेलिकेका उनी खेलाडीमा केहि एग्रेसन फिल्डमा हुन आवश्यक रहने मान्छन् । तर त्यसले कसैलाई हानी नहुने गरी गनुपर्नेमा जोड दिँदै भन्छन्, ‘विपक्षी खेलाडीलाई हानी पुर्याउने गरी एग्रेसन देखाउनु गलत हो ।’

हेल्प नेपालका महासचिव अरुण श्रेष्ठ विदेशी खेलाडीको प्रदर्शनबाट खुसी छन् । क्लबले नेपाली भलिबलको स्तर उकास्ने लक्ष्य लिएर नै विदेशी खेलाडी अनुबन्ध गरेको बताए । ‘ हाम्रो मुख्य लक्ष्य भनेको नै नेपाली भलिबलको स्तर उकास्नु हो । हामीले विदेशी खेलाडी ल्याउँदा हाम्रो टोलीका खेलाडी मात्र होइन, विपक्षी खेलाडीलाई नै खेल उकास्न सहयोग पुग्छ । नेपाली भलिबल खेलाडीले यसरी विदेशी खेलाडीसँग खेल्दा धेरै भन्दा धेरै सिकुन् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

क्लबले आफ्नो प्रायोजकहरुको निरन्तर साथका कारण नै स्तरीय खेलाडी अनुबन्ध गर्न सकेको श्रेष्ठ बताउँछन् । ‘हाम्रो भलिबल उकास्ने प्रयासमा प्रायोजकहरुको पनि साथ छ । लामो समयदेखि टिपटपले हामीलाई निरन्तर साथ दिनुभएको छ । वहाँहरुको साथले निरन्तर आँट गरेर अघि बढेका छौं । आउने दिनमा अन्य सहयोगी हातहरु पनि आउने अपेक्षा राखेका छौं,’ उनले भने ।

क्लबले आउने दिनमा अझै उच्च स्तरका खेलाडी भित्र्याउने लक्ष्य राखेको छ । ‘अहिले हामीले भारतका राष्ट्रिय खेलाडी ल्याएका छौं । वहाँहरुको प्रदर्शनबाट हामी खुसी छौं । व्यक्तिगत र व्यावसायिक रुपमा राम्रो सम्बन्ध छ,’ उनले भने, ‘तर अब यसलाई अझ राम्रो बनाउन युरोपको खेलाडी पनि ल्याउने प्रयास छ । आउने प्रतियोगितामा त्यसमा पनि ध्यान दिनेछौं । खेलको स्तर उकासेपछि खेलाडी राम्रो हुन्छन् भन्ने हाम्रो सोच हो ।’

May 5, 2024

कञ्चन टर्किस एयरलाइन्स विश्व गल्फ कप फाइनलको लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- कञ्चन बस्न्यातले टर्किस एयरलाइन्स विश्व गल्फ कप काठमाडौं छनोटको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा आइतबार ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जित्दै उनले टर्किस एयरलाइन्स विश्व गल्फ कप फाइनलमा स्थान सुरक्षित गरे। सो प्रतियोगिता आगामी डिसेम्बरमा टर्कीको अन्टालियास्थित ग्लोरिया होटल एण्ड रिसोर्टमा हुनेछ। जहाँ कञ्चनले नेपालको प्रतिनिधित्व गर्नेछन्। टासी छिरिङ ४० अंक […]

May 5, 2024

काभ्रेमा अर्को महिना थ्री बाइ थ्री बास्केटबल हुने

काभ्रे (हाम्रो खेलकुद) – काभ्रे बास्केटबल संघको आयोजनामा अर्को महिना प्रथम अल नेपाल काभ्रे थ्री बाइ थ्री बास्केटबल हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फको प्रतिस्पर्धा हुने काभ्रे बास्केटबल संघले जनाएको छ । काठमाडौं विश्वविद्यालयको बास्केटबल कोर्टमा जेठ २६ गते हुने प्रतियोगिताको दुवैतर्फको विजेताले २५ हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

Success

Thank you for your time.