default_image

2 years ago

March 29, 2022

प्रिन्सलाई योनेक्स सनराइजको कीर्तिमानी प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर वरीयताको शीर्षस्थानमा रहेको नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसँग योनेक्स सनराइजले कीर्तिमानी प्रायोजन सम्झौता गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि प्रायोजन गर्ने सम्झौता भएको हो । राजधानीमा एक कार्यक्रममाझ सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र खेलाडी प्रिन्स दाहालले […]

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर वरीयताको शीर्षस्थानमा रहेको नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसँग योनेक्स सनराइजले कीर्तिमानी प्रायोजन सम्झौता गरेको छ ।

योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि प्रायोजन गर्ने सम्झौता भएको हो । राजधानीमा एक कार्यक्रममाझ सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र खेलाडी प्रिन्स दाहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

सम्झौता अनुसार योनेक्सले प्रिन्सलाई वार्षिक ८ लाख रुपैयाँ नगद उपलब्ध गराउनेछ । यस्तै उनको लागि योनेक्सले आवश्यक सबै खेल सामग्रीसमेत उपलब्ध गराउनेछ । यस्तै सम्झौतामा हरेक अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता र जितको रकम समेत प्राप्त गर्ने उल्लेख छ । यस्तै सम्झौतामा प्रिन्सले इन्डोनेसिया वा भारतमा प्रशिक्षणको अवसर पाउनेछन् ।

योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोलाले प्रिन्सको सम्भावना देखेर नै उनीसँग सम्झौता गरिएको बताए । प्रोपाइटर बास्तोलाले प्रिन्ससँगै अन्य सम्भावना बोकेका प्रतिभावान् खेलाडीलाई पनि योनेक्सले सहयोग र सम्झौताको लागि बाटो खुलेको बताए ।

योनेक्स नेपालले यसअघि पनि प्रिन्ससँगै अन्य खेलाडीलाई खेल सामग्रीमा सहयोग गर्दै आइरहेको छ । यसअघि प्रिन्सलाई योनेक्स नेपालले एक वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको थियो ।

विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले गत पुसमा निकालेको नयाँ वरीयता अनुसार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा पुग्न सफल भएका थिए । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए ।

सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो । विश्व जुनियर वरीयताको शीर्ष वरियता भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो । यसअघि प्रिन्स तेस्रो, सातौं र अहिले ११औं स्थानमा रहेका थिए । प्रिन्सको वरीयतामा १० हजार ४ सय अंक छ ।

कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा उनको अंकमा पनि परिवर्तन भएको छैन । प्रिन्स एसिया ओलम्पिक प्रोजेक्ट (एओपी) मा समेत छनोट भएका छन् । नेपाल ब्याडमिनटन संघको पहलमा प्रिन्ससँगै महिला डबल्सको सातौं स्थानमा रहेकी रशिला महर्जनले यो अवसर प्राप्त गरेकी हुन् ।

प्रिन्सले पछिल्लो समय घरेलु प्रतियोगितामा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा प्रिन्सले सहभागिता जनाउन पाएका छैनन् ।
प्रिन्सले यो वर्ष सिनियरतर्फ पुष्पालाल स्मृति र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्दा गत साता भक्तपुरमा भएको प्रतियोगितामा दोस्रो भएका थिए ।

यो नेपाली ब्याडमिन्टन इतिहासकै सबैभन्दा ठुलो सम्झौता हो । मंगलबार नै उनलाई आवश्यक पर्ने खेल सामग्री र पोशाक हस्तान्तरण गरिएको छ । प्रिन्सले हरेक प्रतियोगिताको योनेक्सको लोगो अंकित खेल सामग्री प्रयोग गर्नेछन् । यसअघि उनलाई बन्जारा एग्रो फार्मले पनि ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो ।

Success

Thank you for your time.