default_image

1 month ago

June 14, 2025

डेभिस कप खेल्न नपाएको अभिषेकको गुनासो, संघ भन्छ – ‘छनोट खेल्न आएनन्’

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टेनिस खेलाडी अभिषेक बास्तोलाले अर्को महिना मलेसियामा हुने डेभिस कपमा नेपालको प्रतिनिधित्व गर्न नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

डेभिस कपमा नेपालका लागि पछिल्लो दुवै संस्करणमा उच्च प्रदर्शन गरेका अभिषेकलाई नेपाल टेनिस संघले छनोट खेल्न नआएको भन्दै टोलीमा समावेश नगर्ने भएको हो । संघका महासचिव मनोहर दास मूलले प्रतियोगितामा सहभागिताका लागि बनाएको नियम अनुसार अभिषेक सिधै छनोट हुन नसक्ने भएपछि उनले छनोटको बाटो लिनुपर्ने र छनोट नखेलेका कारण सहभागी गराउन नसकेको बताएका छन् ।

अभिषेक पछिल्लो समय अमेरिकामा रहेर आफ्नो टेनिस करिअर र उच्च शिक्षा अघि बढाउँदै आएका छन् । यसक्रममा उनले व्यावसायिक टेनिस प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । सन् २०२३ मा अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) को विश्व वरियतामा समावेश भएका उनले पछिल्लो वर्षयता भने वरीयता प्राप्त गरेनन् । यसलाई आधार मान्दै टेनिस संघले उनलाई डेभिस कपको टोलीमा नराख्ने निर्णय गरेको हो ।

महासचिव मूलका अनुसार संघले नेपालको नम्बर १ वरीयतामा रहेका खेलाडी र आइटिएफ वरीयता भएका खेलाडीलाई सिधै डेभिस कपको टोलीमा समावेश गर्ने प्रावधान छ । यसबाहेकका हकमा भने छनोट प्रतियोगिता खेलेर मात्र टोलीमा स्थान बनाउन पाइन्छ । छनोट प्रतियोगितामा शीर्ष ८ वरीयतासँगै वाइल्डकार्डमार्फत सम्भावना बोकेका खेलाडीलाई अवसर दिइने प्रावधान अनुसार बास्तोलालाई पनि संघले वाइल्डकार्डमार्फत छनोट खेल्न अवसर दिएको मूलले जानकारी दिए ।

यता अभिषेकले भने छनोट सुरु हुनुभन्दा २ दिन अघिमात्र आफूलाई यसबारे जानकारी भएको बताएका छन् । अभिषेकले आफू डेभिस कपको अघिल्ला दुवै संस्करणमा एकलतर्फ अपराजित रहेकाले टोलीमा पर्ने आशा राखेकोले नियमित प्रशिक्षणमा व्यस्त रहेको बताए ।

‘डेभिस कपमा नेपालका लागि मेरो प्रदर्शन उत्कृष्ट रहेको थियो । सिंगलतर्फ खेलेका सबै ६ खेलमा जित दर्ता गरेको इतिहास छ । नेपालमा मैले पछिल्लो १० वर्षदेखि कुनै खेल हारेको छैन । अझ खेलेका ९५ प्रतिशत खेल ६-०, ६-० को अन्तरले जितेको छु । नेपालको झन्डा बोकेर अन्तर्राष्ट्रिय मन्चमा लगातार खेल्दा पनि डेभिस कपको टोलीमा नराख्नुले मलाई आश्चर्यचकित बनाएको छ,’ अभिषेकले हाम्रो खेलकुदसँग भने ।

नेपालले २०२३ बाट डेभिस कपमा सहभागिता जनाएको थियो । नेपाल त्यसबेला सातौं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको थियो । पुल बिमा नेपालले कतार र यमनसँग खेल्दा अभिषेकले दुवै सिंगल खेलमा जित दर्ता गरेका थिए । माल्दिभ्सविरुद्ध प्लेअफमा पनि अभिषेकले जित हासिल गरेका थिए । उक्त संस्करणमा ऋतिक राणाले २ सिंगल जित्दा प्रदीप भने पराजित भएका थिए ।

२०२४ मा नेपालले बहराइन, ब्रुनाई र गुआमलाई पराजित गर्दापनि अभिषेकले सबै ३ खेल जित्दै नेपाललाई समूह ४ मा बढुवा गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा प्रदीप खड्काले पनि तीनै सिंगल खेल जितेका थिए ।

नेपालका लागि पछिल्ला दुवै सहभागितामा उच्च प्रदर्शन गरेपनि संघले यसपटक अभिषेकलाई टोलीमा नराख्दा उनले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘मैले आजसम्म विश्वभर नेपालको झन्डामुनि खेल्दै आएको छु । संघबाट हालसम्म कुनै सुविधा पाएको छैन । मैले प्रशिक्षण र खेल सामग्रीको जोहो त आफैं गर्दै आएको नै छु, प्रतियोगितामा खेल्न जाँदा पनि आधारभूत सुविधा पाएको छैन । अझैपनि देशको लागि खेल्ने इच्छा हुँदाहुँदै संघको यो व्यवहारले अचम्मित तुल्याएको छ,’ उनले भने ।

यता महासचिव मूल भने कुनै एक खेलाडीका लागि नियम परिवर्तन गर्न नमिल्ने तर्क राख्छन् । ‘अभिषेकको बारेमा हामीलाई थाहा छ । उनी विश्व वरीयतामा हुँदा हामीले नै सहभागिता गराएका हौं । अब हामीले बनाएको नियम अनुसार उनको वरीयता छैन । छनोट खेल्ने प्रावधान अनुसार उनी आएनन् । अब एक जना खेलाडीका लागि नियम नै परिवर्तन पनि गर्न मिलेन,’ मूलले हाम्रो खेलकुदलाई भने ।

गत संस्करण बढुवा भएको नेपालले यसपटक समूह ४ मा कतार, मलेसिया, इराक, फिलिपिन्स, कुवेत, किर्गीस्तान र प्यासिफिक ओसेनियासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष २ टोली समूह ३ मा पुग्दा पुछारका दुई टोली समूह ५ मा घटुवा हुनेछन् ।

Success

Thank you for your time.