2 weeks ago
June 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विश्व टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम विम्बल्डन २०२५ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने भएको छ ।
कान्तिपुर म्याक्सले जुन ३० देखि १३ जुलाईसम्म हुने विम्बल्डन नेपालमै पहिलो पटक आधिकारिक प्रसारण गर्न लागेको हो । दुई साता लामो प्रतियोगिताको प्रत्यक्ष प्रसारण अघि हरेक दिन प्रि म्याच कार्यक्रम पनि राखिने जानकारी दिइएको छ ।
कान्तिपुर टिभीको सिओओ सुरज सिंह ठकुरीले नेपाली खेलकुदको वृहत्तर विकासका लागि खेललाई देशभर फैलाउने लक्ष्यसाथ यो कदम चालेको बताए । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारणका क्रममा पाएको प्रतिक्रियाले कान्तिपुर अझ हौसिएको अभिव्यक्ती दिए ।
सन् १८७७ देखि सुरू भएको विम्बल्डन विश्वको चार ग्रान्डस्लाममध्य एक हो । जारी सिजन अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन समाप्त भइसकेका छन् भने यूएस ओपन यसपछि अगष्ट २४ देखि सेप्टेम्बर ७ सम्म हुनेछ ।
यस सिजन अष्ट्रेलियन ओपनको एकलतर्फ यानिक सिनर र म्याडिसन किज तथा फ्रेन्च ओपनमा कार्लोस अल्काराज र कोको गफ च्याम्पियन बनेका थिए ।