4 months ago
August 10, 2025
दिपक बोहोरा , पाँचथर
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्।
एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्।
पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको एनपिएलको विषयमा छानबिनका लागि खेलकुद मन्त्रालयले भोलि छानबिन समिति गठन गर्ने भएको छ ।
मन्त्रालयकै सहसचिवको नेतृत्वमा बन्ने उक्त समितिले एनपिएलका वित्तीय, प्राविधिक र व्यवस्थापकीय पक्षको विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्ने बताइएको छ।
जिल्ला खेलकुद विकास समिति पाँचथरले आइतवार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद मन्त्री चौधरीले नयाँ समिति गठनको कारणबारे विस्तृत जानकारी दिए । उनले यसअघि सरकारले गठन गरेको कार्यदललाई क्यानले पूर्ण सहयोग नगरेकाले अर्को समिति बनाउन बाध्य भएको बताए।
मन्त्री चौधरीका अनुसार अघिल्लो छानबिन समितिले माग गरेका आवश्यक कागजातहरू क्यानले समयमै उपलब्ध गराएन। ‘पठाएको पत्रहरुको जवाफ समेत दिएनन्, आवश्यक विवरण पेस गर्न अस्वीकार गरे। त्यसैले सरकारले पुनः अर्को समिति गठन गर्ने निर्णय गरेको हो,’ उनले स्पष्ट पारे।
मन्त्रीका अनुसार पहिलो समितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आधिकारिक लेटरप्याड प्रयोग गर्ने अधिकार थियो । त्यसमा अनावश्यक विवाद सिर्जना गर्नु नपर्ने उनले बताए।
मन्त्री चौधरीले एनपिएलको दोस्रो संस्करणलाई भव्य बनाउन आफू इच्छुक रहेको पनि प्रष्ट पारे। तर, उनले आयोजक समिति क्यानले नेपालको ऐन तथा कानुनको पालना गर्नुपर्नेमा जोड दिए।

‘खरिद ऐन र सम्बन्धित कानुनलाई मान्दै जाने हो भने मन्त्रालयबाट आवश्यक सहयोग हुनेछ। तर, कानुन तोडेर कुनै गतिविधि स्वीकार्य हुने छैन,’ मन्त्री चौधरीले भने।
उनले एनपिएललाई अन्तर्राष्ट्रिय स्तरको लिगका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै यसका लागि पारदर्शिता, सुशासन अपरिहार्य हुने बताए।
मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पनि दिए। उनका अनुसार, यस पटक तोकिएको मिति कुनै कारण पनि परिवर्तन हुने छैन।
‘मिति टुंगो लागेपछि त्यो यथावत् रहनेछ। यसपटक प्रतियोगितालाई समयमै सम्पन्न गर्ने हाम्रो प्रतिबद्धता छ,’ उनले जोड दिए।
८ टोलीको सहभागितामा एनपिएलको पहिलो संस्करण काठमाडौंमा सम्पन्न भएको थियो। तर, प्रतियोगिता सम्पन्न भएलगत्तै टिकट बिक्री, विज्ञापन आम्दानी, खेलाडी तलब भुक्तानी र ठेक्का प्रक्रिया पारदर्शी नभएको आरोपसहित विवाद उत्पन्न भयो।
खेलकुद मन्त्रालयले घटनाक्रमको छानबिनका लागि कार्यदल गठन गरे पनि क्यानले आवश्यक दस्तावेज उपलब्ध गराउन असहयोग गरेको मन्त्रालयको दाबी छ।
मन्त्रालयले यसपटक गठन गर्न लागेको नयाँ समिति भने थप अधिकारसहित आउने बताइएको छ ।