3 months ago
August 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरकारी मान्यता पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिको प्रवक्ता समिम मिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको नेपाल कुस्ती संघले प्रष्ट पारेको छ।
अन्सारी कुस्ती संघको उपाध्यक्षका रुपमा एनओसी तदर्थ समितिले गत साता गरेको पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए।
तर कुनै सम्बन्ध नभएका व्यक्तिले आफ्नो नाममा गतिविधि गरिरहेको भन्दै संघले गम्भीर आपत्ति जनाएको छ।
संघले राज मोहम्मद मिया अन्सारी (पूर्व अध्यक्ष) र समिम मिया अन्सारी (पूर्व वरिष्ठ उपाध्यक्ष) ले विभिन्न कार्यक्रममा आफूलाई कुस्ती संघको प्रतिनिधि भन्दै सहभागिता जनाइरहेको जानकारी प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
जबकी सर्वोच्च अदालतले २०७७ मंसिर ३ गतेको फैसलाले उनीहरूको नेतृत्व खारेज गरिसकेको संघको दाबी छ।
२०८० चैत ४ गते सम्पन्न साधारण सभाबाट प्रकाश कुमार कुसारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भइसकेको र त्यसै मितिबाट संघमा सबै विवाद टुंगिएको संघले जनाएको छ। हाल संघलाई संयुक्त विश्व कुस्ती र अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको औपचारिक मान्यता आफूहरुलाई रहेको संघका महासचिव खगेन्द्र बहादुर बस्नेत बुधवार जारी विज्ञप्तिमा उल्लेख छ।
संघले भनेको छ, ‘नेपाल कुस्ती संघको नाममा हुने अनधिकृत गतिविधिले खेलाडीलाई निरुत्साहित गर्ने र खेलकुदको विकासमा दीर्घकालीन असर पार्ने भएकाले यस्ता भ्रामक गतिविधिमा नफस्न सबै सरोकारवालालाई अनुरोध गर्दछौं।’
अन्सारीले भने कुस्ती संघको अन्तर्राष्ट्रिय मान्यता आफूहरुलाई रहेको दाबी गरेका छन्।’ सन् २०१० देखि हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा र साधारण सभामा हामीले नै सहभागिता जनाइरहेका छौं । एसियाको केहि महिनाअघि भएको जोर्डनमा भएको साधारण सभामा म आफै गएको थिए।’
राष्ट्रिय मान्यता आफूहरुसँग नरहेको स्वीकारेका अन्सारीले २३ राष्ट्रिय संघका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भोलि पल्ट जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले मान्यता दिनु बदनियतपूर्ण रहेको अन्सारीको भनाइ छ।
‘सर्वोच्चले निर्वाचन गराउनु भन्ने आदेशमा तदर्थ समिति बनाइयो । हामीले त्यसलाई मानेनौ। त्यसको जानकारी हामीले मन्त्रालयमा दिएका छौं , उनले भने,’कुसारी जीको अध्यक्षतामा निर्वाचन भएको भनिएको छ। त्यसमा हाम्रो भन्नु केही छैन। तर जीवनराम जीले हामी प्रधानमन्त्रीलाई भेटेको भोलि पल्ट मान्यता छ भन्नु बदनियत हो । जबकी त्यो निर्वाचन २०८० चैतमा भएको हो।’
