3 months ago
September 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रवि राज कर्णिकारलाई दुई वर्षका लागि निलम्बन गरेको छ ।
अगष्ट २८ मा बसेको ओसिए कार्यकारी बोर्डको बैठकमा
इथिक्स कमिटीको सिफारिसमा श्रेष्ठ र राजकर्णिकारलाई ओसिए सम्बन्धित सबै गतिविधिबाट दुई वर्षको लागि निलम्बन गर्ने निर्णय गरेको हो।
ओसिए इथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारंगीले श्रेष्ठ र राजकर्णिकार लाई पत्रमार्फत निलम्बन निर्णय जानकारी गराएका छन्। साथै निर्णय तत्कालै कार्यान्वयनमा आउने उल्लेख गरिएको छ।
निलम्बन सम्बन्धि पत्रको प्रतिलिपि अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) , अन्तर्राष्ट्रिय तथा एसियाली घोडचडी महासंघ र अन्तर्राष्ट्रिय तथा एशियाली ट्रायथलन महासंघलाई पनि पठाइएको छ।
श्रेष्ठ एनओसीका निवर्तमान महासचिव र राजकर्णिकार पूर्व सदस्य हुन्। सरकारी मान्यता प्राप्त एनओसीमा दुबै जना सदस्य छन्।
यसअघि ओसिएले ध्रुवबहादुर प्रधान संयोजक रहेको सरकारी मान्यता प्राप्त एनओसी तदर्थ समितिलाई ओसिएको लोगो प्रयोग नगर्न चेतावनी दिएको थियो । अन्यथा कानुनी उपचारमा जाने समेत बताएको थियो।

