2 months ago
September 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद्का मुख्य भलिबल प्रशिक्षक जगदिश प्रसाद भट्टको बचाउ गर्दै आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक भट्टले बुधवार राखेपसँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय गरेको सामाजिक सन्जालमार्फत घोषणा गरेका थिए।
‘आगामी दिनमा राखेपको कार्यक्रमबाहेक त्यो पनि जागिरमै रहेसम्म मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागिता)मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु, ‘ भट्टले लेखेका थिए।
राष्ट्रिय पुरुष टोलीको छनोट विवादमा परेपछि भट्टले यस्तो निर्णय लिएको अनुमान गरिएको छ । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले आज विज्ञप्तिमार्फत निर्णयमा पुर्नविचार गर्न आग्रह गर्दै यथाशिघ्र पुरानै जिम्मेवारीमा फर्कन अनुरोध गरेका छन्।
‘विगत ३० वर्ष देखि नेपाली भलिबल खेल र खेलाडीको विकासको लागि अहोरात्र खट्दै, नेपाली भलिबलको इतिहासमा अतुलनिय योगदान दिदै आउनु भएका मुख्य प्रशिक्षक श्री जगदिश प्रसाद भट्टज्यू माथि राष्ट्रिय टिम छनोटको विषयलाई लिएर निहित स्वार्थ समुहले सामाजिक सञ्जालको प्रयोग गरि गलत प्रचारवाजी गरेका कारणबाट शारिरीक, मानसिक, सामाजिक, पारिवारिक रुपमा विचलित भई केहि दिन फेसबुक स्ट्याटसमार्फत भलिबलका कुनै पनि कार्यक्रममा सहभागि नहुने घोषण गर्नु भएकोमा नेपाल भलिबल संघ परिवारले नेपाली भलिबलको विकासमा उहाँको भुमिकाको थप महशुस गरेकाले आफ्नो फेसबुक स्ट्याटसमार्फत गर्नु भएको घोषणामा पुर्नविचार गर्न आग्रह गर्दै यथाशिघ्र पुरानै जिम्मेवारीमा फर्कन अनुरोध गर्दछौ ।
विगतमा नेपालमा अन्तर्राष्ट्रिय पदकहरुको ठोस उपलब्धि नभएको स्मरण गराउँदै चन्दले भट्टले आफ्नो प्रशिक्षणकालमा नेपाललाई पुरुष र महिलामा (स्वर्ण, कास्य र रजत) १३ अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको उल्लेख गरेका छन्।
नेपाली भलिबलको इतिहासमा अतुलनिय योगदान दिएका भट्ट माथि राष्ट्रिय टिम छनोटको विषयलाई लिएर निहित स्वार्थ समूहले सामाजिक सञ्जालको प्रयोग गरि गलत प्रचारवाजी गरेका कारणबाट उनी शारिरीक, मानसिक, सामाजिक, पारिवारिक रुपमा विचलित भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
संघले उपाध्यक्ष भरत बहादुर शाहको संयोजकत्वमा भट्ट र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भरत यादवसहितको छनोट समिति गठन गरेको थियो। समितिको सिफारिसमा छनोट भएका १८ खेलाडी असोज २ गते सुरु भएको प्रशिक्षणमा सामेल भएका छन्।

अध्यक्ष चन्दले छनोट प्रक्रियामा असहमती भए तर्कपूर्ण कारण सहित सम्बन्धित व्यक्ती, जिल्ला/प्रदेश भलिबल संघले विधि पूर्वक लिखित रुपमा संघमा निवेदन दिने सक्ने भन्दै अध्यक्ष चन्दले एउटा व्यक्तिलाई मात्र दोषी देखाउनु उचित नहुने उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय टिम छनौटको पनि विधि र प्रक्रिया हुन्छ । यसमा छनौट समितिको सामूहिक निर्णयबाट खेलाडीहरुको खेल कौशल, रणनिती, खेलाडीहरुको अनुशासन साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल प्रदर्शन गरेको आधारमा छनौट गरिन्छ नकि जात, वर्ग, भेग, क्षेत्र आदि इत्यादिको आधारमा । देशको झण्डालाई शिरमा राखेर, भलिबल खेलको वृति विकासको लागि वर्तमान र भविष्यलाई मध्य नजर गरेर खेलाडी छनोट गरिएको हो। ‘
भट्टको बचाउमा उत्रेको संघले अहिले सम्म १८ खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
बिहीवार राष्ट्रिय टोलीको प्रारम्भिक छनोटको विषय प्रति गण्डकी प्रदेश भलिबल संघले आपत्ति जनाएको थियो ।
पछिल्लो प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको प्रारम्भिक १८ जना खेलाडीको सूची सार्वजनिक हुँदा आफ्नो प्रदेशको एक जना खेलाडी पनि नपरेको विषयमा गण्डकी भलिबलले प्रश्न खडा गरेको हो।
आफु खुसी निकटका खेलाडीलाई छनोट गरेको उल्लेख गर्दै त्यहि कारण गण्डकी प्रदेशका खेलाडी माथि अन्याय भएको आरोप गण्डकी भलिबलले लगाएको थियो ।
छनोट प्रक्रिया बारे यथाशीघ्र पुनर्विचार गर्न माग गर्दै त्यसो नभएको खण्डमा नेपाल भलिबल संघबाट आयोजना गरिने कुनैपनि प्रतियोगिता तथा कार्यक्रममा गण्डकीको सहभागिता र सहयोग समेत नरहने चेतावनी दिएको थियो।