default_image

2 years ago

December 10, 2021

आत्मविश्वास र स्तरीय ड्राइभका पर्याय देव

भुपेन्द्र जिसी, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, […]

114 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे ।

अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, शान्त स्वभाव र उत्कृष्ट नेतृत्व देवको विशेषता हो । लामो समय देखि ओपनरले निराश बनाएको नेपाली क्रिकेटमा देव नयाँ आशाको किरणको रुपमा उदाएका छन् ।

भर्खर सम्पन्न यू-१९ प्रतियोगिताको पहिलो खेलमा देव गण्डकीसँग १८ रन र कर्णालीसँग शून्यमा आउट भए । देव नचल्दा लुम्बिनीले कर्णालीसँग १ सय ४० रनको अप्रत्याशित हार बेहोर्यो । त्यसपछि देवले मुलपानी मैदानमा सुदूरपश्चिमविरुद्ध १ सय ३२ बलमा ८ चौका र ३ छक्कासहित ९२ रनको इनिङ खेले । देवका उच्च प्रदर्शनमा लुम्बिनीले २ सय ४१ रनको लक्ष्य ९ विकेटको क्षतिमा पूरा गर्यो । सबै टोली १-१ रनका लागि संघर्ष गरिरहेको मुलपानीको पिचमा २ सय ४१ रन पूरा गर्नु सामान्य कुरा होईन । त्यसपछि उनले बागमतीसँग ६७ रन, प्रदेश १ सँग २५ र प्रदेश नम्बर २ सँग ६२ रन जोडे । सुदूरपश्चिमसँग फाइनलमा महत्वपूर्ण ७० रन जोडे ।

देवको ब्याटिङमा फरक स्तर देखिन्छ । उनको सट छनोट र त्यसलाई खेल्ने शैलीले विश्वस्तरिय ब्याटरको झल्को दिन्छ । उनको सट खेल्ने शैली नेपाली क्रिकेटमा सायदै अरुमा देखिएको छ । उनको ब्याटिङमा सट खेल्ने र छनोट गर्ने स्तरमात्र होइन जिम्मेवारी पनि त्यतिनै छ । उमेर कलिलो भएपनि मैदानमा परिपक्क ब्याटिङ गर्दछन् ।

देव सुरुवातमा समय लिएर खेल्न रुचाउँछन् । जब क्रिजमा जम्न थाल्छन् अनि रन बढाउँछन् । कभर ड्राइभ देवको विशेष सट हो । उनले आफ्नो रेन्जमा आएको बललाई कभर ड्राइभ खेल्दा बेग्लै आनन्द आउँछ । आत्मविश्वासले भरिपूर्ण देवलाई रोक्न विपक्षी बलरलाई निकै कठिन पर्छ ।

ब्याटिङसँगै देवको कप्तानी पनि उत्कृष्ट छ । देव टोलीको अवस्था हेरेर बलरलाई राम्रोसँग चलायमान बनाउँछन् । फाइनलमा सुदूरपश्चिम र लिगमा उत्कृष्ट नेतृत्वको झल्को दिए । फाइनलमा सुरुवाती १७ ओभर सम्म दुर्गेश गुप्ता र मोहम्मद हसैनको जोडीलाई निरन्तर बलिङ गराउँदै सूदुरलाई दबाब राखे ।

लिगमा प्रदेश दुई एक समय २८ ओभरमा १४०–४ को बलियो अवस्थामा थियो । प्रमुख बलर दुर्गेश गुप्तालाई पाँच ओभर र मोहम्मद हसनलाई चार ओभरमै रोके । पछि प्रदेश २ १ सय ६८ रनमा अल आउट भयो ।

प्रदेश एक १ सय ७ रनमा अल आउट हुँदा देवले उत्कृष्ट नेतृत्व गरे । सुरुवाती २० ओभरमा हसनको स्पेल सकाउँदै प्रदेश एकलाई ६४–७ को दयनिय अवस्थामा पुर्याएका थिए । हसनले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए ।

गत माघमा भएको प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको सिनियर टोलीबाट पुलिससँग डेब्यू खेलपछि आत्माविश्वास झनै बढ्यो । ‘म मज्जाले खेल्न सक्छु भन्नेमा आत्माविश्वास थियो । मात्र एउटा राम्रो अवसरको खोजीमा थिएँ । यू–१९ ले मलाई त्यो अवसर दियो’, देवले भने ।

‘कप्तान भएपछि जिम्मेवारीका साथ टिमलाई जिताउन भन्ने सधैं सोच हुन्छ । त्यहिँ सोचेर खेलिरहेको छु । प्रदर्शन पनि राम्रो भयो’, उनले थपे ।

‘प्रदर्शन अहिले देखिएको छ । यसको पछाडि धेरै मिहिनेत छ । सिक्दै जाने हो । हरेक दिन नयाँ कुरा हुन्छ । हरेक खेलमा म आफ्नो शत प्रतिशत दिन चाहन्छु । प्रदर्शन आफैं आउँछ’, देवले भने ।

‘म ब्याटिङ गर्दा कहिल्यै पनि व्यक्तिगत स्कोर हेरेर खेल्दिन । टिमको प्रर्दशन मात्र ध्यानमा हुन्छ । सुदूरपश्चिमसँगको खेलमा ९२ रनमा आउट भए भन्ने मलाई थाहा थिएन । पेभेलिएनमा आएपछि थाहा पाएँ । मलाई शतक हान्न नपाएर कुनै गुनासो र दुःख थिएन । तर टिमको लागि खेल अन्त्य गर्न नपाउँदा धेरै गुनासो थियो’, उनले भने ।

‘मैले लुम्बिनी प्रदेशको कप्तान पाउनेमा सोचेको पनि थिएन । एकदम खुसी लागेको थियो । टिमको सिनियर खेलाडी र कप्तान भएपछि जिम्मेवारी सधैं हुन्छ नै । कप्तान भएपछि टिम जित्नुपर्छ भन्ने मात्र सोच हुन्छ । ब्याटिङ गर्दा पूरै टोलीलाई आफूसँगै लिएर हिँडेको थिए । त्यसले गर्दा प्रदर्शन राम्रो भयो’, उनले भने ।

कप्तानी दबाब र प्रदर्शनलेनै खेलाडी बनाउने देव बताउँछन् । ‘हरेक कुरामा दबाब भन्दापनि अवसर देखेको हुन्छु । म दबाबलाई अवसरको रुपमा लिन्छु । दबाबले नै एउटा राम्रो खेलाडी बनाउँछ । मैले अझ धेरै सुधार गर्न बाँकी छ’, उनले भने ।

को हुन् देव खनाल ?

देवको जन्म बुबा रामप्रसाद र आमा आशा खनालको कान्छो सन्तानको रुपमा २००५ मे २९ दिल्लीमा भएको हो । उनका एक दाइ (रोशन) छन् । देवको पुर्ख्यौली घर अर्घाखाँचीको धनचौर हो । अहिले बुटवलमा बस्छन् । देव सानोमा जन्मथलो गएका थिए । देवलाई धनचौर धेरै मनपर्ने ठाउँमा पर्छ ।

बुबा रामप्रसाद १५ वर्षको हुँदा नै घरबाट भागेर दिल्ली गएका थिए । आफ्नो दाइले मन परेको घडी नदिएको रिसको झोकमा आफै किन्छु भनेर बुवा १५ वर्षकै उमेरमा घर छाडेर भारत पसेको देव बताउँछन् । त्यसैले देवको जन्म, वाल्यकाल र क्रिकेट दिल्लीमै खेलेर हुर्के बढ्यो । भारतको क्रिकेट माहोलमा हुर्केको हुँदा देवको प्रदर्शन र शैली भिन्न पाइन्छ ।

सानोमा दाजुभाई पार्कमा गएर क्रिकेट खेल्थे । दाइ समय बिताउन भाइसँग क्रिकेट खेल्थे । पार्कमा देवको खेल देखेपछि धेरैले राम्रो भएको भन्दै एकेडेमी भर्ना हुन सुझाव दिए । तर देव निकै सानो थिए । ती कुराहरुमा खासै वास्ता गर्ने थिएनन् ।

सन् २०११ को एकदिवसिय विश्वकपले भने देवलाई धेरै प्रभावित पार्यो । फाइनलमा भारतीय कप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङ र युवराज सिंहको उत्कृष्ट प्रदर्शन देखेपछि देव क्रिकेटमा लाग्न झन बढी प्रेरित भए । दाजुभाइसँगै खेलि रहँदा रोशनले भाइमा धेरै प्रतिभा देखे । भाइ राम्रो क्रिकेटर बन्न सक्ने खुबी देखे । बुबालाई एकेडेमी भर्ना गर्न आग्रह गरे । त्यसपछि दिल्लीको आरपी क्रिकेट एकेडेमीमा भर्ना गरियो ।

दाइ, बुवा र मम्मीको साथ धेरै पाए । क्रिकेटको केहि सामान्य सामान किन्न ८–१० हजार भारु पर्दथ्यो । त्यो समय गाह्रो हुन्थ्यो । बुवाले देवको माग नकार्न सकेनन् । कमजोर अवस्थाका बाबजुद छोरालाई कुनै कुराको कमी देखाएनन् । उनका बुबा आर्किटेक्ट कम्पनीको सुपरभाइजर पदबाट सेवा निवृत्त भइसकेका छन् ।

ऋषभ पन्त, पुनित विष्ट लगायत चर्चित खेलाडी देव प्रशिक्षण लिने एकेडेमीमा अभ्यास गर्न आउथें । उनीहरु सिनियर खेलाडी हुँदा सँगै अभ्यास गर्न भने पाउने थिएनन् । तर उनीहरुले अभ्यास गरेको देख्थे । सानै देखि ठूला खेलाडी हेर्दै अघि बढे । ति खेलाडीको एटिच्युड देखे । दिल्लीमा उनले चार झण्डै चार वर्ष एकेडेमी खेले । त्यो समयमा बाबा मम्मीसँग नेपाल आउने जाने गर्थे ।

२०१६-२०१७ तिर वुटवलको जयकोटीमा घर बनाएपछि परिवारनै पूर्णरुपमा दिल्ली छाडे । भारतमा हुँदा नेपालमा यति धेरै राम्रो क्रिकेट हुन्छ भन्ने उनलाई थाहा थिएन । खेल्दै अघि गए । नेपालमा यति धेरै प्रतिभा भएपनि संरचना र व्यवस्थापनको मात्र कमी देखे । खेलाडीहरु उच्च स्तरमा प्रतिस्पर्धा गर्न तयार छन् जस्तो उनलाई लाग्छ । रुपन्देही सुपर लिग देवले वेस्टर्न क्रिकेट एकेडेमीबाट खेलेका थिए । नेपालमा यहि प्रतियोगिताबाट सुरुवात गरेका थिए । त्यसपछि जिल्ला, पदेश हुँदै पिएमकप टोलीमा परेका थिए ।

पिएमकपमा देवले पुलिसँग डेब्यू मात्र गरेनन्, नेपाली सिनियर खेलाडीले भरिभराउ पुलिसविरुद्ध उत्कृष्ट प्रभाव छाड्न सफल भए । प्रभावशाली डेब्यू गरेका देव स्पिनर पवन सरार्फको बलमा एज लागेर कुशल भुर्तेलबाट ७१ बलमा ७ चौका सहित ४९ रनमा क्याच भए । उक्त प्रदर्शनले मनोबल झनै बढायो । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ सँग उनलाई खेलाएको थिएन । पहिलो खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका देवलाई लुम्बिनीले त्यसपछि ओपनिङमा ल्यायो ।

बागमतीविरुद्ध मुलपानीमा २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ५० ओभरमा २ सय २० रनमा अल आउट भएपछि अंक बाँडेको थियो । लुम्बिनीलाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा देवले १६ बलमा ५ चौकासहित २६ रनमा बोल्ड आउट भए । बागमतीविरुद्ध सुरुवातमै रामनरेश गिरीलाई प्रहार गरेको कभर ड्राइभ निकै आर्कषित थियो । जुन प्रकारको सट विश्व स्तरिय ब्याटरबाट देख्न पाइन्छ ।

२०१७ र २०१८ मा क्यान निलम्बनमा थियो । त्यसैले यू–१९ टोली निर्माण गर्न ट्यालेन्ट हन्ट आयोजना हुन्थ्यो । देव पनि स्टार क्रिकेट एकेडेमीबाट ट्यालेन्ट हन्टबाट छानिएका प्रतिभा थिए । उनी २०१८ को अन्तिम तिर यू–१९ एसिया कपको लागि बन्द प्रशिक्षणमा परे । तर अन्तिम टोलीमा अटाएनन् ।

असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा देव चितवन टाइगर्समा आवद्ध थिए । देवले अफगानिस्तानका मोहम्मद शाहजाद, जिम्बावेका कप्तान सिकन्दर राजा लगायतका विश्वचर्चित खेलाडीसँग भेट्न पाए । इपिएलको पेभेलिएन, मैदान भित्र र बाहिर धेरै कुरा सिके । भैरहवा ग्ल्याडियटर्सविरुद्ध उनले डेब्यू गर्दै ७ बलमा १ चौकासहित ५ रनमा स्टम्पिङ आउट भए ।

कभर ड्राइभ र स्ट्रेट ड्राइभ देवलाई सानै देखि मनपर्ने सट हुन् । घरमा होस् वा पार्क । उनी सानैदेखि जहाँ खेल्दा पनि कभर ड्राइभ बढी प्रहार गर्थे । पछि कभर ड्राइभ नै उनको पहिचान र शक्ति बन्यो । आफ्नो रेन्जको बलमा कभर ड्राइभ प्रहार गर्दा प्रतिफल आएपछि झनै मनोबल बढ्छ ।

भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली आर्दश खेलाडी हुन् । पारस खड्का र शरद भेषावकर नेपालका मनपर्ने खेलाडी हुन् । यू–१९ हुँदै नेपालबाट खेल्ने देवको सोचछ । लुम्बिनी प्रदेशलाई जिताए जसरी नेपाललाई जिताउन चाहन्छन् ।

उनलाई यहाँ सम्म ल्यानउमा उनको दाइ रोशनको सबैभन्दा ठूलो हात छ । देवलाई यो स्थानमा ल्याउन लुम्बिनी प्रदेशका वसन्त शाही ठकुरीको ठूलो हात छ । देव नेपाल आएदेखिनै वसन्तको प्रशिक्षणमा हुर्किर्दै आएका छन् । वसन्तका अनुसार देवको ब्याटिङ शैली अन्तर्राष्ट्रिय स्तरको छ । लुम्बिनी प्रदेशका आक्रामक ब्याटर सौरभ खनालले सधैं सहयोग गरेका हुन्छन् । राम्रो खेलाडी बन्नमा सौरभको ठूलो हात रहेको देव बताउँछन् । देवले राम्रो प्रर्दशन गर्दा होस् वा नगर्दासँगै भए आएर सम्झाउछन् । नभए सौरभले फोनमै सल्लाह, सुझाव र हौसला प्रदान गर्छन् । अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङले पनि राम्रा साथ र सहयोग दिएका छन् ।

देवको शरीरको उचाई ६ फिट १ इन्च छ । ओपनिङ नेपाली क्रिकेट टोलीको सबैभन्दा ठूलो समस्या हो । पछिल्लो ६–७ वर्षमा नेपालले सबैभन्दा बढी परिवर्तन गरेको ओपनरनै हो । तर खोजे जस्तो कहिल्यै पाउन सकेन । पाएकोलाई पनि सदुपयोग गर्न सकेन ।

अर्कोतर्फ ओडिआई मान्यता प्राप्त नेपालको अवको सोच २०२३ पछि निरन्तरता दिनेछ । ओडिआईमा देव वर्तमान समयमा ओपनरका उत्कृष्ट विकल्पको रुपमा उभिएका छन् । उनको स्तर, जिम्मेवारी बोध, आत्माविश्वास र प्रदर्शनले निरन्तरता पाउने हो भने सिनियर टोलीमा स्थान टाढा देखिंदैन ।

टि२० क्रिकेटमा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । देव अव दुई सातापछि यू१९ एसिया कप खेल्नेछन् । देव त्यहाँ उत्कृष्ट प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खुल्न चाहन्छन् । यू–१९ एसिया कपपछि नेपालमा प्रधानमन्त्री कप हुनेछ । प्रधानमन्त्री कपमा पनि राम्रो प्रदर्शन गर्न सके सिनियर टोली झन सहज हुनेछ ।

देवको अहिलको क्षमतालाई सहि तरिकाले सदुपयोग गर्न सके नेपाली ओडिआई क्रिकेटका लागि लामो समय योगदान दिन सक्ने ब्याटर बन्न सक्छन् । त्यतिमात्र होईन देवमा एक कुशल नेतृत्वको खुबी पनि देखिन्छ । सिनियर टोलीका लागि देवको अहिलेको प्रदर्शन मात्र पर्याप्त भने छैन । पाएको हरेक अवसरलाई राम्रोसँग सदुपयोग गर्न आवश्यक देखिन्छ । त्यो भन्दा बढी नेपाली क्रिकेटले उनलाई सदुपयोग गर्न आवश्यक देखिन्छ ।

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

April 27, 2024

कप्तान रोहितको शतकमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ । वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा […]

Success

Thank you for your time.