3 years ago
April 12, 2022
भुपेन्द्र जिसी, काठमाडौं
नेपालले गत सोमबार त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जित्यो । पपुवा न्युगिनीसँग घरेलु मैदानमा दुई ओडिआई खेलको सिरिजमा क्लिनस्विप बेहोरेपनि टि२० आई त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शनका साथ अपराजित रहँदै च्याम्पियन बन्यो ।
ओडिआईमा र टि२० आई दुवै सिरिजमा नेपालको ब्याटिङमा सुधारेको प्रदर्शन गर्यो । नेपालले ओडिआई इतिहासकै उत्कृष्ट योगफल प्रहार गर्यो भने व्यक्तिगत प्रदर्शन अन्तर्गत ओडिआई र टि२० आईमा कीर्तिमानी शतक प्रहार भए । पछिल्ला दुई विदेश भ्रमणमा खराब ब्याटिङले चर्को आलोचना खेपेको नेपालले घरेलु मैदानमा भने त्यसलाई बुझो लगाउने काम गर्यो ।
सुरुवाती दुवै ओडिआई खेलमा नेपालबाट एक एक शतक बने । पहिलो खेलमा जितका लागि २ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । रोहित पौडेलले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको कीर्तिमानी शतक प्रहार गरे । जुन नेपालको इतिहासकै अन्तर्राष्ट्रिय ठूलो स्कोर थियो ।
नेपालले ओडिआईमा बनाएको सर्वाधिक ठूलो योगफल पनि थियो । दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । दीपेन्द्रसिंह ऐरीले १ सय ४० बलमा ७ चौकासहित १ सय ५ रनको शतकीय र देव खनालले ७२ रन जोडेका थिए ।
२ ओडिआई खेलमा नेपालले एक सय ओभर पुरै ब्याटिङ गर्दै कुल ५ सय ६४ रन बनायो । जसक्रममा आफ्नो ओडिआई इतिहासको सर्वाधिक ठूलो योगफल र शतक प्रहार गर्यो । टि२० क्रिकेटमा नेपालले ब्याटिङलाई निरन्तरता दियो । नेपालले अपराजित रहँदै उपाधि जित्यो । नेपालले पाँच मध्य दुई पटक २ सय माथिको योगलमा रन बनायो । नेपालले ९३.४ ओभरमा कुल ८ सय ९४ रन बनायो ।
मलेसियासँग लिगको अन्तिम खेलमा दीपेन्द्रले १ सय १० रनको कीर्तिमानी शतक प्रहार गरे । समग्रमा नेपालले टि२० आईमा १ शतक र ४ अर्धशतक प्रहार गर्यो । ओडिआई २ शतक र १ अर्धशतक बने ।
पछिल्ला दुई विदेश भ्रमणमा नेपालको ब्याटिङ राम्रो हुन सकेन । आइसिसी टि२० विश्वकप एसिया छनोट, चार देश सम्मिलित टि२० आई सिरिज र आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी र युएईसँग नेपालको ब्याटिङ कमजोर भएको थियो । खराब ब्याटिङले सबैभन्दा ठूलो टि२० विश्वकप अवसर गुमायो ।
विश्वकपमा पुग्न सेमिफाइनलमा युएईले प्रस्तुत गरेको १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ७ रनमै अल आउट भयो । चार देश सम्मिलित टि२० आई सिरिजमा नेपालले टेस्ट टोली आयरल्यान्डलाई हराउने अवसर थियो । १ सय २८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १ सय ११ रनमै रोकियो । कारण खराब र गैर जिम्मेवारी ब्याटिङ थियो ।
अघिल्लो महिना विश्वकप लिग–२ मा युएईले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल ३५.१ ओभरमा १ सय २० रनमै समेटिएको थियो । २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३ रनमै अल आउट भयो । नेपालले ४ महत्वपूर्ण अंक गुमाउनु पर्यो ।
विश्वकप छनोट अघि धेरैले नेपाली ब्याटिङ सुधार भएको आँकलन गरे ।
प्रशिक्षक पुबुदु दासानायकेले नै नेपालको ब्याटिङ मुख्य हतियार बताए । त्यसको मुख्य कारण प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता र अभ्यासमा बनेको आक्रामक ब्याटिङ थियो । तर विश्वकप ओमान भ्रमणमा ब्याटिङ कमजोर मात्र भएन विश्वकप खेल्ने अवसर पनि समाप्त भयो । गतवर्ष टियुमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले अन्तिम ३ खेलमा २ सय माथिको योगफल बनाएको थियो ।
सिनियर होस् वा उमेर समूह । पछिल्लो दुई वर्षमा टियुको पिचमा रन मज्जाले बनेको छ । टियुको पिच (विकेट) नै ब्याटिङ सहयोगी छ । त्यसैको कारण बलिङ कमजोर सावित बन्नपुग्छ । त्यसैले विश्वकप छनोट अघि धेरैले नेपाली बलिङ कमजोर आकलन गरेका थिए । तर विदेशी भूमिमा बलरले त्यसलाई गलत सावित गरे ।
‘पिच एकदमै राम्रो छ । ब्याटिङको लागि एकदमै राम्रो छ । बलरहरुलाई यो विकेटमा एकदमै गाह्रो छ । आउने दिनमा पनि विकेट राम्रो भयो भने एकदमै राम्रो हुनेछ’, कप्तान सन्दीप लामिछानेले भने ।’
त्यसैमा उनले थपे, ‘ब्याटिङ गर्न विकेट एकदम राम्रो छ । गतवर्ष हामीले खेलेको त्रिकोणात्मक सिरिज भन्दा पनि एकदमै ब्याटिङ विकेट छ ।’
‘हाम्रो पनि पछिल्लो समयमा ब्याटिङ तलमाथि भएको थियो । तर नेपाल आएपछि सुधार भएको छ । जुन तरिकाको विकेट छ । त्यसैले रन सजिलै बनेको छ । यसको श्रेय विकेटलाई नै जान्छ’, सन्दीपले भने ।
साच्चै ब्याटिङ सुधार भएको हो वा विकेट राम्रो हुँदा त्यस्तो देखिएको हो भन्ने प्रश्नमा सन्दीप दुवै पक्ष सहि भएको बताउँछन् ।
अर्कोतर्फ नेपालले आफू भन्दा बलिया टोलीसँग खेलेको छैन । मलेसिया नेपाल भन्दा तल्लोस्तरको टोली हो । पपुवा न्युगिनी एकै स्तरको भएपनि तुलनात्मक रुपमा कमजोर नै मानिन्छ । त्यसले पनि थप सहज भएको हो । टियुको पिचमा रन बन्नुमा खासै आश्चर्यमा मान्नु पर्दैन । टियुको पिचमा लगातार उत्कृष्ट प्रदर्शन हुँदै आएको छ । गतवर्ष त्रिकोणात्मक सिरिजमा यो भन्दा उत्कृष्ट ब्याटिङ गरेको थियो । तर टियु बाहेक अन्य विकेटमा भने त्यो प्रदर्शन देखिएन ।
अहिले ब्याटिङ सुधारको संकेत दिन्छ । खेलाडीको आत्माविश्वास भने ठूलो प्रभाव पार्नेछ । टियुको पिचनै ब्याटिङ सहयोगी हुँदा रन मज्जाले बनेको हो । ब्याटिङ सुधार हो वा होईन विदेशी भूमिका बलिया टोलीसँग नखेली भन्नु अलि हतार नै हुन्छ ।
सिनियर मात्र होईन उमेर समूहका खेलाडीले पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत पुषमा यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको २ सय ९२ रनको लक्ष्य ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।
माघमा भएको प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा आर्मीले एपिएफविरुद्ध २ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । गत त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । जुन नेपालले टि२० आईमा बनाएको सर्वाधिक रन थियो ।
रोहित र दीपेन्द्रको प्रदर्शन नेपालको सबैभन्दा सकरात्मक पक्ष रह्यो । रोहितले ओडिआईबाट टि२० आईमा आफूलाई रुपान्तरण गरे । पछिल्लो समय ओडिआईमा सानदार प्रदर्शन गर्दै आएका रोहितले टि२० मा पनि निरन्तरता दिए । पछिल्ला केहि खेलमा रन बनाउन संघर्ष गरेका दीपेन्द्रले खुलेर खेले । एक हप्ताको अन्तरमा उनले ओडिआई र टि२० आईमा शतक प्रहार गरे । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गरे ।
ओपनरले यस पटक भने ठूलो साझेदारी गर्न सकेनन् । सुरुवात राम्रो गरेपनि त्यसलाई ठूलो इनिङमा बदल्न सकेनन् । गतवर्ष त्रिकोणात्मक सिरिजमा भने यी दुई ओपनरले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले ओडिआईमा तेस्रो नम्बरमा देव खनाललाई अवसर दिएको थियो । देव पहिलो खेलमा असफल भएपनि दोस्रो खेलमा उनले ७२ रन जोड्दै राम्रो संकेत दिए ।
टि२० आईमा आदिल अन्सारीले फिनिसरमा छाडेको छाप नेपाली क्रिकेटको सकारात्मक पक्ष रह्यो । यस पटक टोली पुरै युवा खेलाडीले भरिएको थियो । नयाँ कप्तान र युवा टोलीले देखाएको सम्भावना आशालाग्दो छ । यो टोलीलाई धैर्यता र राम्रो अवसर दिने हो भने आगमी दिनमा उत्कृष्ट नतिजा आउनेछ । युवा खेलाडीमा अनुभवको कमी हुँदा अपेक्षा अनुसार नतिजा आउन केहि समय लाग्छ । टिम निर्माणकै समयमा छ ।
विश्वकप छनोट प्रतियोगितामा पहिलो रोजाईमा खेलेका अलराउन्डर विवेक यादव र सागर ढकालले कुनै खेलमा मौका नपाउनु भने नेतृत्व र व्यवस्थापनमा प्रश्न उठ्छ । विवेक र सागर लगायतका युवा खेलाडीलाई मौका दिँदै तयार पार्ने समय नै यहि हो । विश्वकप छनोटको टोलीमा परेर मैदान उत्रिएका यी दुईले घरेलु सिरिजमा भने अवसर नै पाएनन् ।
सिरिजका खेल हार्दा पनि खासै फरक पर्दैन । नेपालले ओडिआई र टि२० आईमा फरक टोली घोषणा गरेको थियो । दुवै टोलीमा सुरुमा ७–७ खेलाडी मात्र थिए । पछि रोहितलाई टि२० मा थपेको थियो । फर्म्याट (ढाँचा) अनुसार फरक टोली निर्माणको प्रयास अर्को राम्रो संकेत हो ।
यो प्रदर्शन र नतिजाले मनोबल उच्च हुनेछ । क्रिकेटमा मनोबल र मोमेन्टले ठूलो प्रभाव पार्छ । नेपालले यसलाई निरन्तरता दिन सक्नुपर्छ । टोली युवा हुँदा खराब नतिजामा त्यतिनै धैर्यता राख्न सक्नुपर्छ ।
खेलाडीले लय, जिम्मेवारी र एकताका कायम राख्न सके नतिजा आगमी दिनमा ठूलो फड्को मार्नसक्छ । अहिलको प्रदर्शनले भने राम्रो संकेत देखाएको छ । यसलाई नेपालले ठूला टोली र विदेशी निरन्तरता दिन सक्नुपर्छ ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]