काठमाडौं (हाम्रो खेलकुद) – कप्तान टोनी मुनयोङ्गा र तडिवानाशे मरुमानीको अर्धशतकमा जिम्बावे ए घरेलु टोली नेपालमाथि पहिलो टि२० अभ्यास खेलमा ६ विकेटको सानदार जित हात पारेको छ ।

जितका लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेका ओपनर तडिवानाशे मरुमानी ४१ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रन बनाए । कप्तान टोनी मुनयोङ्गा २३ बलमा ७ छक्कासहित ५० रनमा आउट भए ।
जिम्बावेलाई ओपनर इन्सेन्ट कैयाले ३० बलमा ९ चौका सहित ४७ रन जोड्दै राम्रो सुरुवात दिलाए । पहिलो विकेटका लागि मरुमानी र कैयाले ८.४ ओभरमा ७३ रनको साझेदारी गर्दै सहज जिततर्फ अघि बढेका थिए । सन्दीपले कैयालाई एलबीडब्लू आउट गर्दै पहिलो विकेट लिए ।

त्यसपछि मरुमानी र टोनीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेपछि नेपालको जितको सम्भावना टाढिएको थियो । टोनीलाई स्पिनर बसिर अहमदले कट एण्ड बोल्ड आउट गरे । नेपालका बसिर अहमदले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । नेपालका आदिल अन्सारी २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रनमा आउट भए । तीव्र गतिका बलर ल्युक जोंगवेले पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखलाई ९ रनमा क्याच गराए । आसिफ तेस्रो बलमा टप एज लागेर विकेटकिपर क्यालेव मडान्डेबाट क्याच भए । १६ बल खेलेका आसिफले १ चौका प्रहार गरे ।
दोस्रो विकेटका लागि कुशल र रोहितले ५७ रनको साझेदारी गरेका थिए । कुशल ब्रेन्डन मभुताको ११ औं ओभरको दोस्रो बलमा दीलस्कुप सट खेल्ने धुनमा फाइन लेगमा जोंगवेबाट क्याच भएपछि अर्धशतक बनाउन चार रनले चुकेका थिए । रोहित स्पिनर जोन मसाराको १४ औं ओभरको पाँचौं बलमा लङअनमा ३६ रनमा मभुताबाट सहज क्याच भए ।

रोहितले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र १३ बलमा १ चौका र २ छक्कासहित २८ रनमा रन आउट भए । आरिफ शेख २ र करण केसीले ४ रन बनाए । जिम्बावेका जोन मसारा, ब्रेन्डन मभुता, ल्यूक जोंगवे र ब्राड ईभान्सले १–१ विकेट लिए । तीन टि२० अभ्यास खेलको दोस्रो खेल सोमबार हुनेछ ।