default_image

1 year ago

December 21, 2022

नेपाल टि२० लिग : सुनसान तयारी, सम्पर्कविहीन क्यान!

सुबास हुमागाईं/भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग सुरुहुन मात्रै दुई दिन बाँकी छ । क्यानलाई अहिले नेपाल टि२० लिग प्रतियोगिता आयोजना गर्न मर्नु वा बाच्नु सरह भएको छ । प्रतियोगिता आयोजना गर्न नसकेपछि विभिन्न वहानामा नेपाल टि२० लिग दुई पटक स्थगित भइसकेको छ । क्यान र सेभेन थ्रीको […]

159 views

0 Bookmark

सुबास हुमागाईं/भुपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग सुरुहुन मात्रै दुई दिन बाँकी छ । क्यानलाई अहिले नेपाल टि२० लिग प्रतियोगिता आयोजना गर्न मर्नु वा बाच्नु सरह भएको छ । प्रतियोगिता आयोजना गर्न नसकेपछि विभिन्न वहानामा नेपाल टि२० लिग दुई पटक स्थगित भइसकेको छ । क्यान र सेभेन थ्रीको सुस्तता हेर्दा तेस्रो पटक समयमै हुनेमा ठूलो शंका देखिन्छ ।

प्रतियोगिता सुरु हुनभन्दा दुई दिनअघि चहलपहल हुनुपर्ने थियो । पुरा महोल यतिबेला नेपाल टि२० लिगको हुनुपर्ने हो । नेपालका हरेक शहरमा यतिबेला नेपाल टि२० लिगको चर्चा हुनुपर्ने थियो । शहरकेन्द्रित नाम राख्नुको मुख्य कारण पनि क्रिकेट प्रचार मुख्य कारण हो ।

तत्काल कुनैपनि अन्य घरेलु प्रतियोगिता नहुँदा अझ बढी माहोल नेपाली खेलकुदमा बनाउन सक्नुपर्ने थियो । विदेशी खेलाडीको आगमन समर्थकलाई टियु मैदान आर्कषित गर्नुपर्ने आधार बनाउनु पर्ने हो । तर सबै तयारी सुनसान छ । तयारी छ मात्रै फ्रेन्चाइज टोलीका खेलाडीको हल्काफुल्का प्रशिक्षण ।

नेपाल टि२० लिग सुरु हुन दुई दिन अघिसम्म कुनै चर्चा नहुँदा छिमेकी राष्ट्र भारतमा हुने इन्डियन प्रिमियर लिगको मिनी अक्सनको चर्चा बढी छ । नेपाल टि२० लिगलाई लिएर समर्थकमा खासै कुनै कौतुहलता, जिज्ञाशा र हर्ष देखिदैन । यसले प्रतियोगिता तयारी र प्रचार स्पष्ट पार्छ ।

फ्रेन्चाइज क्रिकेट भनेको नै मनोरञ्जन, व्यापार र लोकप्रियता हो । प्रचारले लोकप्रियता र तयारी भरपर्छ । क्रिकेट बोर्डलाई आर्थिक रुपमा मजबुत पार्ने यो नै सबैभन्दा राम्रो आधार हो । त्यसको लागि ठूला धनराशी भएका प्रायोजक भित्र्याउन सक्नुपर्छ । क्यानले यो सबै छाडेर भारतीय कम्पनी सेभेन थ्रीलाई ८ वर्षका लागि ३३ करोडमा ठेक्का दिएको छ ।

नाफा घाटा जे भएपनि क्यानले वार्षिक ४ करोड पाउने घोषणा भएको थियो । तर क्यानले पैसा पाउनु त परको कुरा, लिगको तयारी कछुवा गति भन्दा माथि उठ्न सकेको छैन । क्यान र कर्मसियल पार्टनर सेभेन थ्री स्पोर्ट्सले हालसम्म खेल तालिका सार्वजनिक मात्रै गरेका छन् । प्रतियोगिता समयमै हुने वा नहुने, विजेता र उपविजेता टोलीले पाउने पुरस्कार, व्यक्तिगत अवार्ड, आन्तरिक आयोजना तयारी, ब्रोडकास्ट राइट्स र विभिन्न प्रायोजक लगायत कुनैपनि कुरा सार्वजनिक गरेको छैन ।

प्रतियोगिता ६ फ्रेन्चाइज टोलीबीच शुक्रबार देखि टियु क्रिकेट मैदानमा डबल राउन्ड रोविनको आधारमा हुनेछ । तर आयोजक मस्त निद्रामा देखिन्छन् । लुम्बिनी अल स्टार्ससहित केहि फ्रेन्चाइज टोलीले सक्रियता देखाएका छन् । अन्तिम समयमा कान्तिपुर मिडिया ग्रुपले काठमाडौं गुर्खाजको नाम फिर्ता लिएपछि काठमाडौं नाइट्स भन्ने टोलीको नाम राखिएको छ । तर हालसम्म यो टोलीले सार्वजनिक रुपमा कुनै कार्यक्रम गरेको छैन । फार वेस्टर्न युनाइटेडले पनि हालसम्म कुनै कार्यक्रम गरेको छैन ।

नेपाल टि२० लिगमा नेपाली लगानीको कम्पनी पोखरा एभेन्जर्स मात्रै छ । अरु सबै विदेशी मालिक भएका टोली हुन् । तर नेपालमा लिग खेल्ने भएपछि स्थानीय रुपमा दर्ता गरेर कागजी प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । खेलाडीको श्रम स्वीकृति लगायत विषयमा तदारुकता देखाउनु पर्नेमा हालसम्म कुनै पक्षमा यसबारे प्रष्ट जानकारी आएको छैन । टोलीहरु क्यानलाई देखाउँछन् भने क्यान आफैं सम्पर्कविहिन छ ।

प्रतियोगिता सुरु हुनु अघिल्लो दिनसम्म क्यानको खातामा ४ करोड पाइसकेको हुनुपर्ने सम्झौतामा उल्लेखित थियो । हालसम्म झन्डै एक करोड मात्रै आएको बुझिएको छ । खेलाडीले खेल्नुअघि एक चौथाईभन्दा माथि तलब पाउनुपर्ने हुन्छ । तर खेल सुरु हुनुभन्दा एक दिन अघिसम्म खेलाडीले त्यो पाएका छैनन् । खेलाडी आफैं खेल हुने वा नहुनेमा अन्यौलमा देखिन्छन् । सायद यस्तै अपार्दशिता र भद्रगोलबाट वाक्कदिक्क भएर कान्तिपुरको टोली अघिल्लो महिना प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसो त कान्तिपुर स्रोतका अनुसार टोलीले तयारीमा ३० लाख भन्दा बढी रकम खर्चिसकेको थियो ।

यसअघि नेपालमा तीन फ्रेन्चाइज लिग सम्पन्न भएका थिए । यी तीनै फ्रेन्चाइज टोलीले एक महिना देखिनै चहलपहल अर्कै हुन्थ्यो । हरेक कार्यक्रमको मिडिया सामु जानकारी दिँदै समर्थकमा कौतहलता बढाउथे । एभरेष्ट प्रिमियर लिग (इपिएल) को प्रचार शैली अझ उदाहरणीय थियो । प्रतियोगिता सुरु हुनुअघि नै आफूमात्र होइन, हरेक टोलीलाई समर्थकमाझ पुग्न र मिडियामा आफ्नो सक्रियता प्रस्तुत गर्न प्रोत्सहान गर्थ्यो । नेपाल टि२० लिगमा प्रचारको त कुरै छाडौं फ्रेन्चाइज टोलीले एक हप्ता पनि तयारी गरेका छैनन् ।

नेपाल टि२० लिग क्यानले अहिलेसम्मकै भव्य खेलकुद प्रतियोगिता बनाउने बताएको थियो । तर तयारी र प्रचार भने सामान्य घरेलु प्रतियोगिता भन्दा पनि कम छ । कुनैपनि प्रतियोगिता सुरु हुनु दुई दिनअघि सम्म आयोजक चुपचाप बस्नुले क्यान नेतृत्वमा ठूलो प्रश्न उठ्छ । त्यसैपनि क्यान नेतृत्व र केहि कर्माचारीको नेपाल टि२० सँग आबद्धतालाई लिएर सुरुवातदेखि लगातार प्रश्न उठ्दै आएको छ ।

क्यान नहुँदाको अवस्थामा यसअघि सबै आयोजक र फ्रेन्चाइज टोली स्वदेशी हुँदा प्रतियोगिता भव्यतापूर्वक सम्पन्न हुँदै आएको थियो । क्यानले सकभर सबै फ्रेन्चाइज टोली स्वदेशी कम्पनीबाट खोज्नु पर्ने थियो । सेभेन थ्रिलाई सिधैं अधिकार बेच्नु भन्दापनि सरकारको नियम अनुसार खुल्ला प्रतिस्पर्धामा जानु पर्ने थियो । खुल्ला प्रतिस्पर्धा र पारदर्शीता नभएको भन्दै इपिएलका संस्थापक आमिर अख्तरले सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दा ६ महिना भन्दा बढी बितिसक्दा पनि अनिर्णित छ ।

नेपालमा तीन फ्रेन्चाइज लिग कसरी भएका थिए क्यानका कर्माचारी र पदाधिकारीले राम्रोसँग देखिसकेका थिए । फ्रेन्चाइज क्रिकेटमा प्रचार प्रसार बढी हुनुपर्छ । जसबाट मात्रै विज्ञापन उठाउन सजिलो हुन्छ । नेपाल टि२० लिगले गत भदौंमा अष्ट्रेलिया तीव्र गतिका बलर ब्रेट ली सुटुक्क नेपाल ल्याएको थियो । राम्रो योजना बनाउन सकेको भए ब्रेट ली को प्रचारले नै प्रतियोगिताको स्तरले बजारमा फड्को मार्न सक्थ्यो ।

इपिएल संस्थापक आमिर अख्तरले शाहिद अफ्रिदी आउँदा होस् वा वेस्टइन्डिजका क्रिस गेल र दक्षिण अफ्रिका विष्फोटक ब्याटर एवि डिभिलियर्स आउने भन्ने प्रचारमै मात्र किन नहोस । हरेक विदेशी खेलाडी फ्रेन्चाइज टोलीले इपिएलमा एक एक गरि सार्वजनिक गरेका थिए । अहिले त एकै पटक फ्रेन्चाइज टोलीको फेसबुकबाट मात्रै गर्दै आएका छन् । ती फेसबुक पेज पनि सिमित घेराबाट बाहिर जान सकेको छैन ।

पछिल्लो समय लगातार खराब प्रदर्शनले नेपाली क्रिकेटको लोकप्रियतामा ओरालो लाग्दै गएको छ । समर्थक मात्रै होईन खेलाडीमा पनि त्यो निराशा देखिन्छ । यो अवस्थामा नेपाल टि२० लिग आशामा बदल्ने आधार बन्न सक्थ्यो । केहि एक दुई खेलाडी यस्तो लिनुपर्ने थियो । जसको आगमनले पुरै प्रतियोगितानै अर्को चरणमा पुग्न सकोस् । तर त्यो खुबी क्यानमा कसैमा देखिएन ।

नेपाल टि२० लिगलाई लिएर थुप्रै प्रश्न र जिज्ञासाहरु छन् । तर जवाफ दिने नेपाल टि२० लिग गर्भनिङ काउन्सिल, क्यान र सेभेन थ्री अहिले सम्पर्क विहीन छन् । गभर्निङ काउन्सिलका सदस्य तथा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल दुई दिनयता सम्पर्कमा छैनन् । अध्यक्ष चतुरबहादुर चन्द पनि मोबाइल अफ गरेर बसेका छन् । क्यानका केही केन्द्रिय सदस्यलाई लिगबारे जानकारी नै छैन, थाहा हुने पनि केहि बोल्न नसक्ने अवस्थामा छन् ।

यसअघि हरेक फ्रेन्चाइज प्रतियोगितामा सहभागी टोलीले आफ्नो सहर वा क्षेत्रबाट ट्यालेन्ट हन्टमार्फत खेलाडी राख्नु पर्ने प्रावधान थियो । त्यसबाट केहि युवा प्रतिभा बाहिर आए । कति प्रतिभाले त त्यसमार्फत नै राष्ट्रिय टोलीको यात्रा पनि तय गरे । हाल राष्ट्रिय टोलीका कप्तान रहेका रोहिकुमार पौडेल पनि इपिएलको भैरहवा ग्ल्याडीयटर्सबाट नै घरेलु क्रिकेटमा प्रवेश गरेका थिए ।

क्यानले कम्तिमा यू१६, यू१९ वा ट्यालेन्ट हन्टबाट दुई खेलाडी अनिवार्य रुपमा फ्रेन्चाइज टोलीलाई राख्नु पर्ने प्रावधान लिउनु पर्ने थियो । यसबाट क्यानले केहि घाटा खानुपर्ने थिएन । जसले नयाँ युवा खेलाडी माथि आउने र सिक्ने राम्रो अवसर पाउँथे । ती खेलाडीलाई थोरै पैसा दिएर पनि राख्न सक्थे । हाल नेपाल टि२० को हरेक टोलीमा ११ नेपाली खेलाडी मात्रै छन् । त्यो संख्या कम्तिमा १४/१५ जना हुनुपर्ने थियो ।

ए ग्रेडका खेलाडीलाई १५ लाख, बी ग्रेडका खेलाडीलाई १० लाख र सी ग्रेडका खेलाडीलाई ५ लाख दिने बताइएको थियो । केहि खेलाडीको लागि पैसा भन्दा पनि प्रदर्शन देखाउने आधार महत्त्वपूर्ण हुन्थ्यो । जसको कारण घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका थुप्रै युवा स्टार नेपाल टि२० लिगमा छैनन् ।

खेल आयोजनाकै चिन्ता

सेभेन थ्री स्पोर्ट्स नेपाली बजारका लागि नयाँ कम्पनि हो । हालसम्म यो संस्थाको क्रिकेट प्रतियोगिता वा अन्य केहि कार्यक्रम गरेको इतिहास छैन । यसैपनि विदेशी कम्पनि र लिगमा जोडिएका केहि फ्रेन्चाइज टोलीको नाम बेटिङ कम्पनिसँग जोडिनुले खेल आयोजनामै चिन्ता व्यक्त गर्ने ठाउँ छ । नेपालको कानुनले बर्जित गरेका कम्पनिसँग नाम जोडिनुलाई पनि क्यानले मालिकको छनोट हुनुअघि सुक्ष्म अध्ययन गर्न जरुरि थियो । यसले नेपाली क्रिकेटलाई अन्धकारतर्फ धकेल्ने डर छ ।

खेलको प्रत्यक्ष प्रसारण यसअघि सोनीबाट अन्तर्राष्ट्रिय स्तरमा हुने भनिएको थियो । तर एकदिन अघिसम्म पनि मैदानमा न कुनै तयारी छ, न कुनै चर्चा । यसैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहने सोनी अहिले बिग ब्यास र टेस्ट सिरिजमा व्यस्त छ ।

क्यानको थप आलोचना

नेपालमा त्यसै पनि क्यानको छवि राम्रो छैन । एकपछि अर्को गलत निर्णयका कारण आलोचनामा पर्दै आएको छ । क्यानले गर्ने काम विरलै आलोचना मुक्त हुने गर्दछन् । अर्कोतर्फ नेपाली क्रिकेट टोलीले लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा पराजय बेहोर्नु कमजोर घरेलु प्रतियोगिता र संरचनाले आम समर्थकमाझ क्यानको छवी धुमिल भएको छ ।

नेपाल टि२० लिगको आयोजना जिम्मेवारी दिने घोषणा गरेदेखिनै क्यान आलोचनामा फस्दै आएको थियो । सेभेन थ्रिसँग सम्झौता गर्दा होस् वा फ्रेन्चाइज टोलीको छनोट, क्यान विवादबाट टाढा रहन सकेको छैन । खेल सुरु हुन तोकिएको २ दिन बाँकी रहँदा पनि लिग हुन निकै कठिन अवस्था छ ।

यसअघि निजी कम्पनिले आयोजना गरेका तीन फ्रेन्चाइज लिग भन्दा नेपाल टि२० लिग अझ कमजोर हुने देखिन्छ । केहि फ्रेन्चाइज टोलीका विदेशी खेलाडी नेपाल आइसकेका छन् । कतिपय खेलाडी प्रतियोगिताको वर्तमान अवस्थाबारे अनभिज्ञ छन् । अब पनि प्रतियोगिता स्थगित भयो भने अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको खराब संदेश जान्छ ।

श्रम स्वीकृतिमै प्रश्न

नेपालमा आएर खेल्न विदेशी खेलाडीलाई श्रम स्वीकृति चाहिन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) हुँदै फाइल गृह मन्त्रालयमा पुगेपनि त्यहाँ रोकिएको बुझिएको छ । फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा पाँच देखि सात सम्म विदेशी खेलाडी राखेका छन् । तर प्लेइङ–११ मा कति विदेशी खेलाडी खेलाउने लगायत प्राविधिक पक्षबारे कुनै जानकारी छैन ।

कप्तान नियुक्तिमै शंका

हालसम्म दुई टोलीले आफ्नो टोलीको कप्तान घोषणा गरेकोमा दुवै नियुक्तिमा शंका गर्ने ठाउँ छ । जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडी हुँदाहुँदै विदेशी खेलाडीलाई कप्तान घोषणा गरेका छन् । यतिमात्र होइन, विदेशी खेलाडीमा पनि उत्तम विकल्प हुँदाहुँदै नाम नचलेका खेलाडी कप्तान चुनिएका छन् । सामान्य अवस्थामा नेपाल टि२० को अक्सनमै छनोट नहुने खेलाडीले कप्तानको जिम्मेवारी पाएका छन् ।

विराटनरले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर वेस्टइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ । जनकपुरले सोमपाल कामी र विदेशी केज्रिक विलियम्स र चाडविक वाल्टनजस्ता स्टारलाई छाडेर वेस्टइन्डिजकै ट्रेभोन ग्रिफिथलाई कप्तानी दिएको छ । नेपालमा पछिल्लो पटक भएको फ्रेन्चाइज प्रतियोगितामा एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितनवन टाइगर्सले सोमपालकै कप्तानीमा उपाधि जितेको थियो । २०१७ मा धनगढी प्रिमियर लिगमा धनगढी टिम चौराहले उपाधि जितेको थियो । यी दुई निर्णयले पनि धेरै शंका गर्ने ठाउँहरु रहन्छन् ।

नेपालका शीर्ष अम्पायर नै अनभिज्ञ

स्रोतका अनुसार नेपाली अम्पायरलाई हालसम्म नेपाल टि२० लिगले सम्पर्क गरेको छैन । नेपालमा नै आइसीसी मान्यता प्राप्त अम्पायर हुँदा विदेशबाट अम्पायर ल्याउनेबारे सोच्न पनि सकिदैन । नेपाली अम्पायर नै आइसीसीको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइरहँदा क्यानले हालसम्म केहि जानकारी नदिनु आश्चर्यजनक छ । विदेशी अम्पायर नै ल्याउने भएपनि हालसम्म कुनै जानकारी दिइएको छैन । सामान्यतया टिम म्यानेजर, कप्तान, म्याच रेफ्री र अम्पायरबीच प्रतियोगिता एक दुई दिन अगाडिनै प्लेइङ कन्डिसनको बैठक बस्नु पर्ने हुन्छ ।

टिम मालिकबारे नै प्रश्न

स्रोतका अनुसार लुम्बिनी अल स्टार्स बाहेक अन्य फ्रेन्चाइज टोलीको मालिक स्पष्ट रुपमा नखुलेको बुझिएको छ । कान्तिपुरले यसबारे आयोजकलाई स्पष्टीकरण माग गर्दा नै दुई पक्षबीच समस्या उब्जिएपछि नाम फिर्ता लिएको चर्चा क्रिकेट वृत्तमा छ । अझ दुई टोली जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सको स्वामित्व एकै कम्पनिमा रहेको चर्चा पनि छ ।

विराटनगरका टिम म्यानेजर तथा सह-मालिक राहुल शर्माले यसलाई क्रिकेट विकासको लागि कदम रहेको बताएका थिए । जबकी कुनैपनि खेलकुदको अधिकारिक प्रतियोगितामा एकै जनाले दुई टोलीमा कुनै पनि भूमिकामा रहन पाइन्न । एकै जना दुई टोलीको मालिक बन्ने त प्रतियोगितामै प्रश्न उठाउने कदम हो ।

यी सबै अन्यौल विषयमा बुझ्न नेपाल टि२० लिग गर्भनिङ काउन्सिलका अध्यक्ष तथा क्यानका सविच प्रशान्तविक्रम मल्ल र क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पछिल्लो दुई दिनदेखि हाम्रो खेलकुदले लगातार सम्पर्क गरेपनि क्यानका पदाधिकारी सम्पर्कमा आउन सकेनन् ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.