दुबई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग अन्तिम तथा तेस्रो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ देखि ओभल मैदान ग्राउन्डमा सुरु हुने छ ।

दवावको खेलमा नेपाललाई दोहोरो इतिहास रच्ने अवसर पनि छ । आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्नसके पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्ने छ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ४ विकेटले विजयी हुँदै सिरीज १ – १ को बराबरीमा ल्याएको छ ।
यसअघि २–१ ले ओडीआई सिरीज गुमाएको यूएई पनि नेपालको कमजोर ब्याटिङको फाइदा उठाउँदै टि-२० सिरिज घरेलु भुमिमै राख्न चाहन्छ । शाइमन अनवर र सि.पि रिजवानको ब्याटिङ तथा मोहम्मद नाविद,आमिर हायतलगायत सिरीजमा उत्कृष्ट प्रर्दशन गरि रहेका खेलाडी र यूएईका मुख्य हतियार हुन् ।
यता उत्कृष्ट बलिङ गरि रहेको नेपालको ब्याटिङ भने निराशजनक छ । विशेषत ओपनिङ र शीर्षक्रमका ब्याट्सम्यान पुरै फ्लप जस्तै छन् । पहिलो खेलमा १ सय ५४ रनको लक्ष्य पक्ष्याउने क्रममा सन्दीप जोराले ५३ रन बनाउदा नेपाल १ सय ३२ रनमा सेमेटिएको थियो । दोस्रो खेलमा १ सय ८ रनको लक्ष्य पक्ष्याउने क्रममा अन्तिम ३ बल बाँकी रहँदा दिपेन्द्रको ४७ रनको सहयोगमा संघर्षपुर्ण जित निकाल्न सफल रह्यो ।

बलिङमा सन्दीप लामिछाने, सोमपाल कामी, अभिनास बोहोरा राम्रो लयमा रहेका छन् । सुरुवाती दुई टि–२० खेलमा कप्तान पारस खड्का र प्रदीप ऐरीलाई ओपनिङ जोडीले पहिलो खेलमा कुनै रनको साझेदारी गर्न नसक्दा दोस्रो खेलमा १ रनको मात्र जोडे ।
आज नेपाली टोलीमा एक खेलाडी परिवर्तन हुन सक्ने उच्च संभावना छ । पहिलो खेलमा पहिलो बलमै डक र दोस्रो खेलमा ८ रन मात्र जोडेका प्रदीप ऐरीको स्थान विनोद भण्डारीले लिन सक्ने प्रबल संभावना देखिन्छ । ओडीआई सिरिजमा ओपनिङ गरेका विनोद सुरुवाती दुई खेलमा बेन्चमा बसेका थिए । यो खेलसँगै नेपालले यूएई भ्रमण सकाउने छ ।