5 years ago
March 9, 2020
भूपेन्द्र जिसी, काठमाडौं
पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीबाट गरिने आशा र आउने नतिजा बिल्कुल फरक रहेको छ । ७ महिनाको अन्तरमा नेपालले दुई ठूला अवसर गुमायो । यसक्रममा नेपालले दुवै प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्यो ।
साउनमा सिंगापुरमा आईसीसी टि२० एसिया विश्वकप छनोटमा सिंगापुर र कतारसँग पराजित हुँदै टि२० ग्लोबल छनोटमा पुग्न सकेन । उक्त नतिजाको पिडा राम्रोसँग भुल्न नपाउँदै थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजनमा चौथो स्थानमा रहँदै एसिया कप छनोट यात्राबाट बाहिरियो । दुवैमा नेपाल प्रतियोगिता सुरु हुनुअघि उपाधिको दाबेदार देखिएपनि नतिजा भने ठ्याक्कै उल्टो आयो । उपाधि त टाढा, नेपालले छनोटको अर्को चरणमा समेत स्थान बनाउन सकेन ।
नेपालमा तीन ठूला फ्रेन्चाइज लिगको कारण खेलाडी वर्षभर टि ट्वान्टी शैलीमा व्यस्त रहँदै आएका छन् । तर तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध गैरजिम्मेवार ब्याटिङको कारण नेपाललाई एक सय रन बनाउन पनि धौधौ पर्यो । टि२० विश्वकपको अवसर गुमाएपनि नेपाललाई एसिया कपमा (भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र श्रीलंका) टेष्ट टोलीसँग खेल्दै उक्त पिडा भुल्ने र भुलाउने अवसर थियो । तर यो अवसर पनि नेपालले सदुपयोग गर्न सकेन ।
नेपालले कति ठुलो अवसर गुमाएको हो, त्यो विश्वकप र एसिया कपको समयमा आफूसँग प्रतिस्पर्धा गरेका टोलीले मैदानमा खेल्दा थप तितो अनुभव गर्नेछौं । आफूभन्दा कमजोर टोलीसँग यस्तो नतिजा आउछ भने टेष्ट टोलीसँग कस्तो आउला ? अझ भनौं त्यस स्तरमा खेल्ने क्षमता हामीसँग आउने दिनमा रहला ? एसोसिएट प्रमुख नेदरल्यान्ड र स्कटल्यान्ड जस्ता देशसँग नेपालको प्रर्दशन गर्ला ? विश्वकप र टेष्टको मान्यताको सपना देख्ने आधारमा के हो ? हामी कहाँ चुकिरहेका छौं ? भन्ने यावत प्रश्न सर्वत्र उठेका छन् । प्रश्न फरक होला तर अन्त्यमा क्रिकेटको स्तर घटेको भन्ने प्रश्न उठ्नु समग्र खेलको लागि पक्कै राम्रो होइन ।
डिभिजन २ को अन्तिम खेलमा क्यानडाविरुद्ध करणको त्यो इनिङ होस् वा एकदिवसिय विश्वकप छनोटमा अन्य टोलीको नतिजा आफू अनुकुल आउँदा अन्तिममा पप्पुवा न्युगिनीलाई हराउँदै ओडीआई मान्यता पाउनु । पछिल्लो समय सानो सानो नजिताले नेपाली क्रिकेटलाई गति दिइरह्यो र आलोचनाबाट बचायो । खराब प्रर्दशनको कारण नेपाल टि२० वरियतामा एकैपटक १५ औं स्थानमा पुगेको छ । एक महिना अघि आईसीसीले टि२० वरियतामा १२ औं स्थानमा रहेको कारण २०२१ म भारतमा हुने टि२० विश्वकपको ग्लोबल छनोटमा सोझै मौका दिएको थियो ।
नेपालको खस्कँदो स्तरको पछाडी थुप्रै कारण छन् । तर प्रमुख कारण खेलाडीको गैर जिम्मेवार प्रर्दशन हो । खेलाडीको निरन्तर मिहिनेत मैदानमा देखिदैन भने त्यसको कुनै अर्थ हुँदैन । इस्टर्न रिजनमा नेपालबाट एउटा पनि अर्धशतक बनेन । कप्तान ज्ञानेन्द्र मल्लले २ इनिङमा ८४ र कुशल मल्लले ३ खेलमा ५५ रन जोडे ।
प्रतियोगिताभर पारस खड्का २२, विनोद भण्डारी १२, आरिफ शेख १५ र दीपेन्द्र सिंह ऐेरीले ४३ रन जोडे । प्रतियोगिताभरको कुल रन प्रमुख ब्याट्सम्यानबाट एक खेलको लागि पनि पर्याप्त रहेन । यसै प्रतियोगितामा सिंगापुरले मलेसियाविरुद्ध ३ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो । टिम डेविडले ३२ बलमा ९२ रन जोडेका थिए । त्यसैले रन नबन्नुमा पिचलाई दोष दिन मिल्दैन । खेलाडीको खराब सट र गैर जिम्मेवार ब्याटिङ रनको खडेरीको कारण हो ।
अर्कोतर्फ पछिल्लो समय खेलाडीमा एकता पनि छैन । क्रिकेटमा एक खेलाडीले प्रर्दशन गरेर जित हुँदैन, पुरा टोलीले गर्नुपर्छ । पछिल्लो समय टोलीमा पूर्वकप्तान पारस, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी लगातका खेलाडीबीच राम्रो सम्बन्ध नरहेको चर्चा चल्यो । पारस र सन्दीपको विवादले एक समय सामाजिक सञ्जालमा राम्रो चर्चा पनि पाएको थियो । जसको असर प्रर्दशन र नतिजामा देखिएको हो की भन्ने प्रश्न पनि उठेको छ । केहि क्रिकेट जानकार टोलीभित्र गुट नै रहेको बताउँछन् ।
अर्कोतर्फ नेपालले पछिल्लो समय धेरै युवा खेलाडीलाई डेब्यु गरायो । बेन्च बलियो बनाउन युवा खेलाडीलाई तयार पार्दै लैजानुपर्छ । तर टोली सन्तुलनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । अहिले टोलीमा अनुभवी खेलाडीको रुपमा पारस, ज्ञानेन्द्र र विनोद छन् । जसले अनुभवी र युवा खेलाडीको सन्तुलन देखिदैन । पछिल्लो तीन वर्षमा सुनिल धमला, दीपेन्द्र सिंंह ऐरी, दीलिप नाथ, अनिल कुमार शाह, रोहित कुमार पौडेल, सन्दीप जोरा, अभिनाश बोहरा, ललित नारायण राजवंशी, पवन सरार्फ, कुशल मल्ल, ईशान पाण्डे, कुशल भुर्तेल, राशिद खान, कमलसिंह ऐरी लगायतका खेलाडीले सिनियर टोलीमा डेब्यू गरे । दीपेन्द्र बाहेक अन्यले नियमित स्थान बनाउन सेकका छैनन् । उपकप्तानको जिम्मेवारी समेत पाएका दीपेन्द्रको प्रर्दशन पछिल्लो समय खस्किएको छ ।
युवालाई मौका दिएर मात्र हुँदैन, विश्वास र धैर्यता पनि देखाउन सक्नुपर्छ । एकै खेलमा युवा खेलाडीबाट चमत्कार प्रर्दशनको आशा गर्नु उचित होइन । एक दुई खेल नराम्रो हुँदा पुन मौका नपाएपछि खेलाडीमा आत्माविश्वास आउँदैन र टोलीमा आफुलाई सुरक्षित ठान्दैनन् । त्यसैले खेलमा टोलीलाई भन्दा पनि आफुलाई बच्न प्रर्दशन गनुपर्ने हुन्छ । जुन अवस्था नेपाली क्रिकेटमा देखिन थालेको छ ।
विश्वकप लिग २ अन्तर्गत ओमानसँग शुन्यमा आउट हुँदा रोहित कुमार पौडेल अन्य खेलमा मौका पाएनन् । इस्टर्न रिजनमा टोलीमै परेनन् । अष्ट्रेलियासँग पहिलो ओडीआईमा डेब्यू गरेका दक्षिण अफ्रिका ओपनर जानेमान मालन शुन्यमा आउट भए । तर दोस्रो खेलमा उनले १ सय २९ रनको अविजित शतकीय विजयी इनिङ खेले, मालनले खेलाडीलाई डेब्यू मात्र होइन विश्वास र धैर्यता देखाउन पनि पर्छ भन्ने राम्रो सन्देश दिएका छन् । यस्तै अवस्था नेपालले पछिल्लो समय अनिलकुमार शाहलाई लिएर पनि गर्यो । कुशल भुर्तेलले इमर्जिङ कपमा केहि सम्भावना देखाएका थिए । इशानले पटक पटक मौका दिएपनि सदुपयोग गर्न सकेनन् र एकैपटक क्याम्पमै नपर्ने गरि बाहिरीए ।
नेपालले ओपनरमा पनि निरन्तर परिवर्तन गर्दै आएको छ । खेलमा कसले ओपनिङ गर्ने हो भन्नै गाह्रो पर्छ । जसको कारण ब्याट्सम्यानलाई आफ्नो पोजिसननै अलमल छ । आरिफ शेखले तीन नम्बर देखी सात नम्बरसम्म ब्याटिङ गर्नु परेको छ । ब्याटिङ पोजिशन स्थिर नहुँदा प्रर्दशनमा असर पर्छ, आरिफको कमजोर प्रर्दशन हुनुको एक कारण पनि यहि हो, आरिफ उदारणमात्रै हुन् ।
नेपाल अनुभवी खेलाडीलाई छाडेर युवाका साथ अघि बढेको छ । दुवै प्रतियोगितामा प्रमुख ब्याट्सम्यान शरद भेषावकर टोलीबाहिर रहे । प्रर्दशन हेर्दा शरद टि ट्वान्टीमा पारसपछिका सर्वाधिक सफल शरद ब्याट्सम्यान हुन् । दबाबमा अनुभवी खेलाडीले आफ्नो अनुभवको फाइदा उठाउँदै रन जोड्न सक्छ । हङकङसँग मध्यक्रमका प्रमुख पाँच ब्याट्सम्यानले २५ रन मात्रै जोडे । सायद शरद टोलीमा हुन्थ्ये भने नतिजा अर्कै आउन सक्थ्यो । शरद राम्रो लयमा पनि थिए ।
घरेलु संरचना र फ्रेन्चाइज लिग बाहेकको प्रतियोगिता सुनसान छ । ओडीआई मुलुकमा पछिल्लो पाँच वर्षयता उमेर समुह, जिल्ला र प्रदेश स्तरका प्रतियोगिता भएका छैनन् । फ्रेन्चाइज लिगकै भरमा राष्ट्रिय टोली चलेको छ । खेलाडीको पुनरागमन, युवा खेलाडीलाई मौका सबै कुरा फ्रेन्चाइज लिगको प्रर्दशनमा निर्भर रहँदै आएको छ ।
फ्रेन्चाइज लिग वास्तवमा खेलसँगै मनोरन्जन र व्यापार हो । व्यापारीले घाटा होइन सधैं नाफा नै चाहन्छ । त्यसैले अक्सनमा क्षमता भएका युवा खेलाडी भन्दा पनि नाम चलेका खेलाडी उसको पहिलो रोजाईमा पर्छन् । नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउनै मुश्किल छ । उमेर समुहको लागि राजधानी केन्द्रितका एकेडेमी बाहेक अन्यलाई त्यहाँ सम्म कसरी पुग्ने भन्ने थाहा हुँदैन ।
गाउँघर, स्थानिस्तर, जिल्लाका खेलाडी केन्द्र सम्म आउन निकै कठिन छ । राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला र प्रदेशको टोली छनोट भएपनि चरम राजनितीको कारण पावर र पहुँच नभएका खेलाडीलाई स्थान बनाउन कठिन पर्छ । डे क्रिकेट प्रतियोगिता गर्ने, ए, बी, सी टिम बनाउने एकादेशको कथा जस्तै बनेको छ ।
राष्ट्रिय टोली बाहेक अन्य खेलाडीलाई सेवा सुविधा शून्य छ । कतिसम्म भने राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न खेलाडीले आफ्नै खर्च तिर्नुपर्ने अवस्था छ । सिनियर टोलीको बन्द प्रशिक्षणमा २०–२५ खेलाडी मात्रै रहँदै आएका छन् । २५ खेलाडीमा कतिनै प्रतिस्पर्धा हुन सक्ला र ?
क्यान आएपनि अहिले घरेलु संरचना अवस्था नाजुक छ । ओडीआई मुलुक सँग क्रिकेट रंगशाला छैन । क्यानको आफ्नो अन्तर्राष्ट्रिय मैदान एउटा पनि छैन । नेपालको एउटा मात्र भएको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान क्यानले त्रिभुवन विश्वविद्यालयलाई बार्षिक ९ लाख भाडा तिर्दै आएको छ । मुलपानी कहिले तयार हुने हो थाहा छैन । यी यस्तै विभिन्न कारण नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा खस्किदै गएको छ ।
एक समय दोस्रो अफगानिस्तानको परिचय बनाएको नेपाल बिस्तारै केन्याको पथमा बढ्दो देखिन्छ। साँच्चै नेपाली क्रिकेटलाई नयाँ उचाईमा लैजाने हो भने नयाँ सुरुवात गर्न आवश्यक छ । सम्पूर्ण जिम्मेवार व्यक्ति, खेलाडी, संघलगायत सबैले आ–आफ्नो तर्फबाट कुनै स्वार्थ, भेद तथा मनमुटाव नराखी गम्भीरताका साथ अघि बढ्न आवश्यक छ । अन्यथा समर्थकले कल्पना नगरेको नतिजा नआउला भन्न सकिन्न । त्यसैले समयमै गम्भीर भएर सोच्न आवश्यक देखिन्छ ।
December 12, 2024
एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पहिलो टि ट्वान्टी आई खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । योसँगै तीन खेलको टि ट्वान्टी आई सिरिजमा जिम्बाबेले १–० को अग्रता लिएको छ । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य जिम्बाब्वेले अन्तिम बलमा […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् । आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २०औं तथा २१औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली पाँचौ खेल खेल्दै […]