default_image

4 years ago

March 18, 2020

क्रिकेट उद्यान : ग्रासरुट विकासमा जम्दै वाईवाई जिएचसिए

89 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

सन् २०१३ मा एक दर्जन युवा खेलाडी समेट्दै खोलिएको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले अघिल्लो महिना आफ्नो दोस्रो शाखा विस्तार गर्यो । सुदीप शर्मा र तेजेन्द्र राजभण्डारीले त्यसबेला सिनामंगलबाट सुरु गरेको एकेडेमीको संकल्पले अहिले मूर्तरुप मात्र लिएको छैन, नेपाली क्रिकेटमा बेग्लै प्रभाव छाड्न सफल रहेको छ ।

एक मात्र प्रशिक्षण केन्द्रले खेलाडी धान्न नसक्ने भएपछि एकेडेमीले आफ्नो शाखा विस्तार गर्नुको विकल्प रहेन । सामान्यतया शाखा विस्तार गर्दा मुख्य कार्यालयभन्दा केहि सानो हुने बुझाइ छ । तर एकडेमीको दयारा अझ फराकिलो पार्दै जिएचसिएले हात्तीवनमा खोलेको नयाँ एकेडेमीलाई मुख्य एकेडेमीका रुपमा विस्तार गर्यो । यसका लागि एकेडेमीमा ७ जनाको साझेदारीमा बोर्ड स्थापना गरेर कार्य अगाडी बढाईएको हो । ४ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ केन्द्रमा सुविधासम्पन्न आवाससँगै आधुनिक प्रशिक्षण विधि अपनाइएको छ ।  केन्द्रमा इन्डोर प्रशिक्षण गर्न सकिने व्यवस्था समेत छ । हाल एकेडेमीमा १ सय ५० खेलाडीले प्रशिक्षण लिँदै आएका छन् ।

सिनियर टोलीका बायाँ हाते ओपनर ईशान पान्डे देखी यू१९ का स्पिनर सागर ढकाल सम्मका खेलाडी जिएचसिएकै उत्पादन हुन् । उमेर समूहमा निरन्तर खेलाडी उत्पादन गरिरहेको एकेडमीले छोटो अवधिमा नै राम्रो छाप बसालेको छ । जिएचसिएले प्रतियोगिता आयोजनासँगै अब देशभर ट्यालेन्ट हन्ट आयोजना गर्दै उत्कृष्ट युवा खेलाडी छनोट गर्ने तयारी गरिरहेको छ ।

नेपाली क्रिकेटका लागि पछिल्लो केहि वर्ष निकै कठिन रहयो । क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संग (क्यान) आईसीसीको निलम्बनमा पर्दा घरेलु क्रिकेटका सम्पूर्ण अधिकारिक प्रतियोगितामा पूर्णविराम लग्यो । एकाध प्राइभेट क्षेत्रका प्रतियोगिताले क्रिकेट चलेको अवस्था थियो । देशमा क्रिकेट नै नेतृत्वविहिन रहेको बिकराल अवस्थामा पनि सिनियर टोलीले लगातार नतिजा ल्याउँदै क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चलायमान राख्न सफल रहे ।

उमेर समूहको क्रिकेट र समग्र ग्रासरुट क्रिकेट भने प्राइभेट एकेडेमीकै खेलाडीको भरमा चल्यो । त्यसो त क्यानले आफैंपनि दिर्घकालिन रुपमा युवा परियोजना ल्याएको छैन, यस्तोमा केहि सिमित एकेडेमीले नै पछिल्ला वर्षहरुमा उमेर समूहको क्रिकेट धाने ।

युवा खेलाडीको क्षमता र सम्भावनालाई निखार ल्याउन एकेडेमीको आवश्यक पर्छ । क्षमता भएर मात्र कुशल खेलाडी तयार हुँदैन । त्यसको लागि निरन्तर प्रशिक्षण पनि आवश्यक पर्छ । र त्यसमा प्रशिक्षकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका एकेडेमीले नेपाली क्रिकेटलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निरन्तर योगदान पुर्याउँदै आएका छन् ।

एकेडेमीले सुरुवाती दिनदेखि नै ग्रासरुटकेन्द्रित स्तरीय प्रशिक्षणलाई आफ्नो प्राथमिकतामा राखेको एकेडेमीका अध्यक्ष सुदीप शर्मा बताउँछन् । ‘ग्रासरुटदेखि क्रिकेट विकास गर्नु नै हाम्रो मुख्य लक्ष्य हो । अबको कदम देशभर ट्यालेन्ट हन्ट आयोजना गरि क्षमता भएका युवा खेलाडी पहिचान गर्दै प्रशिक्षण दिने सोचमा छौं । हाललाई कोरोना भाईरसको कारण यो योजना अघि बढ्न सकेको छैन’ , अध्यक्ष शर्माले भने ।

‘हाम्रो सोच निस्वार्थ रुपमा नेपाली क्रिकेटलाई सहयोग गर्नु हो । उत्कृष्ट खेलाडी उत्पादन गर्न राम्रो पुर्वधार हुनुपर्छ, आधुनिक उपकरण र राम्रो प्रशिक्षक चाहिन्छ, त्यसैमा हामीले आफूले सकेसम्म जोड दिएका छौं । बेलाबेलामा विदेश भ्रमण समेत गरेका छौं जसले खेलाडी मात्र नभएर हामीलाई पनि एकेडेमी संचालनमा थुप्रै अनुभव दिएको छ,’ उनले थपे । जिएचसिएले हालसम्म खेलाडीलाई युएई, बंगलादेश, भारत लगायतका देशमा विदेश भ्रमण क्याम्प तथा प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । आउने दिनमा जिएचसिएले अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड लगायतका देशमा समेत भ्रमणको तयारी गरिरहेको छ ।

जिएचसिएले गत महिना मात्र हाल राष्ट्रिय टोलीका समेत प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई एकेडेमीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । नेपाललाई ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता दिलाएका टमाटाले भारतीय प्रशिक्षक पटवालको बहिर्गमनपछि फेरी राष्ट्रिय टोलीको जिम्मेवारी पाएका छन् । टमाटाको उपस्थितिले एकेडेमीका खेलाडीलाई अझै फाइदा पुग्नेछ । जिएचसिएले वैशाख पहिला साता इंग्ल्यान्डलाई ऐतिहासिक एक दिवसिय विश्वकप उपाधि दिलाउँने बलिङ प्रशिक्षकका रुपमा रहेका विश्व चर्चित पाकिस्तानका स्पिनर सक्लेन मुश्ताकलाई नेपाल ल्याउँदै छ ।

सिनामंगलमा स्थापना भएको एकेडेमीले २०७१ चैत्रमा नै भीमसेनगोला शाखा विस्तार गर्यो । २०७२ सालमा आएको विनाशकारी महाभुकम्पले एकेडेमीमा क्षति पुग्दा सिनामंगल शाखा बन्द भयो र भीमसेनगोलाबाट एकेडेमी संचालन भयो । भुकम्पको कारण केहि समय खेलाडीको उपस्थिति कम हुँदा एकेडेमी संचालनमा नै कठिनाइ भयो । तर आफ्नो लक्ष्यबाट एकडेमी पछि हटेन ।

त्यसो त् सुरुमा क्रिकेट सिक्न पैसा तिर्न आनाकानी गर्ने संख्या धेरै थियो । सन् २०१४ मा जब नेपालले टि२० विश्वकप खेल्यो त्यसपछि क्रिकेट सिक्नेको रुचि ह्वात्तै बढ्यो । ‘सुरुमा पैसा तिरेर सिक्न मान्दैन थिए । अहिले पैसा तिर्नुपर्छ भन्ने सोचको विकास भएको छ । हाम्रो एकेडेमीबाट प्रतिफल निस्केर पनि केहि आकर्षण बढेको महसुस भएको छ,’ एकेडेमीका बोर्ड सदस्य सुमनराज कार्कीले बताए ।

जिएचसिएले दुई हप्ता अघि मुलपानीमा दुई दिवसिय यु१९ क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । जसले सरकारी र अन्य निजी क्षेत्रलाई चाहे गर्न सकिने राम्रो सन्देश दियो । क्रिकेट विकासको लागि डे-क्रिकेट कति आवश्यक छ भन्ने उक्त प्रतियोगिताको सफल आयोजना, खेलाडीको प्रर्दशन र अनुभवले प्रष्ट पाथ्र्यो । जिएचसिएले मदन भण्डारी स्पोर्ट्स एकेडेमी, राखेप लगायतसँग समन्वय गर्दै उमेर समुह तथा कलेज लिग जस्ता प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्दै आएको छ ।

जिएचसिएबाट हालसम्म सिनियर टोलीमा ईशान पाण्डे, यू१९ टोलीमा सागर ढकाल, अभिषेक बस्नेत, हिमान्शु दत्त, प्रकाश विष्ट र विवेक कुमार यादव तथा यू १६ टोलीमा प्रशान्त सिंह, विशाल पटेल र दिपक बोहरा नेपालको प्रतिनिधित्व गर्न सफल भएका छन् । जिएचसिएले ७ वर्ष लामो यात्रामा विभिन्न सरकारी तथा प्राइभेट स्तरबाट प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पनि पाउँदै आएको छ ।

विशेषगरी जिएचसिएले चौधरी ग्रुपको उत्पादन वाईवाईसँग तीन वर्षदेखी प्रायोजकका रुपमा सहकार्य गर्दै आएको छ । अध्यक्ष शर्माले प्रायोजकबिना यो यात्रा सम्भव नभएको औंल्याए । ‘वाईवाईलाई त विशेष धन्यावाद दिन चाहान्छु । वाईवाईको साथ, सहयोगबिना यहाँसम्म आउन सायद सम्भव थिएन । क्यान र राखेपको पनि अप्रत्यक्ष सहयोग छ’, अध्यक्ष शर्माले भने ।

जिएचसिएले आर्थिक अवस्था कमजोर भएका तथा राम्रो क्षमता भएका खेलाडी नि:शुल्क प्रशिक्षण प्रदान गर्दै आएको छ । राम्रो क्षमता हुँदाहुँदै खेलाडी क्रिकेटबाट बञ्चित नहुन् भन्ने सोच एकेडेमीको छ । हाल एकेडेमीमा झन्डै २ दर्जन खेलाडीले नि:शुल्क प्रशिक्षण लिइरहेका छन् ।

पछिल्लो समय घरेलु क्रिकेट र उमेर समुहमा उच्च प्रर्दशन गर्दै आएका स्पिनर सागर ढकाल जिएचसिएबाटै हुर्केबढेका हुन् । ‘ एकेडेमीमा सिक्दै खेल्दै यहाँसम्म यात्रा तय गर्न सकें । जिएचसिएमा प्रशिक्षणदेखि व्यवस्थापन सबै पक्ष राम्रो छ । सबै सहयोगी हुनुहुन्छ । नेपालको अवस्थामा जिएचसिए जतिको एकेडेमी पाउनु धेरै ठुलो कुरा हो । विदेशको तुलना गर्दा कम होला, तर नेपालमा उपलब्ध स्रोत हेर्दा जिएचसिए साँच्चै उत्कृष्ट छ,’  सागरले हाम्रो खेलकुदसँग भने ।

वैदेशिक प्रशिक्षणले गर्दा खेलाडीको मनोबल बढ्ने कुरामा सागर आफैं एक उदाहरण भएको बताउँछन् । ‘जिएचसिएबाट बंगलादेशको भ्रमणमा मैले राम्रो प्रर्दशन गरें । त्यस भ्रमणमा मैले धेरै सिकें र प्रदर्शन पनि राम्रो भयो । त्यसपछि माभित्र बेग्लै आत्माविश्वास जाग्यो । उमेर समूह क्याम्पमा पनि एकदम उर्जा एको थियो । वैदेशिक अनुभव भएकाले पनि मलाई त्यसपछि प्रदर्शन गर्न कुनै समस्या भएन,’ उनले थपे ।

कुनै पनि देशको क्रिकेट स्तर कहाँ छ, त्यो देशको ग्रासरुटको अवस्थाले बताउँछ । नेपालमा वर्षेनी तीन ठूला फ्रेन्चााइज टि२० लिग हुँदापनि अन्तर्राष्ट्रिय स्तरमा खासै फड्को मार्न सकेको छैन । दुई साता अघिमात्रै थाईल्यान्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपाल खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । सोझो अर्थमा भन्ने हो भने घरेलु संचना खोक्रो देखिन्छ । सिनियर टोलीमा ठूलो लगानी हुँदा उमेर समुहमा र स्थानिय स्तरमा क्रिकेटको अवस्था शून्यप्राय छ ।

वास्तवमा फ्रेन्चाइज लिग एक मनोरञ्जनसँगै ब्यापार हो । ब्यापारी घाटा होइन सधैं नाफा चाहान्छ । त्यसैले त अक्सनमा युवा खेलाडी भन्दा पनि नाम चलेका अनुबन्ध गर्न खोज्छन् । दोस्रो पोखरा प्रिमियर लिगमा यू१९ का कप्तान रित गौतमलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् । प्रर्दशन हेर्न हो भने पछिल्लो एक वर्षमा उमेर समुहमा उनी अग्र स्थानमा आउँछन् । रित त एक उदारण मात्र हुन् ।

त्यसैले फ्रेन्चाइज लिगबाट क्रिकेट विकासको लागि ठूलो आशा गर्नु पक्कै उचित होइन । ग्रासरुट क्रिकेटका लागि एकेडेमी र क्लबको भूमिका महत्वपूर्ण हुन्छ । जिएचसिएले जुन लक्ष्य र सपनाका साथ अघि बढेको छ, यसले आगमी दिनमा नेपाली क्रिकेटलाई थप सहयोग गर्नेमा दुइमत छैन । सम्बन्धित पक्षको सहयोग बढ्दै गएमा यसले थप सफलता पाउनेछ ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

Success

Thank you for your time.