default_image

11 months ago

July 10, 2023

खेलाडीले संयमता गुमाएर दर्शकलाई हातपात गरेपछि..

379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदमा समर्थकलाई १२ औं खेलाडी मानिन्छ । समर्थक नै खेलाडीका लागि उर्जा थप्ने काम गर्छन् । समर्थकबाट जितमा ताली र हारमा गाली पाउनु स्वाभाविक हो । खेलाडीले यो पक्ष सहजै स्वीकार गर्नुपर्छ । समर्थक विना कुनैपनि खेलको कल्पना गर्न सकिदैन ।

कुन खेल कति लोकप्रिय छ भन्ने समर्थकको उपस्थितिमा पनि भर पर्छ । कहिले काहिँ समर्थक निराश हुँदै खेलाडीमाथि आक्रोश पनि पोख्छन्, तर त्यो क्षणिक हुन्छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत दर्शकहरुले असन्तुष्टि पोख्दै आएका छन् । तर कतिपय अवस्थामा यो असन्तुष्टि मौखिक मात्र नभएर मैदानमा बोतल हान्ने सम्मको उदाहरण छन् । नेपालमा मात्रै होईन यो विश्वभर समर्थकबाट देखिने अप्रिय घटना हो । यस्तो समयमा भिड नियन्त्रण गर्न खेलाडी निकै संयमित हुनुपर्छ ।

सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिगमा आर्मीका खेलाडीले संयमता गुमाउँदा एक निराशाजनक घटना भयो । आक्रोशमा आएर आर्मीका खेलाडीले अनुशासन तोड्दै समर्थकलाई नै हातपात गरे । विभाग भन्ने बितिकै अनुशासन भन्ने बुझिन्छ, अझ आर्मी त्यसमा अब्बल छ । तर सोमबारको घटनाले आर्मी मात्र नभएर सिंगो खेलकुद र खेलाडीकै अनुशासनमाथि प्रश्न उठ्ने काम भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको खेलमा गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३-२४ को अवस्थामा थियो । त्यस अघिका दुई सेट जितेको हुँदा आर्मी सोझो सेटमा जित हात पार्न चाहन्थ्यो । गण्डकीका भारतीय खेलाडी थारुन गोडाले प्रहार गरेको स्पाइक आर्मीका दुर्गा बहादुर खड्काको हातमा हल्का छुँदै बाहिर गएको देखियो । तर खेलका मुख्य रेफ्री चित्रजंग गुरुङले हातमा लागेको देखेनन् । टिभी रिप्लेमै पटक पटक हेर्नुपर्ने त्यो मुभ नांगो आँखाले गर्नु सहज पक्कै थिएन । त्यसैले रेफ्रीले अंक आर्मीलाई दिएका थिए ।

गण्डकीका खेलाडी र प्रशिक्षक चेक आउट भएको भन्दै असन्तुष्ट जनाउन थाले । कारण उक्त अंकले खेल चौथो सेटमा पुग्ने थियो । कोर्ट बाहिर रहेका कार्यवाहक कप्तान राजन दर्लामी मगर, प्रशिक्षक रमेश केसी, सुजन चोखाल लगातका खेलाडीले सेकेन्ड रेफ्री अनिल रानासँग असन्तुष्ट जनाएका थिए ।

गण्डकीका खेलाडी र अफिसियल रेफ्रीसँग उक्त निर्णय बारे असन्तुष्टी जनाइरहँदा आर्मीका खेलाडीलाई बाहिरबाट समर्थकले बोतलले हाने । बेन्चकै पछि बसेका केहीले अपशब्द प्रयोग गरे । यसमा आर्मीका खेलाडी संयमित हुन सकेनन् । नेपाली राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा नै आक्रोशित बन्दै समर्थकतर्फ फर्केर कराउन थाले । उनले हातमा रहेको खेलाडी परिवर्तन कार्ड समर्थकतर्फ तेर्स्याए पनि ।

तर आर्मीका खेलाडी त्यतिकैमा रोकिएनन् । उता नेपाल प्रहरीले सबैलाई शान्त भएर बस्न आग्रह गरेको थियो । पुलिसले सबै समर्थकलाई बस्न आग्रह गरेको थियो । हरिहजुरसहित आर्मीका केहि खेलाडी समर्थक प्रति झनै आक्रोशित बने । आर्मीका राजेन्द्र विष्ट, शरण सामरी र धनपति कुँवर कोर्ट बाहिर गएर समर्थकलाई पिट्न खोजेका थिए । आर्मीका मुख्य प्रशिक्षक जगतबहादुर सिंह भने खेलाडीलाई त्यसो नगर्न भन्दै सम्झाउँदै खेलाडीलाई रोकेका थिए ।

धनपति कोर्ट बाहिर गएर समर्थकलाई हात हाल्न लागेपनि फर्काइएको थियो । नेपाल प्रहरीले आर्मीका खेलाडीको कारण समर्थकलाई सुरक्षा दिनुपर्ने अवस्था आएको थियो । तर त्यतिकैमा प्रमुख स्पाइकर धनबहादुर भट्टले समर्थकलाई हात नै हाले । धनबहादुरले जोडले एक मुक्का प्रहार गरेको प्रत्यक्ष प्रसारणमै देखियो । ति समर्थक बोतल प्रहार गर्ने थिए वा थिएनन्, त्यो पनि स्पष्ट कसैलाई थाहा छैन । तर धनबहादुरले आफ्नो मर्यादा पार गरेर हात हालेका थिए ।

धनबहादुरको आक्रोश त्यतिकैमा रोकिएको थिएन । तर उनलाई अरुले समाएर कोर्टमा फर्काएका थिए । त्यतिमात्रै होईन कतिसम्म लज्जास्पद थियो भने आर्मीका एक समर्थकले उल्टै तीनलाई पिटेका थिए । प्रहरीलाई सुरक्षा दिन मुश्किल परेको थियो ।

अर्कोतर्फ आर्मीकै बेन्चबाट फिल्म शैलीमा आफू बस्ने कुर्ची समर्थकतर्फ फ्याँकियो । पछि धनबहादुर र राजेन्द्र दुवैलाई दर्शक दीर्घाबाट कोर्टमा झारिएको थियो । युवा खेलाडी धनपति कुँवरले पनि जोशमा होश गुमाए । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, नेपाल प्रहरी, आर्मीका अफिसियल, भलिबलका पदाधिकारीहरुले उक्त आक्रोशलाई कम गर्न खोजेका थिए । तरपनि आर्मीका खेलाडीले आफ्नो जोश देखाइरहे ।

त्यसअघि बिना जर्सीमा भएका आर्मीका ब्यक्तिले समर्थकलाई खोज्दै पिट्न समेत खोजेका थिए । आर्मीले अनुशासनको कुनैपनि मर्यादा कायम गरेको थिएन । कोर्टमा गण्डकीका खेलाडीसँग भलिबलमा भिड्नुपर्ने आर्मीका खेलाडी समर्थकलाई नै पिट्न खोजेका थिए ।

विभागमध्य खेलकुदमा सबैभन्दा प्रतिष्ठितको रुपमा चिनिने आर्मीले खेलमा तनावपूर्ण अवस्था सिर्जना गर्यो । नेपाल प्रहरीलाई सुरक्षा दिनै गाह्रो भएको थियो । अध्यक्ष जितेन्द्र चन्द र प्रशिक्षक जगत सिंहले सम्झाउँदै खेलाडीलाई बस्न आग्रह गरेका थिए ।

आर्मीमाथि उठेको अनुशासनको गम्भीर प्रश्न

कहिले काहीँ म्याच रेफ्रीबाट गल्ती हुनसक्छ । त्यो त स्वभाविक हो । सुरुवाती दुई सेट हारेको गण्डकीले उक्त अडान लिनु स्वभाविक थियो ।

अनुशासन बिना कुनैपनि खेल कल्पना गर्न सकिदैन । विभागीय टोलीबाट सधैं अनुशासनको अपेक्षा समेत गरिन्छ । समर्थकले जिस्काउनु वा कुनै बस्तुले प्रहार गर्नु राम्रो होइनन् । यदि प्रहार गर्छन् भनेपनि खेलाडी कहिल्यै प्रतिवादमा उत्रनु हुँदैन । खेलाडी र समर्थकले गर्ने व्यवहार निकै फरक हुनुपर्छ । समर्थक आक्रोशमा विवेक प्रयोग नगर्न सक्छन् । तर खेलाडी सधैं चनाखो हुनुपर्छ ।

ती समर्थकलाई कारबाही गर्ने वा सम्झाउने नेपाल प्रहरी थियो । आर्मी संयमित हुनुपर्ने थियो । आर्मीको टोलीमा एकदुई जनालाई छाड्ने हो भने सबै राष्ट्रिय टोलीबाट खेल्ने पहिलो रोजाईका खेलाडी छन् । आर्मीकै खेलाडीको यस व्यवहारबाट युवा खेलाडीले के शिक्षा सिक्छन् ? ती स्टार खेलाडीले एउटा सामान्य सर्मथकलाई पिट्नु कतिसम्म न्यायपूर्ण होला ? बोतल प्रहार गर्ने को थियो कसैलाई स्पष्ट रुपमा थाहा नै छैन ।

हरिहजुर नेपाली राष्ट्रिय टिमकै कप्तान हुन् । यदि उनका कुनै खेलाडी आक्रोशित हुँदा उनले सम्झानु पर्ने थियो । तर उनले उल्टै आक्रोशित हुँदै हातमा रहेको बस्तुले नै झटारो हान्न खोजे यसबाट अन्य खेलाडी र सर्मथकले के सिक्छन् ? आफ्नो भलिबल सुरुवात गरेका धनपति यो अनावश्यक आक्रोश आफैंमा अमर्यादित थियो ।

अर्कोतर्फ धनबहादुर नेपाल आर्मी र राष्ट्रिय टोलीका पनि प्रमुख स्पाइकर हुन् । उनको शक्तिशाली स्पाइक हेर्न जोकोही लालाहित हुन्छन् । शान्त स्वभावका उनीबाट त्यो कल्पना कसैले गर्दैन् । अपेक्षा अनुसार गण्डकीविरुद्ध प्रदर्शन गर्न नसकेका उनको त्यो निराशा समर्थकमा पोख्न पुगे ।

आर्मीले आफ्नो दम्भ देखायो । अनुशासन मात्रै होईन आक्रोशित हुँदै पुरै अमर्यादित बन्यो । नेपालको भलिबलमा आर्मी सर्वाधिक लोकप्रिय टोलीमा पर्छ । नेपालभर आर्मीका खेलाडीलाई पछ्याउने हजारौ समर्थक र खेलाडी छन् । यसबाट उनीहरुले के सिक्छन् ?

समर्थक निराश वा आक्रोशित हुँदा उल्टै सम्झाई बुझाई गर्नुपर्छ । खेलाडीको काम खेल्ने हो । सुरक्षा दिने काम सुरक्षाकर्मीले गर्दछन् । तर आक्रामक शैलीमा समर्थक पिट्नु पक्कै खेल भावना विपरित थियो ।

खेलपछि सिनियर खेलाडी मानबहादुर श्रेष्ठले दर्शकहरुसँग माफी मागे । उनले एक बुझ्झकी खेलाडीको पहिचान अनुसार समर्थकविरुद्ध आक्रोश पोखेका आर्मीका खेलाडीको तर्फबाट समग्र आर्मी टोलीको प्रतिनिधित्व गर्दै माफ मागेका थिए । मानबहादुरले समर्थक र खेलाडी एकै परिवार रहेकाले दुख लागेको पनि बताए ।

गत फागुनमा आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले युएईसँग हार्ने अवस्था आएपछि २५ हजार भन्दा बढी समर्थक भएको टियुबाट बोतल प्रहार गर्न सुरु गरेका थिए । तर नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी लगायतका खेलाडीले हात जोडेर त्यसो नगर्न आग्रह गरेपछि शान्त बनेको थियो ।

त्यसैले खेल सधैं अनुशासनमा रहनुपर्छ । आर्मी आफैंमा अनुशासनको एक उदाहरण हो । एक दुई खेलाडी बाहेक अन्यमा कुनै खेलाडीमा त्यो संयमिता देखिएन । बरु केटाकेटी पारामा उल्टै समर्थकसँग लड्न थाले । यो नेपालको राष्ट्रिय खेलकुद भलिबलमा पक्कै राम्रो सन्देश होईन ।

आर्मीका खेलकुद प्रमुख मुनाल बस्नेतले आफू उक्त घटनामा प्रत्यक्षदर्शी नभएको हुँदा यसलाई अनुसन्धान गरेर अघि बढ्ने हाम्रो खेलकुदलाई जानकारी दिए । बस्नेतले आफू उक्त खेलमा नभएको हुँदा उक्त घटना बुझेर मात्रै प्रतिक्रिया दिने बताए ।

आर्मीका खेलाडीले जुन व्यवहार देखाए त्यो खेल भावना विपरित थियो । अनुशासन बिना खेल कहिल्यै विकास र लोकप्रिय हुन सक्दैन । त्यसैले आर्मी र भलिबल संघ दुबैले यस घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्छ । अनुशासन बाहिर गएर अमर्यादित काम गर्ने खेलाडीलाई कारवाही गर्नुपर्छ । समर्थकबाट पनि यो अवस्था सिर्जना हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्छ । दुवै पक्षको अवस्था अध्ययन गरेर कदम चालेमात्र आगामी दिनमा यस्तो घटना कसैले दोहोर्याउने आँट गर्ने छैनन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

सेपाकताक्रो विश्वकप – नेपाल डबल इभेन्टको पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत डबल इभेन्टको सेमिफाइनलमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई सोमबार २-१ ले हराएपछि नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको हो । नेपालले बंगलादेशलाई १५-१०,१३-१५,१५-७ ले हराएको थियो। समूह विजेता चाइनिज ताइपेइसँग हारेको नेपालले श्रीलंकामाथि भने जित निकालेको थियो। नेपाली टोली आइतबार […]

Success

Thank you for your time.