default_image

8 months ago

September 24, 2023

एसियाडको व्यवस्थापक नियुक्तिबारे खेल संघ नै बेखबर

1113 views

0 Bookmark

सुबास हुमागाईं, हाङ्गचौ, चीन

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड चीनको हाङ्गचौमा शनिबार औपचारिक उद्घाटनसँगै सुरु भएको छ । २ सय ५३ खेलाडीसहित इतिहासकै सबैभन्दा ठूलो टोली पठाएको नेपालको खेल व्यवस्थापक छनोटलाई लिएर भने ठूलो प्रश्न खडा भएको छ ।

सम्बन्धित खेल संघलाई कुनै जानकारी नदिई कतिपय खेलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का कर्मचारी तथा सम्बन्धित खेल बाहिरका व्यक्ति खेल व्यवस्थापकको भूमिकामा चीन पुगेको पाइएको छ । विगतमा पनि राखेप कर्मचारी खेल व्यवस्थापक बनेर अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने प्रचलन थियो । तर त्यसबेला अधिकांश सम्बन्धित खेल बुझेका कर्मचारी नै सहभागी हुने गर्थे ।

यसपटक भने राखेपले सम्बन्धित खेलबारे प्राविधिक जानकारी नै नभएका कर्मचारीलाई व्यवस्थापक जस्तो महत्त्वपूर्ण भूमिकामा नियुक्त गरेर पठाएको छ । राखेपले कर्मचारीलाई व्यवस्थापक नियुक्त गरेर पठाएको सम्बन्धित संघले भने आजसम्म पनि सुइँको पाएका थिएनन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद -६ संघ गठन र दर्ताको दफा अन्तर्गत खेल संघ स्थापना गर्न सकिनेको दफा (५) (घ) ले परिषदको कर्मचारी वा प्रशिक्षक खेल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भनेको छ । यसकारण ऐन आएपछि राखेप अन्तर्गत रहेका कर्मचारी र प्रशिक्षकले संघमा रहेको पद छोडेका थिए । खेलकुद संघ र राखेपमा कर्मचारी एकसाथ काम गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टरेस्ट) हुने कारण ऐनमा यो व्यवस्था गरिएको थियो ।

तर यसका बाबजुद राखेपले संघमा नरहेका र खेलको प्राविधिक र अन्तरिक पाटो नै नबुझेका कर्मचारीलाई व्यवस्थापक बनाएको छ । विगतमा कम्तिमा खेल बुझेका कर्मचारी जाने गरेकोमा यसपटक खेल सम्बन्धित व्यक्ति नजाँदा सहभागिता मै समस्या आउने डर पनि छ । विगतमा खेल बाहिरका व्यक्ति व्यवस्थापक बनेर जाँदा प्रतिस्पर्धा नै गर्न नपाएको उदाहरण पनि नेपाली खेलकुदमा छ ।

टोकियो ओलम्पिक २०२० मा एथलेटिक्समा तत्कालिन राखेप उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटी (एनओसी) का सह महासचिव पिताम्बर तिम्सिनालाई व्यवस्थापक तोकिएको थियो । तर चौतर्फी आलोचना पछि दुवैले जापान नजाने निर्णय लिएका थिए । त्यसले एथलेटिक्स टोली अन्ततः टोकियो ओलम्पिकमा व्यवस्थापक विहिन बनेको थियो ।

बास्केटबल टोलीमा राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी व्यवस्थापकको भूमिकामा हाङ्गचौ आएकी छिन् । यता नेपाल बास्केटबल संघका कार्यवहाक अध्यक्ष भीमसिंह गुरुङले बास्केटबलसँग सम्बन्धै नभएकालाई व्यवस्थापक बनाएर लानु दुखद भएको बताएका छन् ।

‘थ्री बाई थ्रीमा हाम्रो अन्तर्राष्ट्रिय अभ्यास भनेको ४ खेलाडी र १ प्रशिक्षक टोलीमा रहन्छन् । एसियाडमा हाम्रो टोलीको व्यवस्थापक उहाँ कसरी हुनुभयो त्यो संघलाई जानकारी छैन,’ उनले भने, ‘यो विषयमा राखेप र एनओसीले जवाफ दिनुपर्छ । सम्बन्धित खेलको मान्छेलाई व्यवस्थापक बनाउँदा उनले केहि अनुभव बटुल्न पाउँथ्यो । अन्य खेलका लागि लाने यो गलत परम्परा हो । यो समग्र खेलकुदका लागि यो दुःखद विषय हो ।’

गल्फमा राखेपले हाल राखेप अन्तर्गत तेक्वान्दो प्रशिक्षक तथा ओलम्पियन रहेका दिपक विष्टलाई व्यवस्थापक बनाएको छ । नेपाल गल्फ संघका विकास निर्देशक तथा सदस्य दीपक आचार्यले राखेपले यसपटक टोलीको प्रशिक्षण, खेल सामग्री र अन्य सुविधामा राम्रो गरेपनि व्यवस्थापन नियुक्तिमा भने सही निर्णय नगरेको बताए । उनले सामान्य बुझाइमा खेल नै नबुझेको व्यक्ति व्यवस्थापक बनेर जाँदा निकै समस्या आउन सक्ने बताए ।

‘राखेपले यसपटक तयारीको सुरुवातदेखि नै निकै सहयोग गरेको छ । यसका लागि निकै कृतज्ञ छौं । वैदेशिक प्रशिक्षण होस् या खेल सामग्री, सायद यो हालसम्मकै राम्रो मध्यमा थियो । यसले गर्दा पनि एसियाली खेलकुदमा हाम्रो निकै राम्रो तयारी भएको छ । तर व्यवस्थापकको हकमा भने हामीलाई कोटा उपलब्ध छैन भनिएको थियो,’ आचार्यले सुनाए ।

‘गल्फमा व्यवस्थापकको जिम्मेवारी धेरै हुन्छ । प्राविधिक मिटिङदेखि खेल दौरान पनि विभिन्न नियमहरु हुन्छन् । राखेपले कसरी अन्य व्यक्तिलाई पठायो हामीलाई जानकारी नै छैन । अझ व्यवस्थापक भएपछि टोलीसँग जानुपर्ने हो, तर आज खेलाडी र प्रशिक्षक मात्र गएका छन् । हामीले संघको आफ्नै हवाई र भिलेज खर्चमा फिजियो पनि पठायौं । तर व्यवस्थापकको नाम हेर्दा निकै दुख लागेको छ,’ उनले थपे ।

आचार्यले गल्फमा अझै व्यवस्थापकको भूमिका महत्त्वपूर्ण रहेको बताए । ‘अहिले शुक्रबहादुर राई भारतबाट आएर चीन जानुपर्ने छ । व्यवस्थापकले समन्वय गर्नुपर्ने थियो । खेलाडीको मनोबलमा असर पर्छ । कम्तिमा जाने मान्छेले पनि कुन खेल जाँदैछु भन्ने थाहा हुनुपर्छ । आफैंलाई थाहा नभएको खेलको जिम्मा लिन्छु भन्नु,’ उनले थपे, ‘राखेपकै कर्मचारी पठाउनुपर्ने भए गल्फ बुझेकै व्यक्ति पनि राखेपमा थिए । तर त्यसो नहुँदा निकै दुख लागेको छ ।’

गल्फ टोली आइतबार चीनको लागि प्रस्थान गर्दैछ भने व्यवस्थापक रहेका विष्ट चीन आएर उद्घाटन समारोहमा पनि उपस्थित थिए ।

एसियाली खेलकुदमा आर्चरीकी व्यवस्थापक रहेकी श्रुती खरेल शिवाकोटी एनओसी सदस्य रमेश शिवाकोटीकी श्रीमती हुन् । यद्दपी उनी नेपाल आर्चरी संघकै सिफारिसमा व्यवस्थापक बनाइएको संघका अध्यक्ष दीपक गुरुङले हाम्रो खेलकुदलाई बताए ।

‘असम्बन्धित खेलका मान्छेलाई व्यवस्थापक बनाएर पठाउने चलन हाम्रोमा छ । त्यसरी पठाएका कतिपय व्यक्तिहरु खेलस्थलमा पनि नपुगेको सुनिएको छ,’ गुरुङले भने, ‘हाम्रो खेलमा त्यस्तो नहोस् भन्नका लागि हामीले श्रुती खरेल शिवाकोटीको सिफारिस गरेका हौं । उहाँ हाम्रो जिल्ला संघको सदस्य पनि हुनुहुन्छ ।’

राखेपले कर्मचारी मात्र नभएर विभागीय टोलीमा उच्च ओहोदामा रहेका व्यक्तिलाई पनि व्यवस्थापकको जिम्मेवारी दिएको छ । खेलकुद विभाग हेर्दै आएका तीन विभागका प्रतिनिधि पनि खेल व्यवस्थापकको भूमिकामा छन् ।

पुलिसका रुकेश तण्डुकार सुटिङ, एपीएफका सुधिर सुवेदी कुस्ती र आर्मीका मुनाल बस्नेत एथलेटिक्समा छन् । यद्यपि बस्नेतसँगै एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीको नाम पनि व्यवस्थापकमा रहेको छ ।

उसुमा राखेप अन्तर्गतका कराते प्रशिक्षक दिपक श्रेष्ठ व्यवस्थापक छन् । राखेपकै कर्मचारी व्यवस्थापक हुने अन्य खेलमा कुमार बस्नेत क्यानोइङमा, डिल्ली राम काफ्ले कबड्डीमा तथा फणिन्द्र पौडेल डान्स स्पोर्टमा छन् ।

एसियाली खेलकुदमा दर्ता सम्बन्धि प्रक्रिया ओलम्पिक कमिटीले हेर्ने भएपनि संघले व्यवस्थापक सिफारिस नगरेको अवस्थामा राखेपले नै त्यसमा ठाउँ भरेको हो । आर्थिक व्यवस्थापन लगायत प्रक्रियाका लागि पनि सरकारसँग राखेपले समन्वय गर्ने हुँदा राखेपले नै नाम पठाएको आधारमा व्यवस्थापक चयन भएको ओलम्पिक कमिटीले जानकारी दियो ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले संघले नै व्यवस्थापकमा नाम दर्ता नगरेको कारण रिक्त रहेको स्थानमा राखेप कर्मचारीको नाम आएको बताए । उनले खेल बुझेकै व्यक्ति व्यवस्थापकमा रहेको दावी गर्दै ओलम्पिक कमिटीमा संघले बुझाएको नाममा राखेपले कुनै किसिमको हस्तक्षेप नगरेको पनि प्रष्ट पारे । विगतमा एनओसी र राखेपबीच हुने विवादको अन्त्य गर्न उनले संघ र एनओसीलाई पूर्ण स्वतन्त्रता दिएको पनि बताए ।

‘एनओसीलाई संघले बुझाएको कतिपय खेलमा व्यवस्थापकको नाम थिएन । अब खेललाई व्यवस्थापक विहिन बनाउने कुरा भएन । त्यसैले खेलकुदमै काम गरिरहेका व्यक्तिलाई हामीले सिफारिस गरेका हौं । हो, सम्बन्धित खेलको पूर्ण प्राविधिक ज्ञान नहोला, तर खेल नबुझेका हुँदैनन् । खेलकुदमा काम गर्ने कर्मचारी अन्य निजामती, विद्युत, प्रशासन जस्तो त नहोला,’ उनले भने ।

‘व्यवस्थापकको नाम नभएको कारण नै हामीले नाम थपेका हौं । हामीले कहिले पनि एनओसीबाट आएको नाममा हेरफेर गर्ने वा कुनै प्रश्न गरेका छैनौं । दर्ता लगायत अन्य प्रक्रियामा राखेपले संघ र ओलम्पिकलाई स्वतन्त्र छोडेका छौँ । विगतमा अन्तर्राष्ट्रिय खेलकुद मेलामा निकै विवाद हुने गर्थ्यो । तर म आफैं अन्तर्राष्ट्रिय संघमा काम गरेको मान्छे खेलको मर्म बुझ्छु । त्यसैले मैले सुरुवातदेखि नै पुरानो समयजस्तो विवाद चाहेको थिइनँ,’ उनले भने ।

नेपालले एसियाडको २९ खेलमा २ सय ५३ खेलाडीसहित जम्बो टोली पठाएको छ । खेल व्यवस्थापकबाहेक राखेप र एनओसीका पदाधिकारी तथा कर्मचारी यसबेला चीनमा छन् । यसबारे भने हालसम्म दुवै पक्षबाट कुनै किसिमको सूचना प्रवाह गरिएको छैन । खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीसहित ४ सय भन्दा बढी नेपाली एसियाडमा आएको बुझिएको छ ।

खेल र व्यवस्थापकको नाम :

भलिबल – रोशन श्रेष्ठ र अन्जु श्रेष्ठ

क्रिकेट – आयुष श्रेष्ठ

फुटबल – विना श्रेष्ठ

टेबल टेनिस – धर्ममान बज्राचार्य

तेक्वान्दो – भान बहादुर चन्द

बक्सिङ – श्याम अवाले

जुडो – विपिन प्रसाद श्रेष्ठ

पौडी – इश्वर कुमार कार्की

उसु – दिपक श्रेष्ठ

फेन्सीङ – निराकार मान सिंह

सुटिङ – रुकेश तन्डुकार

रग्बी – गोविन्द घिमिरे

टेनिस – मालिका राना बस्नेत

ईस्पोर्ट्स – राजु श्रेष्ठ, सुरज डंगोल, विमल ताम्राकार, शरण तुलाधर, सिलु श्रेष्ठ भिक्टर पौडेल

साइक्लिङ –

ह्याण्डबल – संदेश रेग्मी

स्क्वास – किशोर महर्जन

बास्केटबल – सरस्वती केसी

गल्फ – दिपक विष्ट

ब्याडमिन्टन – विरेन्द्र श्रेष्ठ

एथलेटिक्स – धनीराम चौधरी र मुनाल बस्नेत

ट्रायथलन –

भारोत्तोलन – राम कृष्ण श्रेष्ठ ‘बोस’

आर्चरी – श्रुति खरेल सिवाकोटी

कबड्डी – डिल्ली राम काफ्ले

रेस्लिङ – सुधिर सुवेदी

कराते – निवास वैद्य

क्यानोइङ – कुमार बस्नेत

डान्स स्पोर्ट – फणिन्द्र पौडेल

May 9, 2024

‘२०१४ को टि२० विश्वकप गाउँमा परिवारसँगै हेरेको थिएँ’ – कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मध्यक्रमका भरपर्दा ब्याटर रोहित पौडेलको कप्तानीमा आइसीसी टि२० विश्वकप २०२४ खेल्दैछ । गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टि देशाइलाई प्रशिक्षक नियुक्त गरेसँगै रोहित पौडेल कप्तान नियुक्त भएका थिए । प्रशिक्षक देशाइ र कप्तान रोहितले नयाँ जिम्मेवारीमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउँदै अविश्वसनीय नतिजा निकालेका थिए । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

अन्तर्राष्ट्रिय गल्फ दिवस– सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो । काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, गल्फ संघका […]

Success

Thank you for your time.